कविराज घिमिरे
हिले, चैत १ गते । खोलाको बगर, एकान्त, फाटिलो क्षेत्र, पानीको ठुलो मुल, मुलबाट बगेको पानीबाट बनेको पोखरीमा पौडी खेल्नेहरुको भिडभाड छ । यो पाख्रिबास नगरपालिका वडा नम्बर ८ र १० को सिमा क्षेत्रमा रहेको भुल्केका पछिल्लो समयको परिचय हो ।
केहि वर्षअघि सम्म गुमनाम यो स्थान अहिले भने स्थानिय तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ठुलो मुलबाट पानी निस्किएर बनेको पोखरीमा धनकुटासहित विभिन्न स्थानबाट पौडी खेल्न तथा पिकनिक खान धेरै मानिसहरु पुग्ने गरेको छन् । पाख्रिवासबाट तथा हिलेबाट उत्तरपानी हुँदै भुल्केसम्म पुग्ने कच्ची सडक निर्माण भएपछि सो स्थानमा आन्तरीक पर्यटकको चाप बढ्न थालेको हो ।
पाख्रिवास नगरपालीकाले प्रदेश सरकारको सहयोगमा सो क्षेत्रमा थप पूर्वाधार समेत निर्माण गरेको छ । करिब एक करोडको लागतमा पैदल मार्ग, शिव मन्दिर, दश वटा धारा शौचालय लगायत निर्माण गरिएको छ । कच्ची सडक निर्माणपछि यो सुन्दर स्थानले आकर्षण गरेको विराटनगरबाट घुम्न आउनुभएका सञ्जय वाबु शर्मा बताउनुहुन्छ । “शान्त छ, सुन्दर, स्वस्छ पानी, पोखरी धाराहरु यहाँको बेग्लै आनन्द छ तयसैले यहाँ आइरहन मन लाग्छ” शर्मा भन्नुहुन्छ ।
स्थानीय मणि राई पनि धेरै जसो समय भुल्के पुगिरहनु हुन्छ । बाहिरबाट घुम्न आएका साथीभाइहरुलाई उहाँले सो स्थानमा लिएर जाने गर्नुभएको छ । यो स्थान अन्य स्थान भन्दा फरक छ भएकाले यहाँ साथीभाइ लिएर रमाइलो गर्न जाने गरेको राई बताउनुहुन्छ ।
भुल्केको पानीले पर्यटक आकर्षित मात्र गरेको छैन । वर्षौं अघि देखि सो क्षेत्रका स्थानीयको लागि बरदान साबित हुँदै आएको छ । त्यहाँबाट निस्किएको पानी मुगाखोला हुँदै अरुण नदी सम्म पुगेर मिसिन्छ । तर त्यो बिचमा हजारौं हेक्टर क्षेत्रफल खेतलाई सिञ्चित गर्छ । जसको कारण कृषकले दुइवाली धान तथा अन्य फसल उत्पादन गर्दै आएका छन् । तर पछिल्लो समय भुल्केको पानी पाख्रिवास बजारमा खानेपानीको रुपमा वितरण गर्ने योजना बनेपछि भुल्केवासी चिन्तित छन् ।
भुल्केको पानी पाख्रिवास लगे यो क्षेत्रको कृषि योग्य जमिन बाझिनुको साथै भर्खरै फस्टाउदै गरेको पर्यटन क्षेत्र गुम्न सक्ने स्थानिय बिजय राई बताउनुहुन्छ । “यो हाम्रो जीवन हो हाम्रो सबै कुराको आधार हो यो पानी पाख्रिवास लगे यहाँको सबै कुरा गुम्छ हाम्रो रोजीरोटी खोसिन्छ धेरैको गाँस काटिन्छ त्यसैले यो निर्णय पुनबिचार गर्नुपर्छ,” राई भन्नु हुन्छ ।
पानी विवादका कारण रोजिरोटीसँगै भर्खर बस्दै गरेको पर्यटनको आधारमै मासिने अर्को स्थानीय कृष्ण कुमारी राई बताउनुहुन्छ । “यो क्षेत्रमा पानीकै कारण भर्खरै मात्रै पर्यटकको पाइला पर्न थालेको छ। पानीनै ताने पछि पर्यटक के गर्न आउँछन् उ यहाँ त्यसैले पाने पानीको बिकल्प खोजिनु पर्छ,” राई भन्नुहुन्छ । सो क्षेत्रको पानीले तीन सय ६५ घरपरिवारको जिविकोपार्जन हुँदै आएको छ ।
भुल्केको पानी नगरपालिकाले लगे पाख्रिबास नगरपालिका ८ र १० का सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभूमी गाउँपालिकाको खोकुटारको करिब २५ सय रोपनी खेतीमा हुने दुइ बालि धान, एक बाली गहुँ उत्पादन बन्द हुने स्थानीयको भनाइ छ । त्यस्तै पर्यटकिय चहलपहलले स्थानियमा थप आर्थिकउपार्जनको पाटो थपिएको स्थानियको बुझाइ छ ।