लीलाराज खड्का
बिर्तामोड, चैत्र १ गते । झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
कन्काई नगरपालिका ४ स्थित कोटीहवन कनकाई सामुदायिक वन नजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहीबार दिउसो १२ः२५ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् ।
उनलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको लागि लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचाकारका लागि विराटनगर लगिएको छ । हाल गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।
विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासँग हिँड्दै गर्दा उनीहरूबिच विवाद भएको थियो ।
विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । सँगै आत्मदाह गर्ने कोसिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए ।
घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको ६० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ ।