नवीनराज कुइँकेल
लमजुङ, चैत १ गते । यातायातको पहुँचले मनासलु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिँदै गएको मात्र छैन, धुलो, धुँवा र ध्वनि प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ । शान्त तरिकाले रोमाञ्चित लामो यात्रा गर्न चाहने पर्यटकका लागि प्रख्यात अन्नपूर्ण र मनासलु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने नयाँ पर्वतीय पदमार्ग निर्माण भएको छ ।
‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको यो पदमार्ग उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्न सकिन्छ । पर्वतीय पर्यटन व्यावसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र लमजुङ तथा गोरखाका पाँच स्थानीय तह मिलेर वैकल्पिक नयाँ पदमार्ग बनाएका हुन् ।
यो पदमार्ग लमजुङको डोना (ठुलागी)–मेमेपोखरी हुँदै गोरखाको रुबीनाला (५००० मिटर) पास हुने छ । १८ दिनको यो यात्रामा जानेले बुद्ध र हिमालचुलीका आधार (बेस) छुने छन् । तल्लो क्षेत्रको पदमार्ग लमजुङको लिपे–वराहपोखरी क्षेत्र (३२०० मिटर) सम्म पुग्ने छन् । यो यात्रा करिब १३ दिनको हुने छ । “यो पदमार्ग अन्नपूर्ण र मनासलुभन्दा भिन्न र रोमाञ्चक छ, जहाँ अहिलेसम्म पर्यटक पुगेका छैनन्,” टानका निर्देशक रामचन्द्र सेढाईंले भन्नुभयो, “कुनै कोलाहल नहुने यो पदमार्गमा पर्यटक रोमाञ्चित हुने छन्् । पर्वतीय पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने छ ।”
समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको गोरखाको अजिरकोटदेखि यात्रा सुरु भएर दूधपोखरी हुँदै दोर्दीतर्फ अगाडि बढ्छ । यात्रामा करिब पाँच हजार उचाइसम्म पुगिने छ । यस पदमार्गभित्र गोरखा बारपाक, अजिरकोट, नागेपोखरी, दूधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, वराहपोखरी, ठुलागी ताललगायत प्राकृतिक एवं सांस्कृतिक क्षेत्र पर्दछन् । ट्रेल पार गर्नका लागि १८ दिन लाग्ने छ । जसमा दोर्दी गाउँपालिकामा मात्रै नौ दिनको रहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक, मस्र्याङ्दी, अजिरकोट, राइनास जताबाट पनि यात्रा सुरु गर्न सकिन्छ ।
त्यस्तै ट्रेलको तल्लो रेन्ज अन्तर्गत गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङको दुधपोखरी बिचौर, इलमपोखरी, लिपेलेक, दाम्राङ, कीर्तिपुर, टापगाउँ, बारपोखरी, हिलेटक्सार हुँदै बेँसीसहरको पिसहिल र मस्र्याङ्दी गाउँपालिकासम्म पुग्न सकिन्छ ।
ठुला ठुला धार्मिक आस्थाका ताल, मनोमहक झरनाका दृश्य, ऐना जस्तै छर्लङ्ङ देखिने हिमाल (हिमालचुली, बुद्ध हिमाल, हर्कचुलीलगायत) को मनमोहक दृश्य, अद्भुत भौगोलिक दृश्यले भरिपूर्ण ‘ग्रेट लेक ट्रेल’ एउटा लुकेको हीरा रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
पदमार्गमा लोपोन्मुख वन्यजन्तुहरू कस्तुरी, मृग, रेड पान्डा, राष्ट्रिय चरा डाँफेलगायत धेरै थरीका चराचुरुङ्गी र जनवार पाइन्छ । विभिन्न थरीका गुराँस, सयौँ थरीका जडीबुटीले भरिपूर्ण रहेकाले यो ट्रेल धेरै सम्भावनायुक्त छ । गुरुङ जातिको मौलिक संस्कृति, पुरातात्त्विक कोट, गुम्बा, मठमन्दिरले भरिपूर्ण यो पदमार्ग एकै ठाउँमा पाइने नमुना ट्रेकिङ ट्रेलमा विकास गर्न सकिने छ । उच्च हिमाली भेगमा प्रशस्तै भेटिने भैँसी र भेडीगोठले यात्रालाई थप रमाइलो बनाउने छन् ।
यो ट्रेललाई पर्यटकको समयानुसार छोटो र लामो गर्न सकिने टानले जनाएको छ । माछाखोला, लार्पाक, बारपाक, भच्चेक, बेँसीसहर, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु हुँदै जगतबाट पनि जान र आउन सकिन्छ । केही समस्या पर्दा धेरै ठाउँमा फोन लाग्ने, आपत्कालीन अवस्थामा सहजै बस्ती झर्न सकिने छ । यो ट्रेलमा नागपोखरी, दुधपोखरी, मेमे पोखरी अहिले पनि धार्मिक आस्थाका पोखरीमध्ये पर्दछन् ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले भन्नुभयो, “जताबाट जसरी पनि यात्रा गर्न सकिने यो पदमार्गको प्रवर्धन र विकास गर्न सके छिट्टै पर्यटकले भरिभराउ हुने सम्भावना छ ।” साहसिक पर्यटन मन पराउनेलाई क्याम्पिङ ट्रेक चलाउन सकिने उहाँले बताउनुभयो ।
टान र सम्बन्धित गाउँपालिका मिलेर यो पदमार्गको १६ दिन लगाएर अन्वेषण गरेका थिए । उनीहरूले पदमार्गको प्याकेज तयार गरेका छन् । सङ्घ र प्रदेशसँग मिलेर स्थानीय सरकारले पूर्वाधार निर्माण सुरुवात गरेका छन् । टे«लको बुधबार आधिकारिक रूपमा शुभारम्भ गरिएको हो । कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष सागर पाण्डे, पर्यटन सचिव, बोर्डका महानिर्देशक, पालिकाका जनप्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायीहरू सहभागी हुनुहुन्थ्यो । “पदयात्रा गर्न चाहने पर्यटकका लागि नयाँ टे«ल आयो है भन्ने जानकारी गरियो । पदयात्रा नक्सा, जानकारी ब्रोसर सबै सार्वजनिक गरियो । ट्रेलको एनिमेसन पनि देखाइयो,” टानका अध्यक्ष पाण्डेले भन्नुभयो ।