हरिप्रसाद कोइराला
उर्लाबारी, चैत १ गते । रोजगारी सुनिश्चित नभएपछि मोरङको कानेपोखरीका विपन्न परिवार चिसाङखोलामा बालुवा र गिट्टी सङ्कलन गरेर जीविकोपार्जन गरिरहेका छन् ।
खोलाको निश्चित क्षेत्रमा पालिकाले खोला ठेक्का लगाउँदैन । त्यही क्षेत्रमा सयौँ परिवार खोलाबाट बालुवा र गिट्टी छान्दै छुट्याउँछन् र बिक्री गर्छन् । पाखुरामा बल भएकाहरू निर्माणको काममा जान्छन् तर बुढापाका, महिला र कमजोर शारीरिक अवस्था भएकाहरू बर्सौंदेखि यही काममा रमाइरहेका छन् ।
खोलाबाट बालुवा निकाल्दै गरेका गोले ऋषिदेवले भन्नुभयो, “खेतीको काम वर्षभरि पाइँदैन । परम्परागत माटो काट्ने पुर्ने, बाँध बाँध्ने जस्ता काम जेसिबी र एक्साभेटरले गर्छन् । अझ गाउँ गाउँमा प्लटिङ हुन थालेपछि खेतीयोग्य जमिन आधा घटिसक्यो । हातमा बलबाहेक केही सिप छैन । त्यसैले चिसाङखोला कोट्याएर पानीबाट बालुवा छान्दै बिक्री गरेर छोराछोरी पालिरहेको छु ।” ३९ वर्षीय गोलेका चार जना छोराछोरी छन् तर कुनै पनि छोराछोरी विद्यालय जाँदैनन् । चार पुस्ता नेपालमै बसेको बताउने गोलेले आफ्नो नागरिकता जन्मसिद्धका आधारमा निस्किएकाले छोराछोरीको जन्मदर्ता गर्न नपाएको गुनासो गर्नुभयो ।
दम्पती मिलेर काम गर्दा दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म आम्दानी हुन्छ । उहाँ भन्नुहुन्छ, “दैनिक काम ग¥यो, बालुवा बेच्यो, खायो । खोला किनारबाट बालुवा निकाल्दा जग्गाधनीलाई प्रतिट्याक्टर एक सय रुपियाँ तिर्नु पर्छ ।”
गोले दम्पती मात्र होइन, सयौँ परिवारले चिसाङखोलालाई बाँच्ने आधार बनाएका छन् । ४० वर्षीय पुजरा किस्कुको घर कानेपोखरी–१ को होक्लाबारी हो । ६१ वर्षीय देवनारायण चौधरीसँग हल लागेर उहाँहरू दैनिक तीन ट्याक्टरसम्म बालुवा छान्नुहुन्छ । दुवैको आफ्नो निजी जग्गा छैन । पुजरा खोला किनारमा बस्नुहुन्छ भने चौधरी सडक किनारमा तर बालुवा चालेरै भए पनि देवनारायण र पुजराले छोराछोरी पढाउनुभएको छ । चौधरीले भन्नुभयो, “तीन छोरीको विवाह गरिसकेँ । तीन छोरालाई पढाइरहेको छु ।”
दैनिक दुई हजार रुपियाँसम्म कमाइ गर्ने चौधरी र किस्कुले ठेकेदारकोमा काम गर्दा पैसाको ग्यारेन्टी नहुने बताउनुभयो । १४ वर्षयता चिसाङखोलामै भविष्य खोजिरहेका चौधरीले छोरीहरूलाई स्नातकोत्तरसम्म पढाउनुभएको छ । पढाउन त पढाएँ नि, बिहे गरेर दिएपछि त मलाई काम लागेन । छोरा पर्खंदापर्खंदै छ जना छोरीपछि छोरा भएको उहाँले बताउनुभयो ।
सानु ऋषिदेव ४६ वर्ष हुनुभयो । गाउँमा केही काम पाइँदैन । विदेश जाने इच्छा थियो तर पैसा कसैले पत्याएन । त्यसपछि १६ वर्षयता उहाँ चिसाङखोलालाई नै अन्नदाता मानिरहनुभएको छ । बालुवा लानेले बाँकी गर्दैनन् । नगदमै कारोबार हुने भएकोले कहिलै भोकै बस्नु नपरेको सानुको भनाइ छ । “खोलाबाट बालुवा निकाल्न परिवारका सबै सदस्यको सहयोग हुन्छ । सबै जना आउँदा त दैनिक दुई हजार रुपियाँसम्म आम्दानी हुन्छ,” सानुले भन्नुभयो, “निर्माणको काम तीव्र रूपमा भइरहेको छ । त्यसैले बालुवा र गिट्टी बिव्रmी नहुने भन्ने कुरै हुँदैन ।”
असार १ देखि भदौ मसान्तसम्म सरकारले खोलाजन्य पदार्थको उत्खननमा रोक लगाउने गर्छ । त्यतिबेला उनीहरू गाउँ गाउँमा खेतीपातीको काम सघाउँछन् र घरखर्च निकाल्छन् । कसै कसैले अधियाँ खेती पनि गरेका छन् ।