सिराज खान
नेपालगन्ज, फागुन २९ गते । बाँकेको कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अब पक्की घर पाउने भएका छन् । कोहलपुर नगरपालिकाको विशेष पहलमा छिमेक सेवा समाज संस्थाले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई पक्की घर बनाइदिने भएपछि बर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउने भएका हुन् ।
चिडिमार र खटिक समुदायकालागि नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा आठ वटा घर निर्माण गरिने भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले बुधबार स्थानीय मोलहे खटिकको पक्की घर निर्माणको शिलान्यास गर्दै नमुना बस्ती निर्माण कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहाँले गरिब विपन्न परिवारहरूको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले त्यही अनुसार नमुना बस्ती निर्माण कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
छिमेक सेवा समाजले अन्य ठाउँमा पनि अति विपन्न तथा गरिब समुदायका लागि नमुना बस्ती निर्माण कार्यक्रम अन्तरगत आवास बनाउने गरेको पाइएको जनाउँदै प्रमुख आचार्यले सोही बमोजिम कोहलपुर नगरपालिकाले पनि प्रस्ताव गरेको र अहिले नमुनाबस्ती निर्माण सुरु भएको बताउनुभयो ।
पहिलो चरणमा आठ वटा पक्की घरहरू निर्माण प्रारम्भ भएको जनाउँदै कोहलपुर १४ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नमबहादुर आलेले हवल्दारपुरमा करिब २५-३० घरपरिवार चिडिमार र खटिक समुदायको बसोवास रहेकोले उनिहरूका लागि घर निर्माण हुने बताउनुभयो । उहाँका अनुसार संस्थाले दुई कोठे पक्की घर बनाइदिनेछ ।
वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुसी भएका छन् । स्थानीय मोलहे खटिकले गर्मीयाममा जसोतसो दिन–रात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था बेहोर्नु परेको दुःखेसो सुनाउँदै भन्नुभयो, ‘तर केही दिन भित्रै पक्की घरमा बस्न पाइने हुँदा अब सबै दुख कष्ट समाप्त हुनेछन् ।’
तीन पुस्तादेखि आफूहरूले यस्तै समस्या खेप्दै आएको सुनाउँदै अर्का स्थानीय मनोहर चिडिमारले मेयरले आफैंले आएर घरको शिलान्यास गरिदिएपछि पक्की घरमा वस्ने सपना पूरा हुने निश्चित रहेको बताउनुभयो । पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मी लगायतको घर निर्माण गरिने जनाउँदै कोहलपुरका मेयर आचार्यले विस्तारै अन्य घरहरू समेत निर्माण गरिने बताउनुभयो ।