• २९ फागुन २०८१, बिहिबार

पाँच शताब्दी पुराना पौभाः स्वदेश फिर्ता

blog

काठमाडौँ, फागुन २९ गते । नेपालका अनगन्ती सम्पदाले अमेरिका तथा युरोपका म्युजियमको शोभा बढाइरहेका छन् । विभिन्न कालखण्डमा नेपालबाट बाहिरिएका यी सम्पदा स्वदेश फर्काउन काठमाडौँ महानगरपालिकासँगको समन्वयमा विभिन्न सङ्घसंस्था अभियानमा रहेका छन् ।

यसै अभियान अन्तर्गत श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुरानो तीन थान चित्रकला (पौभाः) ४५ वर्षपछि अमेरिकाबाट आफ्नै स्थानमा फिर्ता ल्याइएको छ । अमेरिकाबाट नेपाल ल्याइएका तीन पौभाः ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द आजुको भैरव दर्शन’ तथा ‘गगनसिं र उहाँका दुई श्रीमती’ रहेका छन् । यीमध्ये गगनसिंको पौभा सबभन्दा ठुलो आकारको छ । 

यी तिनै पौभाः २०३७ सालअघिसम्म गुँलापर्वका बेला १५ दिनसम्म यस महाविहारमा प्रदर्शन गरिँदै आएको थियो । यी तिनै पौभाः २०३७ साल भदौ २९ गते महाविहारपरिसरबाटै चोरी भएको थियो । अमेरिकाको नेवाः गुठीका अध्यक्ष विजयमान सिंह पुरातत्व विभागसँगको समन्वयमा गत हप्ता इतुम्बहालका तीन पौभा र अन्य १७ वटा कलाकृतिसहित नेपाल आउनुभएको छ ।

श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यका अनुसार करिब २३ वर्षसम्म यी पौभाः कहाँ थिए भन्नेबारे कुनै जानकारी थिएन । उहाँले भन्नुभयो, “सन् २००३ मा कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा यी पौभाः प्रदर्शनीमा राखेको देखेपछि उहाँले इतुम्बहाःका ती पौभाः चोरी भएर सिकागो पुगेको ठहर गर्नुभएको हो । उहाँ नेपाल आउँदा इतुम्बहालमा तीन पौभाः चित्रको अवलोकन गर्नुभएको रहेछ । तत्पश्चात् उहाँले नेपाल आएर ती पौभाःबारे जानकारी दिनुका साथै फिर्ताका लागि आवश्यक पहल गर्न सुझाव पनि दिनुभयो । सो सूचनाका आधारमा इतुम्बहाः समाजले पुरातत्व विभागमा पुनः जाहेरी निवेदन दिनुका साथै इन्टरपोलमा समेत जाहेरी दिएको थियो । यसकै आधारमा अमेरिकाका सम्बन्धित निकायहरूमा ती पौभाः फिर्ता गर्ने कार्यका लागि पहल भयो । दुई दशकभन्दा बढी लगातार पहल भएपछि यी ऐतिहासिक पौभाः नेपाल फर्काइएको हो ।” अध्यक्ष शाक्यले यी पौभाः फर्काउने अभियानमा लस्ट आटर्स अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेनको पनि ठुलो सहयोग रहेको बताउनुभयो ।

केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजले सांस्कृतिक र धार्मिक महत्वले भरिएको गुणस्तरीय तथा आकारमा ठुलो इतुंबहालका यी पौभाः नेपाल फर्काउन भूमिका खेल्ने नेवाः गुठी न्यूयोर्कका अध्यक्ष सिंहलाई बुधबार सम्मान पनि गर्नुभयो । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सिंहलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गर्नुभयो । उपमेयर डङ्गोलले यसभन्दा अघि नेवाः गुठीको पहलमा चार वटा सम्पदा फिर्ता भइसकेको जानकारी दिनुभयो । “दोलखाका दुई वटा भैरवको मुकुट, भक्तपुरको श्री पञ्चदेवी, ललितपुरको उमामहेश्वर पनि फिर्ता भइसकेको छ । यो नेपाल सम्पदा विदेशबाट फर्काउने अभियानको सुरुवात हो । यसले निरन्तरता पाउँछ,” उहाँले भन्नुभयो । अध्यक्ष सिंहले सबैको सहयोगले ऐतिहासिक सम्पदा फिर्ता ल्याउन सफल भएको र आर्ट इन्स्टिच्युट अफ सिकागोमा रहेको तलेजु भवानीको हार फर्काउन अध्ययन भइरहेको पनि जानकारी दिनुभयो ।