चितवन समाचारदाता
माडी (चितवन), फागुन २८ गते । माडीको पुष्प–मदन स्मृति वाटिका पर्यटकीय स्थलका रूपमा विकसित हुँदै आएको छ । माडी नगरपालिकाको वडा नम्बर ६ मा रहेको यो वाटिकामा पर्यटकीय पूर्वाधार निर्माण भएपछि घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
माडीको ऐतिहासिक वैकुण्ठ ताल, पाँच पाण्डव, माछापोखरीलगायतका स्थान हेर्न आउनेका लागि पुष्प–मदन स्मृति वाटिका प्रमुख गन्तव्य भएको वाटिका सञ्चालन समितिका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । पालिकाको दक्षिण सोमेश्वर डाँडा शृङ्खलामा रहेको क्षेत्रमा पछिल्लो समय बालबालिकाका लागि केन्द्रित गरेर पौडी पोखरी निर्माण गर्न लागिएको नगरप्रमुख महतोले बताउनुभयो । पौडी पोखरी निर्माणपछि गर्मी महिनामा यसको आकर्षण अझ बढेर जाने उहाँले बताउनुभयो ।
वाटिकामा सिसमहलसहितको थप संरचना निर्माण गरिँदै छ । यहाँ दुई वटा वनभोज स्थल सञ्चालनमा रहेका छन् । जिल्लाकै पहिलो स्काई चेयर, नमुना जहाज र बालउद्यान निर्माण गरिएको छ । यही आकर्षणका कारण बिदाको समयमा भिड लाग्ने गरेको समितिका उपाध्यक्ष दवाडीले जानकारी दिनुभयो ।
अहिले वाटिकामा टावर, पिङ, बालउद्यान, वनभोज स्थल, गोलघर, सभा हलको निर्माण कार्य सम्पन्न भइसकेको छ । शान्त वातावरण भएकाले कुनै कार्यव्रmम गर्नका लागि सङ्घ संस्थाका प्रतिनिधि आउने गरेको उहाँले जानकारी दिनुभयो । पारिवारिक वनभोज स्थल, खोज अनुसन्धान कक्ष, जीवजन्तु उद्धार तथा पुनस्र्थापन केन्द्र निर्माण भइरहेको सञ्चालन समितिका उपाध्यक्ष दवाडीले बताउनुभयो ।
स्वर्गीय नेताहरू पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा निर्माण गरिएको वाटिकामा होटेलसहितको आकर्षक दृश्य अवलोकन स्थल निर्माण, बालउद्यान, एकता स्तम्भ, पुष्पलाल र भण्डारीको सालिक, सभा हल रहेको छ । यहाँ निर्माण भएको टावरबाट माडी नगरपालिकाका महìवपूर्ण दृश्यसहित भरतपुरको गोलाघाटसम्मका दृश्य हेर्न सकिने गरी डिपिआर तयार गरिएको छ । वाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ ।
वाटिका घुम्नका लागि आन्तरिक र बाह्य पर्यटक उल्लेखनीय रूपमा आउने गरेका छन् । रोटेपिङ मोडलको स्काई चेयर माडी नगरपालिकाको सहयोगमा निर्माण भएको हो । साहसिक खेलका रूपमा लिइने स्काई चेयर सञ्चालनमा आएसँगै पुष्प–मदन स्मृति वनवाटिकामा पर्यटक आकर्षणको थप एक विशेषता थपिएको छ । वाटिकामा निर्माण गरिएका वन्यजन्तुको मूर्तिले थप सुन्दरता बढेको छ । यहाँ खुला व्यायाम सामग्री निर्माण गरेपछि बिहानबेलुका व्यायाम गर्नेको भिड लाग्ने गरेको उपाध्यक्ष दवाडीले बताउनुभयो ।
वाटिकासँगै माडी भ्यु सामुदायिक होमस्टे निर्माण गरिएको छ । पर्यटकलाई बस्नका लागि सात वटा घर तयार गरिएका छन् । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ होमस्टे सञ्चालन गरिएको दवाडीले बताउनुभयो ।
भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गनजिकै पर्ने भएकाले पर्यटकीय रूपमा विकसित हुँदै गएको हो । घरवासमा बस्न आउनेका लागि पुराना संस्कृति प्रस्तुत गरिँदै आएको छ । यसबाट लोप हुन लागेका स्थानीय भाका, लोकगीतको जगेर्ना भएको छ । सहरी कोलाहलबाट शान्त स्थानमा बस्न आउनेका लागि माडीको पर्यटकीय स्थल अत्यन्तै सुन्दर रहेको चितवन पर्यटन विकास समितिका पूर्वमहासचिव पर्यटनविज्ञ डा. विश्वराज सुवेदीले बताउनुभयो ।