• २८ फागुन २०८१, बुधबार

वालिङको दोस्रो जित

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २७ गते । वालिङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा दोस्रो जित निकालेको छ । 

वालिङ चेम्बर अफ कमर्सद्वारा आयोजित पालिकास्तरीय पुरुष भलिबलमा मङ्गलबार वालिङले भीरकोट नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको हो ।

वालिङले २७–२५, २५–१९, २७–२९ र २५–२० को नतिजा निकालेको थियो । भीरकोटको यो दोस्रो हार हो । मङ्गलबारनै भएको खेलमा भीरकोट गल्याङ नगरपालिकासगँ ३–२ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा वालिङ, चापाकोट, पुतलीबजार, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपियाँ र उपविजेताले एक लाख ५ हजार रुपियाँ पुरस्कार पाउने छ । 

यस्तै तेस्रोलाई ५५ हजार र चौथोलाई ३० हजार, सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार तथा विधागत उत्कृष्टलाई जनही तीन तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।