• २८ फागुन २०८१, बुधबार

रुस-युक्रेनको द्वन्द्वमा परी रोल्पाका पूर्व वडाध्यक्षको निधन

blog

सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकी रुसी सेनाको पोसाकमा ।

पहलमान घर्ती

रोल्पा, फागुन २७ गते । रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्व परी निधन भएको जनाइएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट सुनछहरी गाउँपालिका ५ जैमाकसलाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा विजय हुन नसकेपछि उहाँ रुस गएको पारिवारिक स्रोतले जनाएको छ । 

२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुस र युक्रेनको बेलाबेला भइरहने द्वन्द्वले आफ्नो ज्यान जोखिममा रहेको आफन्तलाई फोन र सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर बुढाथोकीले भन्ने गर्नुभएको थियो । परिवारले फागुन २४ गते मात्र बुढाथोकीको मृत्युको समाचार थाहा पाएका थिए । केही  हप्तादेखि सम्पर्कविहीन भएपछि घर परिवार चिन्तित बनेका थिए । बुढाथोकीको मृत्यु भएको यकिन मिति थाहा भएको छैन । बुढाथोकीले रुसी सेना छाडेर घर आउने पनि भन्दै आएको आफन्तको भनाइ छ ।

सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो । पूर्व वडाध्यक्ष बुढाथोकी पूर्वी रोल्पाको एमालेका नेता हुनुहुन्छ । बुढाथोकीको परिवारमा श्रीमती, १ छोरा १ छोरी, बुवा आमा, दाइ भाउजूलगायत हुनुहुन्छ । मृत्यु भएको गाउँमा थाहा पाएपछि सामाजिक परम्परा अनुसार बुढाथोकीको हिजो सोमबारदेखि नै शुद्ध शान्तिका लागि घरमा काजकिरिया सुरु गरिएको छ । घरमा काजकिरिया सुरु भइसकेकाले मृतकको शवलाई नेपाल ल्याउने सम्भावना कम रहेको पारिवारिक स्रोतको भनाइ छ ।

सुनछहरी गाउँपालिका पूर्व अध्यक्ष आसबहादुर पुनले बुढाथोकीको निधन भएको घटना निकै दुःखी बनाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । हर चुनौतीको सामना गर्दै नयाँ व्यवस्थाको जग बसाल्न योजना बनायौं, हातेमालो र सहकार्य गर्यौं, आज तपाईँको अनपेक्षित मृत्युको खबरले निःशब्द छु पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

बुढाथोकी वडाध्यक्ष हुँदा वडा सचिव रही काम गरेका नवराज रोकाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत बुढाथोकीको रुसमा निधन भएको खबरले आफू निःशब्द भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँसँग वडा सचिव भै सँगै काम गरेको यादहरू सम्झनामा छन् रोकाले फेसबुकमा लेख्नुभएको छ, एक कुशल, इमानदार, मिलनसार, सरल र सहज व्यक्तित्व सधैँलाई अस्ताउनुभयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली रोकाले लेख्नुभएको छ ।