• २७ फागुन २०८१, मङ्गलबार

टी–२० सिरिज : नेपाल हङकङसँग दुई रनले पराजित

blog

नेपाली महिला खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन २६ गते । युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ ।

एन्टेब्बे क्रिकेट ओभल मैदानमा सोमबार जितको लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा सात विकेटको क्षतिमा ९८ रनमा समेटियो । 

तीन खेलमा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । 

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापले अविजित १३ र साना प्रविनले १० रन बनाउनुभयो । बलिङमा हङकङकी मारिको हिलले दुई तथा सियु मिवाई र  चान का यिङले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङका निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०० रन बनाएको थियो । 

हङकङका लागि नताशा मिल्सले सर्वाधिक ३५ रन बनाउनुभयो । मारिको हिलले २१ र यस्मिन दासवनीले अविजित ११ रन जोड्नुभएको थियो । 

बलिङमानेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले दुई दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले एक एक विकेट झार्नुभयो । 

नेपालले अर्को खेल बुधबार नामिबियासँग खेल्नेछ । सहभागी चार टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।