• २५ वैशाख २०८१, मङ्गलबार

राफेल नाडाल सेमिफाइनलमा

blog

फ्रेन्च ओपन टेनिसमा प्रतिस्पर्धा गदै राफेल नाडाल । तस्बिर : बीबीसी

काठमाडौं, जेठ १८ गते । राफेल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । पेरिसमा मंगलबार राति भएको खेलमा पाँचौं वरीयताका स्पेनिस स्टार नाडालले शीर्ष वरीयताका सर्वियन खेलाडी नोभाक जोकोभिचलाई ६–२, ४–६, ६–२, ७–६(७–४) को सेटमा हराउनुभयो । 

साविक विजेता जोकोभिचलाई हराएर नाडाल १५औं पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गर्नुभएको हो । नाडालले गत वर्ष सेमिफाइनलमा जोकोभिचसँग हारेको बदला समेत लिनुभयो । नाडालसँगको हारले जोकोभिचको २१औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्य समेत पूरा हुन पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जित्नुभएको छ । 

नाडालले फ्रेन्च ओपनमा कूल एक सय १३ खेलमा एक सय १० खेल जित्नुभएको छ । कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरीयताका जर्मन खेलाडी एलेक्जेन्डर जेभिरेभको सामना गर्नुहुनेछ । एलेक्जेन्डरले मंगलबार राति कार्लोस अल्कारेजलाई ६–४, ६–४, ४–६, ७–६ ले हराउँदै नाडालसँगको भेट पक्का गर्नुभएको हो । एजेन्सी