प्रेमराज सिम्खडा
कालीकोट, फागुन २६ गते । कालीकोटको लालुमा जन्मिनुभएका योगी नरहरिनाथलाई सम्झिन थालिएको छ । उहाँको १११ औँ जन्मोत्सव यसपालि भव्यताका साथ मनाइएको छ । गत शनिबारदेखि कालीकोटको रहगाडमा योगी नरहरिनाथको जन्मोत्सवका अवसरमा सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरिएको थियो ।
योगी नरहरिनाथको जन्मोत्सव विगत सात वर्षयता गाउँपालिकाले मनाउँदै आएको छ । उहाँको राष्ट्रप्रतिको योगदानलाई हेर्ने हो भने राष्ट्रव्यापी रूपमै जन्मोत्सव मनाउनुपर्ने हो । उहाँको जन्मस्थललाई उहाँकै नामबाट नामकरण गरिएपछि सोही गाउँपालिकाले मनाउँदै आएको छ ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले जन्मोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौँमा पनि पुस्तक लोकार्पण तथा विचार गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँको जन्म फागुन १७ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको हो । चार दिनसम्म कालीकोटमा सञ्चालन भएको महोत्सवमा स्थानीय कला, संस्कृति, वेशभूषा तथा देउडा खेल आयोजना गरिएको थियो । नरहरिनाथ–९ का वडाध्यक्ष प्रदीप बोहोराले सात वर्षदेखि योगी नरहरिनाथको जन्मोत्सव गाउँपालिकाको संयोजनमा मनाइँदै आएको बताउनुभयो ।
विसं १९७१ फागुन १७ गते कालीकोटको लालुस्थित चाखा भडारीवाडामा जन्मिएका बलवीरसिंह थापा योग र साधनाको माध्यमबाट योगी नरहरिनाथ कहलिनुभएको थियो । २०५१ फागुन १४ गते काठमाडौँको मृगस्थलीमा उहाँको निधन भएको थियो । ५७३ पुस्तक लेख्नुभएका योगीका हाल ३५९ कृति मात्र प्रकाशित छन् । “उहाँ २७ भाषामा बोल्न र प्रवचन दिन सक्ने हुनुहुन्थ्यो,” योगी नरहरिनाथ अध्ययन प्रतिष्ठान, कालीकोटका अध्यक्ष तथा कर्णाली प्रदेश सभाका सदस्य हिक्मत विष्टले बताउनुभयो ।
योगी नरहरिनाथको जन्मोत्सवमा कालीकोट पुगेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले योगी नरहरिनाथ जन्मिएको पालिकालाई सडक सञ्जालसँग छिट्टै जोड्ने बताउनुभएको थियो । खुलालु हुँदै रामारोशन र बडीमालिका पर्यटकीय सडक तथा पदमार्ग, रहगाडमा बेलिब्रिज, कोटबाडा विमानस्थल सञ्चालनलगायतका वाचा मन्त्री शाहले गर्नुभएकोमा अहिलेसम्म कुनै काम नभएको स्थानीयले बताएका छन् ।
कर्णाली प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलका सचेतक हिक्मतबहादुर विष्टले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाको माग गर्दै प्रदेश गौरवको आयोजनाका रूपमा खुलालु, कोटवाडा, सान्नी। रास्कोट हुँदै लैफु सडक योजनामा बजेट वृद्धिको माग गरिरहेको बताउनुभयो ।