महिला शब्द सृष्टिकी जननी, घरकी साक्षात् लक्ष्मी, अन्यायको अन्त्यका लागि शत्रुको विनाश गरी न्याय स्थापित गर्र्ने शक्ति स्वरूपा काली, दुर्गा भवानीलगायतका विविध उपमाले परिचित हुँदै आएको छ । महिलाको तीन अक्षरलाई सूक्ष्म रूपमा केलाएर विश्लेषण गर्दा गहिराइभित्रको विषय महान् निकै शक्तिशाली रहेको छ । हरेक कठिन परिस्थितिसँग मुकाबिला गर्छिन् । आफ्नो परिवार, बालबच्चाको खुसीका लागि मरिमेट्ने ममताकी खानीले दुष्टहरूको संहार गर्न भयङ्कर रूप धारण गरी क्षणभरमा असत्यलाई पराजय गराउने हुँदा साहसी, हिम्मतवाली शक्ति स्वरूपाको प्रतीकको रूपमा पुजिन्छ ।
पौराणिक कथामा नवदुर्गाको रूप धारण गरी शुम्भ, निशुम्भ जस्ता दुष्टहरूको संहार गरी देवताहरूको उद्धार गर्ने पनि तिनै महिला हुन् । सन्तानलाई नौ महिना कोखमा राखी मृत्युको कुनै प्रवाह नगरिकन सन्तानलाई धर्तिमा ल्याई उनीहरूकै खुसीका लागि लालनपालन स्याहार सुसारमा हरपल तल्लीन रहने लालनपालन कर्ताको उपमा पाउँछिन् । हाम्रो धर्म र संस्कृतिमा नारीको स्थान अत्यन्तै पवित्र र सम्मानित रहेको पाइन्छ । विडम्बना हाम्रो संस्कार रीतिरिवाजले नै महिलालाई सहनशील, हिम्मतवाली, पीडा लुकाएर बाहिर हाँस्न सिकाएको छ ।
जीवनचक्रमा महिलाले समयको मागसँगै विभिन्न भूमिका निर्वाह गर्नु पर्छ । हिजोआज कामकाजी महिलाका लागि जिम्मेवारीको भारी निकै बोझिलो कठिन बन्दै गएको छ । कानुन र सिद्धान्तमा जति नै समानताका कुरा गरे पनि व्यवहार समानता छैन । कामकाजमा व्यस्त महिलाले घरपरिवार, सारा व्यवहार, अफिस दोहोरो जिम्मेवारी पूरा गर्नु पर्छ । विकासका हरेक क्रियाकलाप होस् वा प्रशासनिक, राजनीतिक, सामाजिक र आर्थिकलगायत हरेक क्षेत्रमा महिला र पुरुषको बराबरी हुनु पर्छ । अर्थपूर्ण सहभागिताका लागि समानता, समता, सशक्तीकरण र आरक्षणलगायतका विविध माध्यमबाट पछिल्लो समय हरेक क्षेत्रमा महिला अग्रसर हुँदै आएको पाइन्छ । राष्ट्रपति, प्रधानन्यायाधीश, डाक्टर, इन्जिनियर पाइलट, प्रशासनिक निकायमा मुख्यसचिवलगायतका हरेक क्षेत्रमा महिला सक्रिय रूपमा आफ्नो जिम्मेवारी निभाउँदै आएका पनि छन् ।
कामकाजी महिलालाई एकातिर कार्यालयको जिम्मेवारी र अर्कोतिर घरको जिम्मेवारी निभाउनु पर्दा धेरै समस्याका बाबजुत चुनौती पनि सामना गर्नु पर्छ । महिलाको अनेक जिम्मेवारी छोरीबाट बुहारी, श्रीमती, देउरानी, काकी, आमा के के जिम्मेवारी सबैतिर दृष्टि दिनुपर्ने हुन्छ । बच्चा जन्माउनु, हुर्काउनु, आफ्नो श्रीमान्को ख्याल राख्नु, घरपरिवारको खुसी आफन्त इष्टमित्र, नातागोतालाई रिझाउनुपर्ने, घर व्यवहार समाल्नुपर्नेलगायतका जिम्मेवारी थपिएका हुन्छन् । छोराछोरी, उमेर ढलेका सासूससुराको पालनपोषण केयर टेकेर बन्नुपर्ने भूमिका झनै महìवपूर्ण छ तर घरेलु महिलाको दाँजोमा कामकाजी महिलाको भूमिका अझ बढी कठिन र बोझिलो बन्दै गएको तथ्याङ्कले देखाउँछ ।
कामकाजी महिलाको दिनचर्या बिहान सबेरै उठी घरको नित्यकर्म, सरसफाइ, पूजाआजा, चिया, बच्चाका लागि दिउँसोको खाजा, खाना पकाउने, हतार हतार छोराछोरीलाई स्कुल पठाउनु पर्छ । घरमा रहेका सासूससुराका लागि दिउँसोको खाजाको बन्दोबस्ती गरी सबैलाई खाना खुवाएर आफू पनि हतार हतारमा खाना खाई भाँडा सफा गरी कार्यालय जानका लागि तयार हुन्छिन् । बिहान ८ बजे घरबाट निस्की छोराछारीलाई विद्यालयमा छाडी १० बजेभित्र कार्यालयमा पुग्नुपर्ने हुन्छ । काठमाडौँको हकमा पाइलैपिच्छेको जामले बाटो भरी तनाव सुरु हुन्छ । हाजिर गर्न समयमा कार्यालय पुगिन्छ पुगिँदैन भन्ने पिरलो मनमा रहिरहन्छ । हाजिर छुटेका दिन त दिनभरि मनमा आज समयमा पुगिएन एकै मिनेटले गर्दा हाजिर छुट्यो
भनी दिक्क लाग्छ । कार्यालयमा समयमा पुगी हाजिर गर्न पाउँदा त्यो दिन युद्ध जितेकै जस्तो खुसी मिल्छ । दिनभरि कार्यालयमा व्यस्त इमानदारी, कर्तव्यनिष्ठ कर्मचारीले त एकछिन पनि फुर्सद पाउँदैन ।
दिनभरिको कार्यालयको व्यस्तता बेलुका कार्यालयबाट निस्कँदा बाटोभरि घरको कामको समय तालिका बन्छ । घरमा के के सामान सकिएको छ, गर्नुपर्ने काम जिम्मेवारीले बाटो हेरिरहेको हुन्छ । कामबाट थाकेर घर आउँदा काममा सघाउने कोही हुँदैन । आमा, बुहारी, श्रीमतीको बाटो नै हेर्ने संस्कार हुन्छ । दिनभरको काममा थाकेको शरीरमा तनाव उत्पन्न हुन्छ तर पनि हतार हतार ड्रेस फेरी भान्साको बेलुकाको नित्यकर्ममा तल्लीन हुनु पर्छ । सँगैसँगै अफिसबाट घर पुगेका श्रीमान् फ्रेस भएर हातमा रिमोट लिएर आराम गर्दै टिभी हेर्न थाल्छन् भने श्रीमती हतार हतार भान्साको काममा व्यस्त हुन्छिन् । घरको धन्दा सक्दा बेलुकाको १० बज्छ । अनि बल्ल उनी आफ्ना लागि समय निकाल्छिन् । सामाजिक सञ्जाल, सिर्जनात्मकता, आफन्तसँग फोनमा कुराकानी बिचरा सुत्ने समय रातको ११ बज्छ । भोलिदेखि पुनः दिनचर्या सुरु हुन्छ ।
कामकाजी महिलाको दोहोरो भूमिकाले जीवन जटिल र चुनौतीपूर्ण बनाएको छ । घरको काम पुरुषले गर्नु हुँदैन भन्ने पितृसत्तात्मक सोच अझै पनि मन, मस्तिष्कमा गडेर बसेको छ । जतिसुकै महिला पुरुष सँगसँगै भने तापनि व्यवहारमा पुरानै सोच, मान्यता र संस्कारको गन्ध मिसिएको छ । महिलाले आफ्नो रुचि चाहना पेसा, साहित्य, घरपरिवार इष्टमित्र सबैलाई सन्तुलित गर्न चाहेर पनि सक्दिनन् । प्रगति पथमा अवरोध आइरहन्छ । यसरी कामकाजी महिलाको एक तिहाई जीवन व्यस्त जीवनशैलीले घरेलु समस्याबाट तनाव उत्पन्न हुन्छ । एक सर्वेक्षणका अनुसार २० देखि ४० वर्षसम्म उमेरका महिलालाई व्यस्त जीवनशैलीका कारण स्वास्थ्यमा खतरा निम्त्याउँछ । आराम नहुँदा तनाव हुने, खुसी हराउने मनोसामाजिक समस्या पनि उत्पन्न हुन सक्ने सर्वेक्षणले देखाएको पाइन्छ ।
घरपरिवारले कामकाजी महिलालाई साथ, सहयोग र कार्यविभाजन गरी सघाउनु जरुरी देखिन्छ । महिलालाई सम्मान गरौँ । नारा र भाषणमा समानता होइन, व्यवहारमा हरेक घरपरिवारबाट सुरु गरौँ । महिला मात्रै परिवारको खुसीमा होइन । महिलाको खुसीमा परिवारका अन्य सबै सदस्यको साथ र सहयोग दिई महिलाको प्रगतिमा उचाइ भरौँ । उनीहरूभित्र लुकेर क्षमता, दक्षता, प्रतिभालाई प्रस्फुटन गराउन सबैले बेलैमा जोड दिनु पर्छ । महिला मात्र परिवारको खुसीका लागि समर्पित होइन कि परिवारका अन्य सदस्यले पनि महिलाको खुसीमा कार्य विभाजन गरी समर्पित बनौँ ।