• २६ फागुन २०८१, सोमबार

कर्णालीले जोगाएको साख : लाज शरणम्

blog

काठमाडौँ, फागुन २६ गते । कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, ‘लाज शरणम्’, जहाँ सुन तस्करी, सामाजिक समस्या र स्थानीय जनजीवनका सङ्घर्ष प्रस्तुत गरिएका छन् । समाजमा व्याप्त विकृति र तिनको प्रभावलाई चलचित्रमा घुमाउरो तरिकाले पस्कन खोजिएको छ । 

कर्णालीबाट विदेश जान हिँडेका एक युवा विदेश त पुग्छन् तर गएको केही महिनामै उनको मृत्यु हुन्छ । शव विमानस्थलमा ल्याइन्छ तर त्यो शव परिवारले बुझ्न नपाउँदै एउटा बक्साबाट अर्को बक्सामा परिवर्तन गरिन्छ । विमानस्थलका कर्मचारी (प्रियना आचार्य) ले शवको कफिन लेखिएको ट्याग विमानस्थलमा साटेपछि कथाले नयाँ मोड लिन्छ । एकातिर शव हराउँछ भने अवैध सुन सन्देश परिवारकहाँ पुग्छ । चलचित्रको कथा यहीँबाट सुरु हुन्छ । कर्णालीबाट चुनाव जितेर आएका भ्रष्ट देखाइएका मन्त्री चन्द्रबहादुर (मुकुन्द श्रेष्ठ) र सुन तस्कर सोनालाल (सीताराम कट्टेल) को सुन आउनुपर्ने बाकसमा जब शव भेटिन्छ त्यसपछि चलचित्रको कथामा अनेकन मोड आउँछन् । 

शव राख्ने बाकसमा सुन राखेर तस्करी गर्न नहिच्किचाउने तस्करले आफ्नो हराएको सुन पाउन गरेको तिकडम नै चलचित्रको कथा हो । यता कर्णालीमा कुपोषणका कारण अकालमै मृत्यु भएका सन्देश (महेश त्रिपाठी) को छोराको कथा पनि बेग्लै छ । मन्त्रीले कर्णालीको डाँडामा भ्यु टावरको शिलान्यास गर्न जान सक्छन् तर कुपोषणका कारणले उपचार नपाएर तड्पिरहेका सन्देशका छोरालाई जिल्ला ल्याउन आनाकानी गर्छन् । उनको छोराको मृत्युले सन्देशभित्र पलाएको बदला भाव, कर्णालीमा एउटा अस्पताल बनाउने उनको धोको कसरी पूरा हुन्छ ? अस्पताल बनाउनका निम्ति के सन्देशले पनि सुन तस्करको बाटो अपनाएका हुन् । यता दाइको शवको साटो सुन आउँदा लोभिने तुला (विजय बराल) लगायतका पात्रले पनि चलचित्रको कथा सुस्तरी सुस्तरी अगाडि बढाउने काम गरेका छन् । 

पात्रको हिसाबले चलचित्रमा सोनालालको भूमिकामा देखिनुभएका सीताराम कट्टेलको संवाददेखि लिएर अभिनय शैली कमजोर छ । यही चलचित्रका अर्का पात्र महेश त्रिपाठीको अभिनयले उहाँलाई गुमनाम पारिदिन्छ । महेशको अभिनयले दर्शकलाई भावुक बनाउँछ भने सीतारामको अभिनयबाट दर्शक प्रभावित हुने ठाउँ छैन । मुकुन्द श्रेष्ठको अभिनय पनि वाहवाही गर्ने खाले छैन । यी दुवैको चरित्रले चलचित्रलाई कमजोर बनाउने काम मात्र गरेको छ । 

महेश र रेणु योगीले बोलेका कर्णालीको लबजले दर्शकलाई अवश्य पनि भावुक बनाउँछ । तुलाको पात्रमा देखिनुभएका विजय बरालको अभिनय झन् तिखारिएको छ । उनको बोल्ने लबज, पराग खाने शैलीदेखि लिएर सुन हड्प्ने भूमिका तारिफयोग्य छ । सुन तस्करको मुख्य नाइकेका रूपमा देखिनुभएका अर्पण थापाको अभिनय तारिफयोग्य छ । चलचित्रमा कम बोलेर नै उहाँले दर्शकको मन जित्नुभएको छ भने सागर लम्साल (बले), सिर्जना अधिकारी, कमलमणि नेपाल, अर्जुन घिमिरे (पाँडे बा) प्रियना आचार्यलगायतको अभिनयलाई ठिकठाक भन्नु पर्छ । निर्देशक कुमार कट्टेल आफैँ पनि चलचित्रमा देखिनुभएको छ तर उहाँको अभिनय दर्शकले अपेक्षा गरे अनुसारको छैन । दर्शकले निर्देशक कट्टेलबाट जति आशा गरेका थिए त्यो एकदमै कम पाइन्छ ।           

चलचित्रको राम्रो पक्ष भनेको कर्णालीको मनमोहक दृश्य नै हो । सुदीप बरालले खिच्नुभएको कर्णालीको मनमोहक दृश्यले भने अवश्य नै दर्शकको मन जित्न सक्छ ।  चलचित्र प्रदर्शनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको ¥याप गीत ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ चलचित्रको माग जति बढाएको थियो, त्यसको प्रभाव चलचित्र प्रदर्शन भएपछि खासै देखिएन । निर्देशक कट्टेलले दाजु सीतारामा कट्टेललाई मात्र बढी प्राथमिकतामा राख्न खोजेकाले पनि चलचित्र खस्किएको हो कि ? त्यस्तै चलचित्रमा निर्देशक चुकेको अर्को पक्ष भनेको चलचित्रको कमजोर पटकथा र चरित्र चित्रणमा नै हो ।