• २६ फागुन २०८१, सोमबार

सांस्कृतिक डबली सञ्चालन

blog

तानसेनको श्रीनगर सांस्कृतिक डबली । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, फागुन २६ गते ।  लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि डबलीमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको हो ।  

जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले छ वर्षअघि लुम्बिनी प्रदेश सरकारको झन्डै सात करोड लगानीमा खुला नाचघर बनेको थियो । तानसेनमा आएका पर्यटकको बसाइँ लम्ब्याउन र संस्कृति जगेर्ना गर्न खुला नाचघर सञ्चालन गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । खुला नाचघरमा मगर, नेवार, कुमाल, ब्राह्मण, क्षेत्रीलगायतका जातजातिको नाच तथा गीत प्रस्तुत गरिने छ । डबली निरन्तर रूपमा सञ्चालन गर्न नगरपालिकाले निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजाली गाहाले बताउनुभयो । 

खुला नाचघरमा नाच देखाउने स्टेज, बस्ने दर्शक कक्ष, कलाकारको चेन्जिङ रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, कार्यालयको कोठा र पार्किङसहितको सुविधा रहेको छ । डबलीमा पाँच सय जना बसेर सांस्कृतिक कार्यक्रममा रमाउन सक्छन् । तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकको चाहना र मागका आधारमा डबलीभित्र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो ।