भारदह समाचारदाता
भारदह (सप्तरी), फागुन २६ गते । सप्तरीको राजविराज नगरपालिकाको मुख्य गजेन्द्र चोकको दक्षिणपट्टिको मुख्य सडकछेउमा बिहानैदेखि जिल्लाको विभिन्न ठाउँबाट मजदुर आउने गरेका छन् । हात हातमा खानाको झोला बोकेर एकैठाउँमा जम्मा हुन थाल्छन् ।
जिल्लाका विभिन्न गाउँबस्तीबाट कामको खोजीमा त्यहाँ जम्मा हुने गरेका छन् ।
रूपनी गाउँपालिका मकरीका शोभालाल सरदारले मजदुरी गरेको ३५ वर्ष भयो । उहाँ अहिले ५५ वर्ष पुग्नुभयो । मजदुरी गर्दा गर्दै जीवन बितेको बताउने उहाँले माटो खन्न र बोक्ने काम आफूले धेरै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले काम गरेको यतिका वर्ष भए पनि मैले काम खोज्न आउँने ठाउँ नै यही हो,” उहाँले भन्नुभयो, “मलाई कतिपय घरमालिक र ठेकेदारले मैले काम गरेको हेरेको हुनाले दस वर्षयता काम नपाएर त्यसै फर्किनु परेको दिन छैन । कुनै न कुनै चिनेको ठेकेदार, मजदुर खोज्न आएपछि मलाई प्राथमिकतामा राखेर छान्नुहुन्छ । त्यहाँ जति दिनसम्म काम हुन्छ, इमानदार भएर गर्छु । काम सकिएपछि मात्र अर्काे कामको खोजीमा यहाँ आउने गरेको छु ।”
सोही ठाउँमा कामका लागि आउने गरेका राजविराज नगरपालिका वडा नं. १३ मुसरनियाका वर्ष २५ का रामनाथ सदाले कामको खोजीमा यस स्थानमा आउनैपर्ने भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ कामका लागि मजदुर छान्न आउनेले बलियो, काम गर्न सक्ने उमेर हेरेर, छानेर लैजाने गरेको मेरो अनुभव छ ।”
१५ वर्षदेखि घरलगायत ठेक्का लिएर मिस्त्रीको काम गर्दै आएका राजविराज नगरपालिका वडा नं. ७ का वर्ष ३५ का परमानन्द साह पनि बोलाएको बेला दक्ष मजदुर नआउँदा र आफूलाई बढी मजदुर चाहिएका बेला यही चोकमा मजदुर खोज्न आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म ठेकेदार हुँ भन्ने धेरै मजदुरलाई जानकारी छ । त्यहाँ पुग्नेबित्तिकै मलाई छानोस् भन्ने अधिकांशले आस गर्दा छान्न गाह्रो हुन्छ । सकेसम्म आफूसंँगै राम्रो काम गरेको भेटिएमा उसैलाई र नभेटिए मात्र व्यक्ति हेरेर अन्यलाई छानेर काममा लैजाने गरेको बताउनुभयो ।
यहाँ दसैँतिहार, गर्मी, जाडो जहिले पनि कामको खोजीमा आउने मजदुरको भिड लाग्ने गरेको हुन्छ । कति दिन धमाधम मजदुरहरू यहाँबाट काममा गएको हेर्दै आएको सोही ठाउँमा घर भएका वर्ष ५७ का विनोद साहले बताउनुभयो । कति दिन दर्जन मजदुर कामको खोजीमा दिउँसोको १२ बजेसम्म कुरेर त्यसै घर फर्कनुपर्ने बाध्यता हुने गरेको उहाँले बताउनुभयो ।