• २६ फागुन २०८१, सोमबार

भूमिगत विद्युत्का लागि तयारी

blog

चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडक । यही सडकको बायाँतर्फ भूमिगत विद्युत्को तार बिछ्याइएको छ । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, फागुन २६ गते । चितवन निकुञ्ज हुँदै माडी लगिएको भूमिगत पुरानो तारमा समस्या आएपछि थप अर्को नयाँ तार बिछ्याउने तयारी गरिएको छ । आठ वर्षअगाडि बिछ्याइएको विद्युत्को तारमा धेरै पटक समस्या आएपछि मर्मत गर्न जटिल हुँदै आएको हो । “बर्सातको समयमा खपतको भार धेरै हुँदा भूमिगत तारमा समस्या आउने गरेको थियो,” विद्युत् वितरण कार्यालय चनौलीका प्रमुख राजकुमार श्रेष्ठले भन्नुभयो । सिङ्गल सर्किट भएको भूमिगत तारमा समस्या आएपछि माडी नगरवासी अन्धकारमा बस्न बाध्य हुने गरेका थिए । 

समस्या आएपछि निकुञ्जभित्र अर्को तार बिछ्याएर लैजानका लागि वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गरी निर्माणको प्रक्रिया अगाडि बढाउन धेरै समस्या हुँदै आएको थियो । इआइएका लागि सर्भे, त्यसको प्रतिवेदन र अनुमति लिनकै लागि तीन वर्ष लागेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन निकुञ्जभित्र सामान्य विकास निर्माणको काम गर्नका लागिसमेत कठिन हुँदै आएको छ । 

नेपाल विद्युत् प्राधिकरण, हेटौँडा डिभिजन कार्यालयका प्रमुख शशिभूषण साहले विभागबाट काम गर्न अनुमति दिएको भए पनि सरोकारवाला व्यक्तिसँग छलफल राख्न समय नमिलेका कारण काम अगाडि बढ्न नसकेको बताउनुभयो । निकुञ्ज, संरक्षण क्षेत्रका संस्था, व्यक्ति, नगरपालिकाका प्रतिनिधिलगायतसँग छलफल गरेर मात्र ठेक्काको प्रव्रिmया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । 

“सिङ्गल सर्किटको पुरानो मोडलको तार भएका कारण समस्या आउने गरेको छ,” उहाँले भन्नुभयो, “अब राख्ने नयाँ तारमा कम समस्या आउने भएकाले यो स्थायी समाधानको उपाय हुने छ ।” निर्माणपछि एउटा तारमा समस्या आए अर्को तारबाट विद्युत् जोड्न सकिन्छ, चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठले भन्नुभयो । 

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वन मन्त्रालयबाट तार बिछ्याउनका लागि सहमतिपत्र ल्याएको तर कार्यान्वयन हुन नसकेको बताउनुभयो । “संरक्षित क्षेत्र भएकाले काम गर्न ज्यादै झन्झटिलो भएको छ, अब भने विद्युत्को काम हुने सङ्केत देखिएको छ । पुरानै स्थानबाट नयाँ तार बिछ्याउनका लागि सहमति भएको छ,” उहाँले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरण हेटौँडा डिभिजन कार्यालयले सव्रिmयता नदेखाउँदा समस्या भएको छ । पालिकाले दबाब दिएपछि काम गर्न तयार भएका छन् । वातावरण प्रभाव मूल्याङ्कन रिपोर्टले सहमति दिएको छ ।” 

अब माडीमा विद्युत्को समस्या हल हुने छ । गत बर्सातमा निकुञ्जभित्र भूमिगत विद्युत् बिग्रिँदा एक हप्तासम्म अन्धकारमा बस्नु परेको थियो । विद्युत् नहुँदा सेवाग्राहीलाई सेवा दिन सकिँदैन । बैङ्क तथा वित्तीय संस्था, कृषिका लागि सिँचाइलगायतमा समस्या पर्दै आएको सरोकारवालाको भनाइ छ । माडीको विद्युत्को समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र हालका प्रधानमन्त्रीसमक्ष चितवनका जनप्रतिनिधिले ज्ञापनपत्र बुझाएर दबाब दिँदै आएका थिए । भूमिगत तार अर्को बिछ्याउन सरकारका सम्बन्धित वन मन्त्रालयले अनुमति दिएपछि सरोकारवालाबिच छलफल गरेर निर्माण प्रव्रिmया अगाडि बढ्ने भएको हो । २०७३ मङ्सिर ४ गतेबाट भूमिगत विद्युत्मार्फत माडीमा विद्युत् वितरण भएको थियो ।