अनिल पराजुली
हेटौँडा, फागुन २६ गते । मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेका छन् । व्यावसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला यहाँका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन् । व्यावसायिक तरकारी खेती हुने मकवानपुरका मनहरी, थाहा, बकैया, हेटौँडामा रासायनिक मल र विषादीको प्रयोग धेरै हुने गरेको छ । मनहरीका किसानले गाईको मलमूत्रलाई औषधीका रूपमा बालीनालीमा प्रयोग गर्न थालेका छन् ।
मकवानपुर मनहरी गाउँपालिका–१, मकरीका देवराज न्यौपानेले तरकारी खेतीका लागि आवश्यक विषादी अर्गानिक रूपमा बनाएर प्रयोग गर्न थाल्नुभएको हो । चार वटा गाई र पाँच वटा बाच्छाबाच्छी पाल्दै आउनुभएका न्यौपानेले गहुँत सङ्कलनका लागि ट्याङ्कीसमेत निर्माण गर्नुभएको छ ।
गहुँतमा पानी मिसाएर एक इन्चको मोटरले पानी र मूत्र सबै तरकारीमा हाल्ने गरेको उहाँले बताउनुभयो । “गहुँत हाल्न थालेपछि मैले विषादी प्रयोग गर्नुपरेको छैन, गहुँतका कारणले किराको प्रकोप घट्दै गएको छ,” न्यौपानेले भन्नुभयो । बालीका लागि गहुँत विषादी जस्तै प्रभावकारी भएको उहाँको भनाइ छ ।
सबै किसानलाई विषादीको विकल्पमा गहुँत प्रयोग गर्न पनि सुझाव दिनुभयो । चार वटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती गरिरहनुभएका उहाँले अन्तरबालीका रूपमा बन्दाकोभी पनि लगाउनुभएको छ । उहाँले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै साढे दुई लाख रुपियाँसम्मको बिक्री गर्दै आउनुभएको छ ।
तरकारीसँगै केराखेती पनि गर्दै आउनुभएका उहाँले केरामा विषादीको प्रयोग गर्नुभएको छैन । “केराको कोसा ठुलो बनाउन कुनै भिटामिन र रासायनिक औषधी हालेका छैनौँ, हाम्रो बच्चाले र वरिपरिकाले पनि यही केरा खानु पर्छ,” उहाँले भन्नुभयो । निजगढबाट बिउ ल्याएर नौ कट्ठा क्षेत्रफलमा माल्पा जातको तीन सय बोट केरा लगाउनुभएका न्यौपानेले वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ ।
२३ वर्ष भारतमा सवारी चालकका रूपमा काम गर्नुभएका न्यौपाने कोरोनाको महामारीपछि नेपाल फर्किएर आफ्नै गाउँमा केही गरौँ भन्ने सोचका साथ व्यावसायिक कृषि कर्ममा लाग्नुभएको हो ।
कृषि र पशुपालनसँगै गरिरहनुभएका न्यौपानेले दैनिक ४० लिटर दुध बिक्री गर्दै आउनुभएको छ । गाईका लागि १० कट्ठा क्षेत्रफलमा जै घाँस र नेपिएर लगाउनुभएको छ । वार्षिक सात लाख रुपियाँभन्दा बढीको दुध बिक्री गर्ने न्यौपानेले सबै खर्च कटाएर दुध बिक्रीबाट चार लाख रुपियाँ खुद आम्दानी गर्ने गरेको बताउनुभयो ।
घरपरिवार मिलेर कृषि र पशुपालन गरिरहनुभएका उहाँले यसकै आम्दानीबाट छोराछोरीलाई उच्च शिक्षा पढाउनुभएको छ । कृषि कामका लागि जनशक्ति अभाव हुँदा समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।
भारतबाट आउने केरा, तरकारीका कारण नेपाली किसान मर्कामा परेको गुनासो पोख्दै उहाँले उचित बजारमूल्य नपाएको बताउनुभयो । उहाँले सरकारलाई समेत नेपाली किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीले उचित मूल्य पाउने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो ।