• ७ वैशाख २०८२, आइतबार

गोर्खाली खुकुरीमा आकर्षण

blog

महोत्सवमा राखिएको गोर्खाली खुकुरी । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन २५ गते । वालिङ नगरपालिका –८ खेलमैदानमा फागुन २१ गतेदेखि जारी प्रथम पिङ्क सिटी महोत्सवमा गोर्खाली ठुलो खुकुरी सबैको आकर्षणमा परेको छ । 

यस महोत्सवमा स्थानीयले आफ्नै सीपबाट निर्माण गरेको ठुलो खुकुरी दर्शकको आकर्षणमा परेको हो । वालिङ नगरपालिका –१४ रैपाला निवासी सन्तोष विश्वकर्माले आफूले बनाएका खुकुरीदेखि कृषि औजारहरु प्रदर्शनीमा राख्नु भएपछि ठुलो खुकुरी सबैको रोजाइमा परेको हो । 

विश्वकर्माले आफ्नो सीपको सदुपयोग गरी बनाएर प्रदर्शनीमा राखेको पाँच फिट १० इन्च लम्बाइको खुकुरी भने सबैको आकर्षण बनेको हो । १५ दिन लगाएर बनाएको ३० केजी तौल भएको यो खुकुरीको मूल्य एक लाख एघार हजार एकसय एघार रुपियाँ राखिएको छ । 

खुकुरी देशबाहिर रहेका नेपालीले मन पराएर किनेको र मेलाको अन्त्यमा लैजाने बताउँदै विश्वकर्माले अन्यले समेत अर्डर गरेको बताउनुभयो । महोत्सवमा विकले प्रवेशद्वार नजिकैको ए –४० स्टलमा आफ्ना उत्पादन प्रदर्शनी एवं बिक्री वितरण गर्नुभएको हो । 

उहाँले राखेको खुकुरी र कृषिऔजारको प्रचार-प्रसार मात्र भएको छैन, बिक्री वितरण भएको छ । यहाँबाट केही औजारहरु बिक्री भइसकेका छन् भने माग भएका छन् । उहाँले फलामबाट बन्ने हँसिया, फाली, बन्चरो, कोदाली, खुकुरी, चक्कु, दाउ तथा तरवारलगायतका सामग्री बनाउँदै आएको बताउनुभयो । 

मौलिक तथा परम्परागत प्रविधिको प्रयोग गर्दै आफ्नो पुस्तौंदेखि चलिआएको कला, सीप अबका पुस्तालाई हस्तान्तरण गर्न भने अलि गाह्रो रहेको विकको भनाइ छ । अहिलेका पुस्ताहरु यहाँ माध्यमिक तहसम्म पढेर बाहिरिँदै गएको अवस्थामा आफ्नो पुस्तापछिका अर्का पुस्तालाई परम्परागत सीप हस्तान्तरण गर्न गाह्रो रहेको विकले बताउनुभयो । 

आफूले बनाएका यस्ता किसिमका सामग्रीहरु घरबाट बिक्रीवितरण गर्ने गरेको र मेला महोत्सवमा समेत स्टल लिएर प्रदर्शनी एवं बिक्री वितरण गर्दैआएको बताउनुभयो । महोत्सवले आफूहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रचार–प्रसारमा टेवा दिएको विकको भनाइ छ । 

वालिङ चेम्बर अफ कमर्सको आयोजनमा जारी महोत्सवमा स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकता दिइएको संस्थाका उपाध्यक्ष मणिप्रसाद पङ्गेनीले बताउनुभयो । महोत्सवका स्टलमा राखिएका ती सामग्रीले यहाँका स्थानीय सीपलाई झल्काएको मात्र छैन, उत्पादित सामग्रीको प्रचार–प्रसार र बजारीकरणमा टेवा पुग्ने उपाध्यक्ष पङ्गेनीको विश्वास छ । कमर्सले स्थानीय उद्यमीलाई निःशुल्क र केही प्रतिशत छुटमा स्टलको व्यवस्था गरेको छ ।  

‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ नाराका साथ वालिङ् चेम्बर अफ कमर्सले सञ्चालन गरेको महोत्सव चैत ३ गतेसम्म चल्नेछ ।