• २५ फागुन २०८१, आइतबार

लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र : गृहमन्त्री लेखक

blog

सुर्खेतमा रहेको प्रादेशिक आपत्कालीन गोदाम घर कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गर्दै गृहमन्त्री रमेश लेखक । तस्बिर ः ललित बसेल

ललित बसेल

सुर्खेत, फागुन २५ गते । गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलनबाट फ्याँकेको राजतन्त्र पुनः आउने कल्पनासमेत नगर्न आग्रह गर्नुभएको छ । उहाँले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने भन्दै त्यसको भ्रमबाट उम्कन आग्रह गर्नुभएको छ । 

आइतबार सुर्खेतमा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा आउनुभएका गृहमन्त्री लेखकले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै जनताले फालेको राजतन्त्र फेरि नआउने र लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जनाउनुभयो । पूर्व राजाले पनि लोकतन्त्रको पूर्ण उपभोग गरेको हुँदा यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको उहाँको भनाइ छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्दै गृहमन्त्री लेखकले अहिले राजावादीहरू आन्दोलन गरिरहनु, बोलिरहनु लोकतन्त्रको उपभोग गरेको बताउनुभयो । साथै अहिले भइरहेका आन्दोलनले शान्ति सुरक्षामा कुनै खलल नपुग्ने गरी शान्ति सुरक्षा चुस्त दुरुस्त राखिएको उहाँको भनाइ छ । 

यसैबिच गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुर्खेतमा रहेको प्रादेशिक आपत्कालीन गोदाम घर हस्तान्तरण गर्नुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतमा रहेको सो गोदाम घर प्रदेशलाई हस्तान्तरण गरेपछि विपद् जोखिम न्यूनीकरणको काममा प्रदेशले नै सञ्चालन र परिचालन गर्ने उहाँले बताउनुभएको छ । उहाँले सङ्घले नीति नियम बनाउने र बजेट व्यवस्थापन गर्ने, प्रदेशले समन्वय गर्ने र स्थानीय पालिकाहरूले काम गर्ने गरी विपद् न्यूनीकरणमा लाग्न निर्देशन दिंदै प्रदेश र स्थानीय सरकारले विपद् न्यूनीकरणको क्षेत्रमा बर्सेनि बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले पश्चिम नेपालको भूकम्पले क्षति पुर्‍याएको संरचनाको पुनर्निर्माण र पीडितहरूलाई पुनर्स्थापनाको काम नीति र बजेट विनियोजन गरेर सुरु भइसकेको बताउनुभएको छ । उहाँले पश्चिम नेपालको डोटी, बझाङ र जाजरकोटमा गएको भूकम्पले क्षति पुर्‍याएको संरचनाहरूको विस्तृत मूल्याङ्कन नै नभएको पाइएको हुँदा त्यसको मूल्याङ्कन लिएर नीति र बजेट छुट्याइ कार्यालय स्थापना गरेर पुनर्निर्माण र पुनर्स्थापनाको काम सुरु भइसकेको बताउनुभयो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रादेशिक आपत्कालीन गोदाम घर प्रदेशलाई हस्तान्तरण गरिएपछि विपत्मा त्यसको सञ्चालन र परिचालन गर्न सहज हुने बताउनुभयो । उहाँले घर मात्रै हस्तान्तरण गरेर नहुने भन्दै त्यसको संरचना र बजेट परिचालनको कामको अधिकार पनि प्रदेशलाई दिनुपर्ने माग गर्नुभयो । यस वर्ष प्रदेशले विपतका सामग्रीहरू खरिद गर्नका लागि एक करोड ५० लाख रुपियाँ विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले प्राधिकरण मातहत रहेका आपत्कालीन गोदाम घरहरू प्रदेशलाई हस्तान्तरण गरेर काममा सहजता ल्याउन लागिएको बताउनुभयो ।