• २५ फागुन २०८१, आइतबार

‘साहित्य समाजको ऐना’

blog

टीकापुर समाचारदाता

टीकापुर, फागुन २५ गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले साहित्यले समाजको कथाव्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताउनुभएको छ । शनिबार टीकापुर साहित्य सम्मेलनको उद्घाटनमा टीकापुरमा बोल्दै मन्त्री खड्काले साहित्य समाजको ऐना भएकाले समाजको यथार्थ बोल्दा त्यसबाट समाज रूपान्तरण हुने बताउनुभएको हो ।  

“टीकापुर योजनाबद्ध सहर हो, एक समय शैक्षिक केन्द्रका रूपमा थियो अब यसलाई साहित्यिक गतिविधिले पुनर्जागरण ल्याउनु पर्छ,” मन्त्री खड्काले भन्नुभयो, “साहित्यिक गतिविधिले मोबाइल आएपछि त्यसैमा झुम्मिने घोप्टेयुगमा प्रवेश गरेका युवा तथा बालबालिकामा पठन संस्कृतिको विकास होस् ।” 

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरमा भएको साहित्य सम्मेलनले यहाँको खस र थारू भाषा र पहिचानको प्रवर्धन हुने र साहित्यिक यात्रामा युवापुस्ताको सहभागिता बढ्ने अपेक्षा गर्नुभयो । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले प्रदेशका सबै जिल्लामा साहित्य र संस्कृतिको प्रसार गरिने बताउनुभयो ।

आयोजक संस्था टीकापुर साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहले रङहरूको मौसम फागुनमा देशभर नौ वटा साहित्यिक सम्मेलन भइरहेका र साहित्य पनि ग्ल्यामर क्षेत्रका रूपमा विकास भइरहेको बताउनुभयो । उहाँले देशका मूर्धन्य साहित्यकारहरूको उपस्थितिमा भइरहेको टीकापुर साहित्य महोत्सवको ‘ब्रान्ड भ्याल्यु’ बढेको र पाँचौँ संस्करणसम्म पुग्दा अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने बताउनुभयो ।

महोत्सवमा प्राध्यापक डाक्टर अभि सुवेदी, राजनीतिशास्त्री हरि शर्माको प्रवचन हुने छ । कार्यक्रममा लेखन, कविता, उपन्यास, विकास, संस्कृति आख्यान, कला नाटकका क्षेत्रमा १८ वटा सत्र चल्ने छन् । पहलमानसिंह स्वाँर साहित्य विशेष सत्र पनि रहेका छन् । फागुन २४ देखि २६ गतेसम्म १८ वटा सत्र चल्ने यो टीकापुर महोत्सवको दोस्रो संस्करण हो ।