• २५ फागुन २०८१, आइतबार

भूकम्पको क्षतिमा पुर्ननिर्माण र पुर्नस्थापना तीव्र : गृहमन्त्री लेखक

blog

कार्यक्रममा सहभागी गृहमन्त्री रमेश लेखकलगायत। तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, फागुन २४ गते। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा सरकारले तीव्रता दिएको बताउनुभएको छ। सदरमुकाम मंगलसेनमा भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापनाका क्रममा सो कुरा बताउनुभएको हो।  

गएका वर्षमा डोटी, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको पुर्ननिर्माण र पुर्नस्थापनाका काममा तीव्र रुपमा काम भएको भनाइ राख्नुभयो। “प्रधानमन्त्री पनि भूकम्प लगायतका विपतका क्षेत्रका काममा तीव्रता दिनुभएको छ”, मन्त्री लेखकले भन्नुभयो। 

अघिल्लो सरकारले भूकम्पको क्षतिमा काम नगरेका कारण आवश्यक कानुन, नीति मापदण्ड र बजेट व्यवस्थापन गरेर लाभग्राहीको काम द्रुत गतिमा अघि बढेको भनाइ उहाँको छ। अछाम, बझाङ र जाजरकोटमा कार्यालय नै स्थापना गरेर निजी घरको पुर्ननिर्माण र पुर्नस्थापनाका काम अघि बढेको मन्त्री लेखकको भनाइ छ। 

मन्त्री लेखकले नेपाली जनताबाट विस्थापित भइसकेको राजतन्त्र कुनै हालतमा फिर्ता नहुने भनाइ राख्नुभयो। लोकतन्त्रका विरुद्धमा षड्यन्त्रका पक्षमा नेपाली जनता नभएको भन्दै उहाँले लोकतन्त्रवादीले एकजुट भएर त्यसकाविरुद्धमा उभिने भनाइ मन्त्री लेखकको छ।  

लोकतन्त्रको व्याख्या गर्दै मन्त्री लेखकले नेपालको लोकतन्त्रमा राजालाई समेत संविधान प्रवर्द्धत अधिकार उपभोग गरिरहेकोले यसलाई कमजोरी नठान्न पनि मन्त्री लेखकको चेतावनी दिनुभयो। लोकतन्त्र अनुशासनको पद्धति रहेको उहाँको भनाइ छ।

सरकारको स्थायित्वको लागि दुई ठूला दल मिलेर देशमा काम गरिरहेको भन्दै उहाँले वर्तमान सरकारले नागरिकका पक्षमा काम गरिरहेको बताउनुभयो।  

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अछाम, बाजुरा र डोटी जिल्ला हेर्ने गरेर अछाम सदरमुकाम मंगलसेनमा कार्यालय स्थापना गरेको छ। कार्यालयले तीन जिल्लाका भूकम्प पीडित लाभग्राहीको क्षेत्रमा काम गर्ने छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भिष्मकुमार भुसालले एकाइले तीन जिल्लामा गर्ने काम, त्यसको प्रक्रिया र लाभग्राहीको बारेमा जानकारी दिनुभयो। 

इकाइ स्थापनाका क्रममा अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले स्थानीय तहबाट लाभग्राहीको काम हुने भएकोले स्थानीय जनतिनिधिले सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो। सबै पालिकाकाको प्रतिनिधित्वमा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले भूकम्प, बाढी, पहिरोका कारण पुर्नस्थापना हुन नसक्दा जिल्ला बाहिर बसाइँ सर्न बाध्य भएको भनाइ राख्नुभयो।

एकाई स्थापनाका क्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जिल्लाको भूकम्पको क्षतिको अवस्था र आगामी दिनको कामको बारेमा जानकारी गराउनुभयो। एकाइ स्थापना कार्यक्रममा वर्तमान तथा पूर्वसांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, कार्यालय प्रमुख लगायतको सहभागिता थियो।