• २६ फागुन २०८१, सोमबार

संरक्षणको पखाईमा सोरठी नाच

blog

तस्बिर : रेखीराम राना लोप हुँदै गएको सोरठी नाच ।

तानसेन समाचारदाता

तानसेन, फागुन २४ गते  । पाल्पामा परम्परागत सोरठी नाच लोप हुँदै गएको छ । केही वर्षअघिसम्म मगर समुदायमा लोकप्रिय सोरठी नाच पछिल्लो समय नाच्नै छाडिएको छ । देवीदेवताको भक्तिगानमा मादल बजाउने पुरुष र महिला (मारुनी) सहित नाचिने नाचलाई सोरठी भनिन्छ । देवीदेवता, राजाका कथा तथा दुःखसुखका गीतसँगै मादलको तालमा सोरठी नाच प्रस्तुत गर्ने प्रचलन छ ।  

केही वर्षअघिसम्म विवाह, छैटी, व्रतबन्ध, पूर्णिमा तथा दसैँको बेलामा नाचिने सोरठी नाच हिजोआज देख्नै मुस्किल पर्ने गरेको छ । मगर समुदायमा नाचिने विभिन्न नाचको संरक्षणमा चासो दिइए पनि सोरठी नाच भने लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ पाल्पाका अध्यक्ष गमबहादुर थापा बताउनुहुन्छ । “सोरठी नाच पहिले हरेक गाउँमा नाचिन्थ्यो, अचेल सोरठी नाच देख्नै मुस्किल छ,” उहाँले भन्नुभयो ।

मगर समुदायमा प्रचलित झाम्रे, कौरा, घाटु, जीवैमामा नाच पछिल्लो समय कलाकेन्द्र तथा विभिन्न सांस्कृतिक समूहले पनि देखाउने गरेका छन् । यी गीत तथा नाचमा सामान्य कलाकार नाच्न मिल्छ भने पुस्तान्तरण गर्न पनि सहज छ तर सोरठी नाचको व्यवस्थापन गर्न अन्य नाच जस्तो सहज नहुँदा संरक्षण हुन नसकेको थापाले बताउनुभयो । 

सोरठी नाचका लागि महिला तथा पुरुषको पोसाक तथा वाद्यवादनका रूपमा तीन÷चार वटा ठुला मादलको व्यवस्था गर्नुपर्ने हुन्छ । साथै नाच्ने र मादल बजाउने शैली पनि आफ्नै शास्त्रीय मान्यता रहेका कारण पनि यसको संरक्षण गर्न कठिन भएको तानसेन–३ का स्थानीयवासी शान्ति झेडीले बताउनुभयो । “सोरठी नाच केवल नाच मात्रै नभएर यसमा देवीदेवताको भक्तिगान पनि मिलाउनुपर्ने हुन्छ, त्यसैले सोरठी नाचको संरक्षण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो । यसको संरक्षणका लागि पाका पुस्ताले प्रशिक्षण दिएर विशेष टोली नै बनाउन आवश्यक रहेको उहाँको तर्क छ ।