• ७ पुस २०८१, आइतबार

सहरको फोहोर व्यवस्थापन

blog

फोहोर व्यवस्थापन अल्पविकसित राष्ट्रहरूको मुख्य समस्या हो । दिगो विकास लक्ष्यका कतिपय लक्ष्यको परिपूरकका रूपमा रहने फोहोर व्यवस्थापन वातावरणीय तथा मानवीय सुरक्षित आवासका अवरोधक हुन् भने मानव स्वास्थ्यको समेत खतरा हो ।

स्वास्थ्य तथा प्रदूषण व्यवस्थापनका लागि विश्वका कुनै पनि राष्ट्रले आफ्ना बस्ती तथा सहरी र औद्योगिक फोहोरहरूको व्यवस्थापन गर्दै अघि बढ्न पछिल्लो समयमा नीति, रणनीति र प्रविधिमा व्यापक हस्तक्षेप गर्नुपर्ने देखिन्छ । नेपालजस्तो देशले उत्पादित सहरी फोहोर कुनै बस्ती छेउछाउ थुपार्ने कार्य तत्कालिक र दीर्घकालीन रूपमा मानवीय हितका लागि उपयोगी देखिँदैन ।

शासकीय क्षेत्रमा भएको परिवर्तनसँगै सामाजिक समृद्धि र अमनचयन प्राप्त गर्ने लक्ष्यमा फोहोर व्यवस्थापन, वातावरणीय स्वच्छता पनि दीर्घकालीन दृष्टिले सोचनीय विषय हो । जापानी फोहोर व्यवस्थापनको नमुना विश्वमा नै अनुकरणीय छ । मानव सचेतना, प्रविधि र पूर्वाधारको संयोगिक परिणति स्वरूप मानव स्वास्थ्य, सहरी सुन्दरता र आर्थिक विकासमा जापानी फोहोर व्यवस्थापनले शासकीय कुशलताको अनुपम प्रदर्शन गरेको छ । स्वच्छ पानी, स्वच्छ हावा र दृश्य सुन्दरताको फलस्वरूप जापानीहरू खासै बिरामी पर्दैनन् । नागरिक चेतना, शासकीय हस्तक्षेप र पूर्वाधारको पर्याप्तताका कारण यो सम्भव भएको हो । यहाँ अस्पतालजन्य तथा औद्योगिकबाहेक अन्य फोहोरको बारेमा चर्चा गरिन्छ । 

सबैभन्दा पहिला फोहोर उत्पादनका कुरा गरौँ । सहर वा ग्रामीण क्षेत्रका घरबाट निस्कने फोहोरलाई चार किसिमले वर्गीकरण गरिन्छ । फोहोर उत्पादकले नै आफ्नो फोहोरलाई जलनशील, बाल्न नसकिने, पुनःप्रयोग गर्न सकिने र ठूला आकारका फोहोरका रूपमा वर्गीकरण गरी छुट्याउँछन् । पहिलोः भान्छा घरबाट निस्कने खानाका शेष तथा कागज र कपडा बाल्न वा खरानी बनाउन सकिने फोहोरमा पर्छन् । दोस्रोः बाल्न नसकिने फोहोरमा पुनःप्रयोग गर्न नसकिने ससाना सिसा, धातु वा सेरामिक्सजस्ता वस्तु पर्छन् । तेस्रोः पुनःप्रयोग गर्न सकिने फोहोर यसअन्तर्गत पर्छन् प्लाष्टिकजन्य वस्तु, कन्टेनर आदि । यी तीन प्रकारका फोहोर फरक रङको प्लाष्टिक ब्याग किनेर पोको पारिन्छ । चौथो प्रकारको फोहोर फर्निचर, फ्रिज, लुगा धुने मेसिन, कारलगायत आयतनमा ठूला किसिमका पर्छन् । चौथो प्रकारको फोहोर विसर्जन गर्न अग्रिम रूपमा सरकारलाई निश्चित शुल्क बुझाउनुपर्छ । यी सामान शुल्क तिरेर विसर्जन गर्नुभन्दा सहरका नव आगन्तुकलाई गिफ्ट गर्न सहज हुन्छ । गरिब देशबाट गएका कतिपय विदेशीले यस्तै सामान जोहो गरेर पनि सहज जीवन बिताएका छन् ।

अब फोहोर व्यवस्थापनका कुरा गरौँ । ग्रामीण क्षेत्रमा वा सहरमा होस् बस्तीको निश्चित दुरीमा फोहोर सङ्कलन स्थल निर्माण गरिएको हुन्छ । यसरी सडकछेउमा राखिएका बाख्राका खोरजस्ता साना घरमा सार्वजनिक बस्तीबाट आएको फोहर दैनिक कुन रङको झोला राख्ने हो तालिका समेत टाँसिएको हुन्छ । तालिका अनुसार ग्रामीण वा सहरी नागरिकले फोहोर राख्ने गर्छन् । फोहोर राख्दा जुन दिन जुन किसिमको फोहर राख्नुपर्ने हो सोहीअनुरूप राख्नुपर्छ । सीसी क्यामेराको निगरानीअनुसार फोहोर फाल्ने व्यक्तिलाई कानुनी रूपमा जिम्मेवार बनाइएको हुन्छ । 

अब फोहोर उपयोगका कुरा गरौँ । प्रज्वलनशील (खरानी बनाउन सकिने) फोहोरलाई विद्युत् उत्पादनका लागि प्रयोग गरिन्छ । राजधानी टोकियो भित्रै समेत धेरै वटा यस्ता विद्युत् गृह रहेका छन् । करिब पाँच लाख बासिन्दाबाट निस्कने दैनिक फोहोरबाट दस मेगावाट दैनिक विद्युत् उत्पादन गर्न सकिने आँकडा जापानी वातावरण मन्त्रालयका प्रतिवेदनहरूमा उल्लेख गरेको पाइन्छ । तथ्याङ्क हेर्दा सबैभन्दा बढी जलनशील फोहोर उत्पादन भएको देखिन्छ । फोहोर व्यवस्थापनमा थ्री आर प्रणाली अर्थात् रिड्युसः फोहोर उत्पादन कम गर्ने; रिसाइकलः पुनः उपयोग गर्ने वा अवस्था परिवर्तनबाट उपयोग गर्ने र रियुजः पुनः प्रयोग गर्ने फर्मुला उपयोग गरिएको पाइन्छ । 

यही अवधारणाअनुसार फोहोर सङ्कलन गरी सरकारले यसको व्यवस्थापन गरेको पाइन्छ । दैनिक उब्जने फोहोरबाट इनर्जी उत्पादन गर्ने कार्य विकसित देशहरूले लामो समयदेखि गर्दै आएका कार्य हुन् । जुन देशमा ल्यान्डफिल्ड साइटको कमी छ वा सामाजिक स्वास्थ्यलाई महìवका साथ हेरिन्छ त्यस देशमा फोहोरलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गरिएको पाइन्छ ।

नेपालजस्तो देशमा पनि पुनःउपयोग गर्न सकिने फोहोरलाई सोहीअनुरूप उपयोग गरिएको पाइन्छ । बोत्तल कागज फलामजन्य फोहोर आज पनि रिसइकल भइरहेका छन् । यद्यपि यस्ता फोहरको व्यवस्थित वर्गीकरण, सङ्कलन र विसर्जन वा उपयोग गर्ने प्रणाली भने विकास गर्न सकिएको छैन । 

जापानमा फोहोर व्यवस्थापनको सबैभन्दा प्रभावशाली पक्ष सामाजिक चेतना र सत्यनिष्ठाप्रतिको सामाजिक मूल्य हो । प्रायः जापानी बजारका रेष्टुराँहरू समेत एकजना वा दुईजना कामदारले नै सञ्चालन गरिरहेको देखिन्छ । रेष्टुराँमा खाना खानेहरूले आफूले खाएको फोहोर र प्लेटसमेत आफैँले उठाएर निश्चित स्थानमा राखिदिएर बाहिरिन्छन् । खाना चुलो वा फ्रन्ट डेस्कबाट आफैँ लिने र खाइसकेपछि शेष फोहोरलाई वर्गीकरण गर्ने कार्य जापानी जीवनशैलीको अभिजात कर्म हो । 

घरबाट निस्किएको फोहोरलाई बजारबाट उपयुक्त रङको प्लाष्टिक झोला किनेर निर्देशित झोलामा राख्ने विसर्जन गर्ने कार्यमा कहिल्यै पनि गल्ती भएको देखिँदैन । अर्थात् बल्ने किसिमको फोहोर प्याकिङ गर्दा एउटा टुक्रा पनि नबल्ने फोहोर मिसिएको हुँदैन । यही सारभूत सामाजिक निष्ठाका कारण बल्ने फोहोर सोझै विद्युत् उत्पादन गृहतर्फ लगिन्छ ।

जापानीहरूमा सामाजिक सद्भाव र सहिष्णुताको गहिरो पूर्वाधारका कारण नै जटिल फोहोर व्यवस्थापन सहज भएको छ । विश्वका मानिसहरू अरूबाट रोग नसरोस् भनेर मास्क लगाउँछन् तर जापानीहरू आफ्नो रोग अरूलाई नसरोस् भनेर मास्क लगाउँछन् । यसैकारण यात्रामा फोहोर विसर्जनका भाँडाहरू भए पनि जापानीहरू आफूले प्रयोग गरेका टिस्यु पेपरसमेत झोलामा हालेर बासस्थान नै लिएर आउँछन् र व्यवस्थित ढङ्गले पोको पारेर विसर्जन गर्छन् । 

नेपालले स्थानीय तह तथा सहरी पूर्वाधारहरू निर्माण र सामाजिक न्यायका आधारका रूपमा फोहोर व्यवस्थापन र यसको बहुआयामिक उपयोग नीतिमा सार्वजनिक निजी र नागरिकबीच सहकार्यात्मक ढङ्गबाट अघि बढ्न आवश्यक छ । सन् २०३० को दिगो विकासको लक्ष्य र सन् २०४३ को समुन्नत नेपालको लक्ष्यमा पुग्न व्यवस्थित र स्वस्थ सहरी तथा ग्रामीण पूर्वाधार पनि महìवपूर्ण विषय हुन् । 

नेपालको पछिल्लो स्थानीय निर्वाचनमा कतिपय स्थानीय जनप्रतिनिधिले फोहोर व्यवस्थापनलाई पहिलो मुद्दा बनाएका छन् । विशेषगरी काठमाडौँका नगरप्रमुखले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता चुनावी एजेन्डाका रूपमा लिएका छन् । विश्वका कतिपय देशले फोहोरलाई कुहाएर मिथेन ग्यास निर्माण गर्ने र कम्पोष्ट मल बनाउनेसमेत गरेका उदाहरणहरू वैज्ञानिक रूपमा अध्ययन गरी अघि बढ्न सके सहरी फोहोरले दिगो विकासमा राखेको तगारो हटाउन सकिन्छ ।

यद्यपि पूर्वाधार र नीतिभन्दा पनि घरघरमा उब्जिने फोहोरलाई वर्गीकरण गरी फरक फरक ढङ्गबाट विसर्जन गर्ने सामाजिक प्रणाली बसाउन केही कसरत गर्नेपर्ने देखिन्छ । सरकारले फोहोर पोको पार्ने निश्चित किसिमको प्लाष्टिक झोला उपलब्ध गराउने नीति लिन सक्छ । यसले नागरिकमा फोहोर व्यवस्थापनप्रति अपनत्व र सरकारी प्रयासप्रतिको जिम्मेवारी वा दायित्व प्रकट हुने निश्चित छ । 

जापानलगायत विकसित देशमा सहरकै बीचमा स्थापना गरिएका फोहोरबाट ऊर्जा उत्पादनका प्लान्टहरू अध्ययन गर्दा सहरको फोहोर सहरकै मानिसको जीवनस्तरमा सकारात्मक मूल्य सिर्जना गरेको देखिन्छ । हाम्रा सहरहरूले समेत यस्ता प्रविधि र सोचको अध्ययन गरेर वर्गीकृत फोहोर व्यवस्थापन गर्ने विविध प्रणाली अवलम्बन गर्न आवश्यक छ ।

Author

पुण्यप्रसाद भट्टराई