जापानमा साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ । ६४ वर्षीया उहाँ जापानको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को पहिलो महिला अध्यक्षसमेत हुनुहुन्छ । पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी उहाँ बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई प्रेरणाका स्रोत मान्नुहुन्छ ।
सन् १९९३ मा सांसद निर्वाचित उहाँ आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयको जिम्मेवारी समालिसक्नुभएको छ । उहाँले बलियो सैन्य क्षमता, वित्तीय खर्च विस्तार, आणविक प्रवर्धन, साइबर सुरक्षा सुदृढीकरण र आप्रवासन नीतिमा कडाइ गर्नुपर्ने पक्षमा उनी आवाज उठाउँदै आउनुभएको छ ।
जापानको संसद्मा भएको मतदानमा विजयी हुँदै साने देशकी प्रथम महिला प्रधानमन्त्री निर्वाचित भएसँगै सर्वत्र चर्चाको विषय बनेको छ । राजनीतिमा आउनुअघि उहाँ टेलिभिजन कार्यक्रमको प्रस्तोता र कुनै बेला ‘हेभी मेटल’ को एउटा साङ्गीतिक समूहको सदस्य हुनुहुन्थ्यो । पछि उहाँ मन्त्री पनि बन्नुभयो । अब उहाँसामु सुस्त गतिको अर्थतन्त्र, तलब नबढेको तर महँगीको मारमा परेका जापानी जनताका समस्या अनि न्यून जन्मदर र बढ्दो भूराजनीतिक तनावका पहाडहरू छन् । देशको कार्यकारीका रूपमा उहाँले जापान र अमेरिकाको सम्बन्ध अनि ट्रम्प प्रशासनसँग निवर्तमान सरकारले गरेको व्यापार सम्झौतासँग जोडिएका अनेकौँ व्यवहार गर्नुपर्ने छ ।
सानेको जन्म सन् १९६१ मा भएको हो । उहाँका बुवा कर्मचारी र आमा प्रहरी हुनुहुन्थ्यो । उहाँ सन् २००४ मा सांसद ताकु यामामोटोसँग विवाह बन्धनमा बाँधिनुभयो । उहाँको लालनपालनमा राजनीति कतै पनि जोडिएको थिएन । हेभी मेटल सङ्गीतमा लाग्दा उहाँले ड्रम बजाउनु हुन्थ्यो । सन् १९८० को दशकमा जापान र अमेरिकाबिच हुने व्यापारमा तनाव उत्पन्न भएको बेलामा सानेलाई राजनीतिमा जाने प्रेरणा प्राप्त भयो । अमेरिकाले जापानलाई हेर्ने दृष्टिकोण बुझ्न उहाँले अमेरिकी डेमोक्रेट सांसद प्याट्रिसिआ स्रोइडरको कार्यालयमा काम गर्नुभयो । स्रोइडर जापानको आलोचक थिइन् । उहाँले अमेरिकीहरूले जापानी, चिनियाँ र कोरियाली भाषा र परिकार सबैलाई एउटै डालोमा राखेर हेर्ने गरेको थाहा पाउनुभयो ।
“जापानले आफ्नो रक्षा आफैँ गर्न नसकेसम्म जापानको भाग्य सधैँ अमेरिकाको सतही धारणाको छायामा पर्न सक्छ,” उहाँको निष्कर्ष थियो । उहाँ सन् १९९२ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बने पनि सफलता मिलेन । त्यसपछि अर्को वर्ष भने चुनाव जित्नुभयो । सन् १९९० मा उहाँ एलडिपीमा प्रवेश गर्नुभयो । उहाँ १० पटक सांसद निर्वाचित हुनुभयो । साने पार्टीभित्र प्रखर परम्परावादी नेत्रीका रूपमा चिनिनुहुन्छ ।
एलडिपीको नेतृत्वका लागि उहाँले सन् २०२१ मा प्रतिस्पर्धा गर्नुभयो । फुमिओ किसिदासँग पराजित हुनुभयो । सन् २०२४ मा भएको आन्तरिक निर्वाचनमा उहाँ पहिलो चरणमा अग्रस्थानमा भए पनि सिगेरु इसिवा पार्टीका नेता छानिनुभयो । उहाँ तेस्रो पटकको प्रयासमा यसपालि एलडिपीको नेतृत्वमा पुग्नुभयो । “मेरो लक्ष्य आइरन लेडी बन्नु हो,” उहाँले स्कुले विद्यार्थीको एउटा समूहलाई भन्नुभयो । निकै परम्परावादी उहाँ निकै लामो समयदेखि विवाहित महिलालाई माइतीको थर राख्ने दिने कानुनको विरोध गर्दै आउनुभएको छ । उक्त कानुनले परम्परा बिथोल्ने उहाँको तर्क छ । उहाँ समलिङ्गी विवाहको पनि विपक्षमा हुनुहुन्छ ।
उहाँको परिवार र व्यक्तिगत अनुभवका आधारमा नीतिगत प्रस्ताव बनेका हुन्छन् – महिलाको स्वास्थ्यका लागि अस्पताल सेवा विस्तार गर्ने, घरेलु सहयोगी कामदारलाई बढी मान्यता दिने र जापानको वृद्ध समाजका लागि हेरचाहको सुविधामा सुधार गर्ने उहाँको योजना छ । “मैले जीवनमा तीन पटक आफैँले नर्सिङ र हेरचाह गर्ने कामको अनुभव बटुलेकी छु,” सानेले भन्नुभयो । “त्यसैले हेरचाह गर्नुपर्ने, बच्चाको हुर्काउनु बढाउनुपर्ने वा विद्यालय जान नमान्ने बालबालिकाका कारण रोजगारी छोड्न बाध्य हुने मानिसको सङ्ख्या घटाउने मेरो सङ्कल्प अझ दृढ बनेको छ । म मानिसहरू आफ्नो वृत्ति छोड्न बाध्य हुनु नपर्ने समाज निर्माण गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।
उहाँले महिलाको सशक्त सहभागिता सुनिश्चित गर्ने वाचा गरे पनि मन्त्रीपरिषद्मा दुई जना मात्र महिला मन्त्री नियुक्त गर्नुभएको छ । उहाँ शाही परिवारको पुरुष मात्र उत्तराधिकारको पक्षमा हुनुहुन्छ । साने समलिङ्गी विवाह तथा दम्पतीहरूले फरक उपनाम राख्न पाउने कानुनी संशोधनको विपक्षमा हुनुहुन्छ । उहाँका नीति रूढिवादी छन् । विविधतालाई स्वीकार गर्ने दृष्टिकोण अपनाउनेमा पनि शङ्का छ । उहाँको कडा दक्षिणपन्थी दृष्टिकोणले गर्दा जापानी सरकार पश्चगामीतर्फ मोडिन सक्ने विश्लेषकहरूको आकलन छ । उहाँको इतिहास र सुरक्षासम्बन्धी दृष्टिकोण विवादास्पद रहँदै आएको छ किनभने उहाँले जापानको युद्धकालीन आक्रमण र अत्याचार स्वीकार गर्न अस्वीकार गर्नुभएको छ । यसले चीन र दक्षिण कोरियासँगको सम्बन्धलाई जटिल बनाउन सक्ने अनुमान छ । यद्यपि उहाँले चीनसँग स्थिर सम्बन्ध कायम राख्ने र दक्षिण कोरियासँग सुरक्षा साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता गर्नुभएको छ ।
पार्टीभित्र एक कट्टर रूढिवादी नेतृको परिचय बनाएकी उहाँले पूर्वकृषिमन्त्री सिन्जिरो कोइजुमीलाई पराजित गर्दै अध्यक्ष पद जित्नुभएको हो । उहाँले तत्कालीन प्रधानमन्त्री सिगेरु इसिबाको स्थान लिनुभयो । सिगेरुले हालैको चुनावी हारपछि राजीनामा दिनुभएको थियो । उहाँले भन्नुभयो, “मैले एलडिपीका लागि इतिहास बनाएकी छु । यो उत्सवको बेला होइन बरु चुनौतीहरूको पहाड छ, जसलाई तपाईंहरूको सहयोगमा पार गर्नु पर्छ ।” उहाँले पार्टीलाई जनमुखी बनाउँदै जनताको विश्वास पुनः प्राप्त गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । “हामीले जनताको चिन्तालाई आशामा रूपान्तरण गर्नु पर्छ नभए पार्टीको पुनःनिर्माण असम्भव छ,” उहाँले भन्नुभयो ।
साने क्वाड र इन्डो–प्यासिफिक सहयोगलाई सुदृढ पार्ने कुरामा जोड दिँदै आउनुभएको छ । उहाँको प्रमुख आर्थिक दृष्टिकोण भनेको बढी खर्च गरेर आर्थिक वृद्धि हासिल गर्नु हो । यसका साथै मुद्रास्फीति नियन्त्रण गर्न स्थानीय सरकारलाई सहयोग रकम दिने योजना पनि उहाँले अगाडि सार्नु भएको छ । लगानीकर्ता भने सानेको जितलाई लिएर चिन्तित छन् किनभने उहाँको नीतिले खर्च बढाएर वृद्धि प्रोत्साहन गर्ने र मुद्रास्फीति सामना गर्न स्थानीय सरकारलाई रकम बाँड्ने सम्भावना छ । उहाँका आलोचकले उहाँ प्रधानमन्त्री बनेपछि बैङ्क अफ जापानले ब्याजदर बढाउने प्रयासमा अवरोध आउन सक्ने बताएका छन् । उहाँले हालैको ट्रम्प प्रशासनसँगको व्यापार सम्झौता (ट्रेड डिल) को विरोध गर्नुभएको छ । सो सम्झौताबारे पुनः वार्ता गरिनुपर्ने उहाँको धारणा छ । जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको उक्त सम्झौतालाई उहाँले स्वीकार गर्नुभएको छैन । उहाँका सामाजिक अडानहरू रूढिवादी छन् । उहाँ समलैङ्गिक विवाह विरोधी हुनुहुन्छ । उहाँको तर्क छ कि यसले पारिवारिक मूल्यहरू कमजोर बनाउँछ । उहाँ आप्रवासन नियमहरू कडा बनाउने पक्षमा हुनुहुन्छ । गैरकानुनी रूपमा देश प्रवेश गर्नेहरूलाई सजाय दिनुपर्नेमा उहाँको जोड छ । उहाँ कट्टरपन्थी स्वभावकी हुनुहुन्छ । सन् १८६९ मा टोकियोमा स्थापित यासुकुनी मन्दिर जापानको युद्धमा मारिएका सैनिकहरूको आत्मालाई श्रद्धाञ्जली दिनका लागि बनाइएको हो । उहाँ बारम्बार सो मन्दिर जानुहुन्छ ।
जापानमा एलडिपीका तत्कालीन नेता तथा प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि नेतृत्व तहमा फेरबदल आएको हो । आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुनुहुन्थ्यो । उहाँले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्री बन्नुभयो । स्वास्थ्यको कारण देखाउँदै उहाँले सन् २०२० मा पदत्याग गर्नुभएको थियो । योसिहिदे सुगा उहाँको उत्तराधिकारी बन्नुभयो । त्यसपछि फुमिओ किसिदा जापानको प्रधानमन्त्री बन्नुभयो ।
जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आफ्नो कट्टर नीति तथा ‘आबेनोमिक्स’ सङ्ज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहनुभयो । आबे सबैभन्दा पहिला सन् १९९३ मा सांसद निर्वाचित हुनुभएको थियो । सन् २००५ मा उहाँलाई मन्त्रीपरिषद्मा सहभागी गराइएको थियो । त्यस बेला प्रधानमन्त्री जुनिचिरो कोइजुमीले मन्त्रीपरिषद्को प्रमुख सचिवको शक्तिशाली पदमा उहाँलाई नियुक्त गर्नुभएको थियो । सन् २००६ मा उहाँ जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नुभयो ।
सन् २०१२ मा आफूले औषधीका माध्यमबाट रोगलाई पराजित गरेको भन्दै उहाँ फेरि सत्तामा फर्किनुभयो । सन् २०१४ र २०१७ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँ जापानमा सबैभन्दा बढी शासन गर्ने प्रधानमन्त्री बन्न बन्नुभयो । उहाँको लोकप्रियता तलमाथि भइरहे पनि दलभित्रको आफ्नो प्रभावका कारणले उहाँले प्रधानमन्त्रीका रूपमा खासै चुनौती भोग्नु परेन । उहाँको दलले नियम संशोधन गरेर उहाँलाई तेस्रो कार्यकाल पनि पार्टीको नेता बन्न बाटो खोलिदिएको थियो । आबे रक्षा र परराष्ट्र मामिलासम्बन्धी आफ्ना कट्टर नीतिहरूका कारण चर्चित हुनुभयो । उहाँले लामो समयदेखि युद्धपछिको जापानले परिकल्पना गरेको शान्तिप्रिय संविधानलाई संशोधन गर्ने प्रयास गर्नुभयो । उहाँको राष्ट्रवादी धारणाका कारण बारम्बार चीन र कोरियासँग तनाव उत्पन्न भएको थियो ।
खास गरी आक्रामक रक्षा र विदेश नीतिका कारण आबे पटक पटक विवादमा पर्नुभयो । उहाँको राष्ट्रवादी विचारले अमेरिका र भारतसँगको निकटता र चीनसँग तनाव बढाएको थियो । दोस्रो विश्वयुद्धपछि जापान सैनिक गठबन्धनमा सहभागी नहुने नीतिमा थियो तर सन् २०१५ मा आबेले सहयोगी मुलुकको रक्षाका लागि समेत जापानी सेना तैनाथ गर्न सक्ने नीति अघि सार्नुभयो । छिमेकी मुलुकबाट मात्र होइन जापानभित्रै पनि यसको आलोचना भएको थियो । विरोधकाबिच पनि आबेले सैन्यीकरणसम्बन्धी विधेयक जापानी संसद्बाट पारित गराउनुभयो । सन् २०१५ मा उहाँ सामूहिक प्रतिरक्षाको अधिकारका पक्षमा उभिनुभयो । त्यसले आफ्नो र आक्रमणमा परेका आफ्ना साझेदारहरूको प्रतिरक्षाका लागि जापानी सेनालाई खटाउने बाटो खोलिदिएको थियो । जापानका छिमेकीहरू र देशभित्रकै नागरिकहरूको विरोधका माझ जापानको संसद्ले उक्त विवादास्पद परिवर्तन स्वीकार गरेको थियो ।
मौद्रिक सहजीकरण, वित्तीय उत्थान र संरचनागत सुधारमा आधारित उहाँको आर्थिक नीति ‘आबेनोमिक्स’ का नामले चिनिन्छ । यी कदमहरूले उहाँको पहिलो कार्यकालमा आर्थिक वृद्धि निम्त्यायो तर दोस्रो कार्यकालमा देखिएका सुस्तताले आबेनोमिक्सको प्रभावकारिताबारे प्रश्न उठ्यो । सन् २०२० को वसन्तयाममा जापानमा सन् २०१५ यता पहिलो पटक आर्थिक मन्दी देखा परेपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उहाँको प्रयासले पनि चुनौतीको सामना गरेको थियो । कोरोना भाइरस महामारीको व्यवस्थापनलाई लिएर उहाँका चालेका कदमहरूले पनि उहाँको लोकप्रियतालाई अझ कमजोर बनायो । उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । एक अनुभवी राजनीतिज्ञ र लामो समय मन्त्रीपरिषद् सदस्य रहेका योसिहिदे सुगा आबेको उत्तराधिकारी बन्नुभयो । योसिहिदेपछि फुमियो किसिदा, फुमियोपछि सिगेरु इसिवा प्रधानमन्त्री बन्नुभयो । सिगेरुको कार्यकाल सोचेजस्तो सफल भएन । अहिले पहिलो महिला नेतृ साने कार्यकारी प्रमुख बन्नुभएको छ । उहाँलाई पनि काम गर्न सहज भने छैन । थुप्रै चुनौतीबिच पनि उहाँको कार्यकाल सफल होस्, यही कामना ।