• २० वैशाख २०८१, बिहिबार

नगरप्रमुखसँग काठमाडौँवासीका अपेक्षा

blog

स्थानीय तह निर्वाचनअन्तर्गत देशको राजधानीसमेत रहेको काठमाडौँ महानगर प्रमुखमा सोचेभन्दा फरक परिणाम आएको छ । विगतको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरूले जित्दै आएको यस महानगरमा यस पटकको नतिजा सधैँको भन्दा फरक आयो । लामो समयसम्म राजनीतिक दलका उम्मेदवारलाई मत दिँदै आएका काठमाडौँवासीले यस पटक भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)लाई काठमाडौँ महानगरको प्रमुखमा भारी मतले विजयी गराए । 

काठमाडौँ मात्र नभई देशका केही प्रमुख सहरमा पनि स्वतन्त्र उम्मेदवारले बाजी मारे । यसरी बालेनसहित स्वतन्त्र उम्मेदवार विजयी हुनुमा वर्षौंदेखि कायम रहँदै आएको राजनीतिक दबदबा र राजनीतिक दलका प्रतिनिधिबाट आजित भएका जनताको बढ्दो वितृष्णा नै रहेको राजनीतिक अनुमान नै गरिएको छ । वर्षौंदेखि एकछत्र राजनीतिक दलले जित्ने, चुनाव जितिसकेपछि जनताका लागि गरेका वाचा बिर्सने र आफ्नै पार्टीको वफादार कार्यकर्ता बनिदिँदा काठमाडौँवासी वाक्कदिक्क बनेका थिए । 

फरक पृष्ठभूमिबाट राजनीतिमा छलाङ मारेका बालेनबाट काठमाडौँवासीले तत्कालका लागि धेरै अपेक्षा नगरे तापनि थोरै भए पनि राजधानी काठमाडौँ सहरले केही हदसम्म मुहार फेरियोस् भन्ने चाहना राखेका छन् । राजधानीको प्रमुख समस्याका रूपमा रहेको अव्यवस्थित सहरलाई पूर्णतया सुधार गर्न नसके तापनि थोरै भए पनि सुधार गर्दै भविष्यमा सुधारका लागि योजना बनाउनु अहिलेको निर्वाचित जनप्रतिनिधिको मुख्य चुनौतीका रूपमा रहेको छ ।

काठमाडौँमा दिनहुँजसो हैरानी खेप्नुपर्ने ट्राफिक जामलाई व्यवस्थापन गर्नका लागि सडकको अवस्था सुधार गर्दै विद्युतीय गाडी प्रयोगका ल्याउन सकिनेछ । राजधानीकै मुख्य सडकमा देखिने हिलाम्य र धुलाम्य सडकलाई पुनर्निर्माण गर्दै सुधार गर्नका लागि खानेपानीका पाइपहरूको व्यवस्थापन गर्दै ढलको उचित व्यवस्थापन गर्नुपर्नेछ । ढलको उचित व्यवस्थापनका लागि कुनै कदम नचाल्दासम्म सडकको अवस्था सुधारको सम्भावना देखिँदैन । यस्तै वर्षौंदेखि काठमाडौँवासी स्वच्छ खानेपानीको अभावबाट गुज्रिरहेका छन्, त्यसैले सहज तवरबाट खानेपानीको व्यवस्थापन गर्न सकेमा पनि काठमाडौँवासीका लागि अर्को महìवपूर्ण उपलब्धि हुनेछ ।

काठमाडौँमा सेवाग्राहीको भीडभाड हुने मातहतका कार्यालयमा हुने गरेको ढिलासुस्ती, कर्मचारीको व्यवहार र भ्रष्टाचारलाई मुक्त गर्नका लागि सबै कार्यालयमा जनशक्ति बढाउनुका साथै दुई सिफ्टमा कार्यालय सञ्चालन गरी कर्मचारीको व्यवहारमा सुधार ल्याउँदै सम्पूर्ण कार्यालयमा अनलाइन प्रणालीबाट भ्रष्टाचारमुक्त प्रशासनका लागि सीसीटीभीबाट विशेष निगरानीको व्यवस्था गर्न सकिन्छ ।

काठमाडौँको प्रमुख समस्याका रूपमा रहेको अव्यस्थित फुटपाथ व्यापारलाई न्यूनीकरण गर्न खुला स्थानमा मात्र व्यापार, व्यवसायको व्यवस्थापन गर्नुपर्ने अत्यावश्यक देखिन्छ । महानगरमा मूल समस्याका रूपमा देखिएको पार्किङको समस्या व्यवस्थापन, काठमाडौँमा रहेका नदीनाला र पवित्र स्थलको सरसफाइसहित स्वच्छ र हराभरा काठमाडौँ बन्ने अपेक्षा नगरवासीको छ । 

काठमाडौँमा रहेका धेरै सांस्कृतिक संरचनासहित पर्यटकीय स्थलमा विदेशी पर्यटकको मोह बढ्दो छ तर पर्यटकलाई घुमफिर गर्नका लागि वातावरण नै भएको पाइँदैन । पर्यटक रमाउने र ऐतिहासिक पशुपति, स्वयम्भू, हनुमानढोका र दरबार डबलीलगायतका महत्त्वपूर्ण ठाउँका बारेमा पर्यटकलाई सम्पूर्ण जानकारी गराउने उद्देश्यले विद्युतीय सूचना बोर्ड स्थापना गर्दा पर्यटकलाई ऐतिहासिक विषयमा अध्ययन र जानकारी पाउन सहज हुन्छ ।

महानगरका दैनिक भीडभाड हुने स्थानमा समेत सार्वजनिक शौचालयको व्यवस्था नहुँदा काठमाडौँवासीले मात्र नभई काठमाडौँ आउनेहरूले हैरानी खेप्दै सपिङ मल वा कफी सपमा दौडिनुपर्ने बाध्यता रहेको छ, त्यसको व्यवस्थापन पनि बालेनले गर्नुपर्नेछ । काठमाडौँ महानगरको सोमबारको बैठकले सार्वजनिक शौचालयका बारेमा गरेको नीतिगत निर्णयले यस क्षेत्रमा केही हदसम्म भए पनि समाधान गर्ने आशा गर्न सकिन्छ ।

जताततै अव्यवस्थित तरिकाबाट महानगरलाई नै कुरूप बनाउने गरी टाँगिएका होडिङ बोर्ड र विज्ञापन बोर्डहरूका कारण काठमाडौँ सहर अव्यवस्थित छ । एक हिसाबले सहरको सौन्दर्य नै यसले बिगारेको छ । यस्तो अव्यवस्थित विज्ञापन र होडिङ बोर्डका लागि निश्चित स्थान तोक्नुका साथै सडकका वरपर वृक्षरोपण गर्दै हराभरा र सुन्दर सहर निर्माण गर्दै सहर सौन्दर्य बढाउनुपर्ने अपेक्षा काठमाडौँवासीको छ ।

बौद्ध र हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रसमेत रहेको यस महानगरमा हजारौँ प्रकृतिका चाडपर्व, जातजाति, रीतिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको छ भने नेवार समुदायको कला र संस्कृतिको खानीकै रूपमा समेत संस्कृति संरक्षण गर्नु र महानगरमा भएका पौराणिक र सांस्कृतिक क्षेत्रहरूको समेत संरक्षण गर्न सकिन्छ । 

युवामा क्रेज रहेको तथा युवाकै सक्रियताका कारण बालेनले महानगरप्रमुखमा चुनाव जितेकाले युवालाई रोजगार दिलाउनुका साथै युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नु अर्को मुख्य चुनौती रहेको छ । यसबाहेक महानगरभित्रका विद्यालयको भौतिक संरचना सुधार गर्दै गुणस्तरीय र व्यावहारिक शिक्षा, महानगरभित्रका जनतालाई सुलभ स्वास्थ्य उपचार, व्यवस्थित संरचना निर्माण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा संवद्र्धन, अत्याधुनिक सपिङ कम्प्लेस निर्माणलगायतका थुप्रै कार्य बालेनले प्राथमिकता राख्नुपर्ने देखिन्छ । महानगर प्रमुखमा बालेन विजयी भए तापनि ३२ वटा वडा रहेको महानगरमा राजनीतिक दलका प्रतिनिधिहरू नै विजयी भएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएर नगरप्रमुखमा निर्वाचित भएका बालेनको कुनै राजनीतिक दलसितको संलग्नता छैन, जब कि नगरपालिकामा अन्य राजनीतिक सहकर्मीहरू सबै दलमा नै आबद्ध छन्, राजनीतिक दलकै प्रतिनिधित्व गर्छन् । यो अवस्थामा सबैसित सहकार्य गरेर मात्र अघि बढ्नुपर्ने अवस्था बालेनका लागि आउने देखिन्छ । 

जसका कारण बालेन राजनीतिक दलका प्रतिनिधिको घेराबाट मुक्त भने रहने छैनन् । यस्तो अवस्थामा उनले चाहे र सोचेजस्ता सबै कार्य सहज रूपमा गर्न सक्ने भने देखिन्न । यसका साथै केन्द्रीय सरकारको छायाँमा समेत यो महानगर पर्नेछ । काठमाडौँमा रहेका जनताको मन जितेर मत पाएका बालेनले आगामी पाँच वर्षभित्र काठमाडौँवासीलाई थोरै भए पनि परिवर्तन गर्न सकेमा बालेनप्रतिको मोह अझ बढ्नेछ ।

इन्जिनियरसमेत रहेका बालेनका चुनावी एजेन्डा रुचाएका काठमाडौँवासीले पाँच वर्षपछि बालेनलाई कतिको रुचाउलान्, त्यो भने हेर्न बाँकी नै छ । राजनीतिमा खासै अनुभव नभएका र प्राविधिक क्षेत्रका विद्यार्थी बालेनलाई राजनीतिमा सफल हुने कुरा भने निकै नै चुनौतीपूर्ण देखिन्छ । 

Author

गोविन्द मरासिनी