• २० वैशाख २०८१, बिहिबार

गाउँपालिकाको नमुना भवन

blog

सिम्ता शब्दको डिजाइनमा निर्माण गरिएको सुर्खेतको सिम्ता गाउँपालिका भवन ।तस्बिर सौजन्य : कविन्द्रकुमार केसी

ललित बसेल

सुर्खेत, जेठ १८ गते । २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका  छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ । 

गाउँपालिकाका निवर्तमान अध्यक्ष कविन्द्रकुमार केसीको कार्यकालमा आर्थिक वर्ष २०७६/७७ मा निर्माण सुरु भई करिब एक वर्षको अवधिमै सो भवन निर्माण भएको हो । २०७८ असोजदेखि पालिका कार्यालय सोही भवनबाट सञ्चालनमा आएको निवर्तमान अध्यक्ष केसीले बताउनुभयो । भवनमा सूचना प्रविधि कक्ष, बैठक हलसहित ३३ वटा कोठा छन् । सबै पूर्वाधार अपाङ्गतामैत्री छ । भवनको पर्खालमा पालिकाका नौवटै वडाको चित्र र महìवपूर्ण सूचना दिइएको छ । 

२०७४ सालमा निर्वाचित भएर आएपछि पालिकाले स्वास्थ्य चौकीको भवनबाट काम सञ्चालन गरेको थियो । शिक्षालगायत अन्य शाखा भने भाडामा सञ्चालन गरिएको स्मरण गर्दै निवर्तमान अध्यक्ष केसीले आफ्नै भवनबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने उद्देश्य राखेपछि स्रोतको खोजी गरी भवन निर्माण गरिएको जानकारी दिनुभयो । पछि समपूरक बजेटबाट भवन निर्माण गरिएको हो । दुई करोड ८५ लाख १९ हजार (भ्याटबाहेक)को लागतमा लक्ष्मण कन्स्ट्रक्सन सुर्खेतले सो भवन निर्माण गरेको हो ।

सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ । 

करिब चार वर्षसम्म स्वास्थ्य चौकीको भवनबाट सेवा सञ्चालन गरेको र पछि पालिका केन्द्रको टुङ्गो सो गाउँपालिका वडा नं. ६ राकममा लागेपछि भवन निर्माणको थालनी गरिएको थियो । करिब सय रोपनी क्षेत्रफलमा पालिका भवन छ । 

सिम्ता शब्दको आकारमा भवनको डिजाइन गराउन करिब चार महिना लागेको निवर्तमान अध्यक्ष केसीले बताउनुभयो । सुर्खेतस्थित मुनलाइट इन्जिनियरिङ कन्सल्टेन्सीले केसीको योजनाअनुसार भवनको डिजाइन बनाएको हो । 

सिम्ता शब्दको भवनमा विभिन्न चार/पाँचवटा डिजाइन तयार गरिएको थियो । ढलान भवन, छाने भवनलगायतका डिजाइनको प्रयास गरिए पनि अन्त्यमा अहिले निर्माण गरिएको डिजाइन तय गरिएको निवर्तमान अध्यक्ष केसीले बताउनुभयो । 

पालिकाको भवन अन्य भवनजस्तै नबनाएर शब्द शैलीको किन बनाउनुभएको हो ? भन्ने प्रश्नमा केसीले पहिलो कार्यकाल निर्माण गर्दा पछि आउने सबैले सम्झना गर्ने हुँदा यस्तो बनाएको जनाउनुभयो । उहाँले भन्नुभयो, “केही नयाँ गरौँ, पछि आउनेले पनि यस्तो भवन फलानोले बनाएको हो भनेर सम्झना  गरिराखुन् ।” 

सिम्ता गाउँपालिकामा नौवटा वडा छन् । सबै वडामा अहिले सडक पहुँच पुगेको छ । १३ वटा स्वास्थ्य केन्द्र छन् । विद्यालय थपिएका छन् । आफू निर्वाचित हुनुअघि ५९२ घरमा विद्युत् पुगेकोमा अहिले पाँच हजार ५९५ घरमा विद्युत् पुगेको दाबी उहाँले गर्नुभयो । आफ्नो पाँच वर्षे कार्यकालमा केही राम्रो गर्न सकेकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ । विशेषगरी पालिकाको भवन डिजाइनले सबै क्षेत्रबाट राम्रो प्रतिक्रिया पाएको र केही नयाँ गर्न उत्प्रेरणा मिलेको निवर्तमान अध्यक्ष केसीको भनाइ छ । 

सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐनबहादुर चन्दले देशकै नमुनायोग्य भवनबाट सेवा प्रवाह गर्न पाउनुले आफूलाई गौरव लागेको बताउनुभयो । अघिल्लो अध्यक्षले नमुनायोग्य काम गरेकोमा धन्यवाद दिँदै उहाँले अब पालिकाको थप भवनभन्दा गरिब जनताका घर बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्नुभयो ।