• २२ फागुन २०८१, बिहिबार

अन्तर्राष्ट्रिय गतिविधि

रुस–युक्रेन युद्ध अन्त्य हुने सङ्केत

blog

विगत तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना बढेको छ । अमेरिकाको मुख्य सहयोगमा जारी यो युद्ध अमेरिकाकै पहलमा अन्त्य हुन लागेको हो । अमेरिकाले यस युद्धमा युक्रेनलाई ३५० अर्ब डलर बराबरको आर्थिक सहयोग र सैन्य उपकरण प्रदान गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुक रुस र युक्रेनलाई मान्य हुने सहमति गरी युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिँदै अब युक्रेनलाई युद्धमा सघाउन नसकिने बताउनुभएको छ । उहाँले आफूसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताउनुभयो । 

राष्ट्रपति ट्रम्पको प्रयासमा युक्रेनलाई निम्तो नगरीकनै साउदी अरबमा अमेरिका र रुसबिच शान्तिवार्ता भएको छ । “मलाई लाग्छ, मसँग यो युद्ध अन्त्य गर्ने शक्ति छ,” ट्रम्पले भन्नुभयो, “युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा म बढी विश्वस्त छु । दुवै देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबिच युक्रेन युद्ध अन्त्यका गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताउनुभयो ।

वार्तामा रुसी पक्षबाट लाभरोभसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी हुनुभयो भने अमेरिकी पक्षबाट विदेशमन्त्री मार्को रुबियोले नेतृत्वमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफको सहभागिता थियो । त्यस्तै वार्तामा आयोजक साउदी अरबकातर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवान सहभागी हुनुभयो । 

उता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने आफ्नो देशलाई वार्तामा निमन्त्रणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । अमेरिका र रुसबिचको वार्तापछि राष्ट्रपति जेलेन्स्कीले गर्ने भनिएको साउदी अरबको भ्रमण स्थगित भएको छ । उहाँले बारम्बार युक्रेनको संलग्नताबिनाको वार्तालाई मान्यता नदिने बताउँदै आउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताउनुभयो । उहाँले रुस युद्ध अन्त्य गर्ने गम्भीर प्रक्रिया सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । रुबियोले यो वार्ता ‘लामो र कठिन यात्राको पहिलो चरण’ भएको बताउनुभयो ।

युरोपेली देशले पनि युक्रेनको सहभागिताबिनाको वार्तालाई मान्यता नदिने बताएका छन् । अमेरिका र वार्ता सुरु भएसँगै फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटाली, स्पेन र डेनमार्कलगायतका युरोपेली देश युक्रेनको प्रतिरक्षामा एकजुट भएका छन् । युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ ।  रियाद वार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा नेटो सेनालाई कुनै पनि शान्ति सम्झौताको हिस्साको रूपमा स्वीकार नगर्ने चेतावनी दिनुभयो । रुसले युरोपेली सङ्घमा आबद्ध हुने विषय रुस–युक्रेनको निर्णय भएको र त्यसमा आफ्नो कुनै लेनदेन नभएको प्रस्ट पार्नुभयो तर युक्रेन सुरक्षा, रक्षा वा सैन्य गठबन्धनको विषयमा भने रुसले कुनै सम्झौता नगर्ने बताउनुभयो ।

रुसले सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेन आक्रमण सुरु गरेसँगै युक्रेनसँग युद्ध सुरु भएको हो । ७२ घण्टाभित्र किभ कब्जा गर्ने रणनीतिसहित सुरु युद्ध एक महिना, दुई महिना भन्दाभन्दै तीन वर्ष लामो भइसकेको छ । यस युद्धका क्रमममा दुवै देशले ठुलो क्षति बेहोरेका छन् । यस अवधिमा रुसले युक्रेनको २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ ।

रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गइसकेको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । त्यहाँ एक करोड ४६ लाख मानिसलाई मानवीय सहायता आवश्यक रहेको छ ।

रुसी आक्रमणयता युक्रेनले चार खर्ब सात अर्ब अमेरिकी डलर बराबरको अनुदान प्राप्त गरिसकेको छ । योमध्ये ३५० अर्ब डलर बराबरको अनुदान अमेरिकाले प्रदान गरेको हो तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद समालेसँगै भने युक्रेनले प्राप्त गरिरहेको सैन्यलगायतको सहयोग रोकिएको छ । युद्ध सुरु भएयता अमेरिकाले पहिलो पटक रुसको पक्षमा संयुक्त राष्ट्रसङ्घको एक प्रस्तावमा मतदान गरेको छ । उसले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग बन्द गरेको छ ।  ट्रम्पले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताउनुभयो । अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राख्नुभयो ।

ट्रम्प प्रशासनले राखेका यो सर्त सुरुमा युक्रेनले अस्वीकार गरे पनि अहिले आएर मान्न तयार भएकोमा फेरि समस्या आएको छ । अमेरिकाले त्यहाँ खनिज पदार्थका साथै अन्य प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजेको छ । सुरुमा जेलेन्स्कीले यो सर्त अस्वीकार गरेपछि ट्रम्पले आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गर्ने धम्की दिनुभयो । अन्ततः जेलेन्स्की खनिज सम्झौता गर्न सहमत हुनुभयो । त्यसका लागि उहाँ अमेरिका जानुभयो तर अमेरिकामा ट्रम्प र जेलेन्स्की वार्ता विफल भयो । उहाँहरूबिच चर्काचर्की भयो । जसले गर्दा खनिज सम्झौता हुन सकेन । युक्रेनले अमेरिकाले मागेको जति खनिज दिए अमेरिकालाई पाँच सय अर्ब डलर प्राप्त हुने छ । 

ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रेन र बेलायती प्रधानमन्त्री किएर स्टार्मरले केही पनि नगरेकाकाले आफूले पहल गर्नु परेको बताउनुभएको छ । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेदेखि नै बेलायत, फ्रान्ससहित अन्य सहयोगी देश युक्रेनमा हतियार र अन्य सहयोग पठाउँदै आए पनि युद्ध रोक्नेतर्फ चासो नदेखाएको दाबी उहाँको छ । 

उहाँले युक्रेनलाई युद्धमा सघाइरहेका युरोपेलीले फाइदा लुटेको तर युरोपेलीभन्दा दुई सय अर्ब डलर बढी सहायता गरेको अमेरिकाले अहिलेसम्म केही नपाएको र आगामी दिनमा पनि केही नपाउने निश्चित रहेको दाबी गर्नुभयो ।

उता रुस–युक्रेन युद्ध तीन वर्ष पुगेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि आफू जुनसुकै कदम उठाउन तयार रहेको किभमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “यदि आफ्नो राजीनामाले शान्ति ल्याउँछ वा युक्रेनलाई नेटो सदस्यता दिलाउँछ भने म पद त्याग्न तयार छु ।” उहाँले भन्नुभयो, “ट्रम्प सधैँका लागि रहनु हुँदैन तर रसियाबाट हुने खतरा स्थायी रहन्छ । हामीलाई यो महत्वपूर्ण छैन कि ट्रम्प सत्तामा रहँदासम्म पुटिनले हमला गर्नुहुन्न । हामीलाई यस्तो स्थायी सुरक्षा ग्यारेन्टी चाहिन्छ, जुन ट्रम्प र पुटिन दुवैको सत्ता सकिएपछि पनि कायम रहोस् ।” जेलेन्स्कीले ट्रम्पलाई स्पष्ट सन्देश दिँदै भन्नुभयो, “हामीले अमेरिकाबाट पाएको पाँच सय अर्ब डलर सहायता ऋण होइन । म त एक सय अर्ब डलरलाई पनि ऋण मान्दिनँ । अमेरिकाले हामीलाई सहायता दिएको हो, जुन ऋण होइन भन्नेमा बाइडेन र म सहमत थियौँ ।”

 ट्रम्प उहाँको कुरामा सहमत हुनुहुन्न । ट्रुथ सोसल नामक आफ्नो सामाजिक सञ्जालमा ट्रम्पले जेलेन्स्कीलाई ‘एक सामान्य कमेडियन र बिना चुनावको तानाशाह’ भएको आरोप लगाउनुभयो । युक्रेनमा जेलेन्स्कीको लोकप्रियता घटेर मात्र चार प्रतिशतमा पुगेको छ । उहाँको कार्यकाल पनि सकिएको छ । रुससँग युद्ध सुरु भएसँगै सैनिक कानुन लगाएर उहाँले शासन गर्दै आउनुभएको छ ।

युद्धको तीन वर्ष पूरा हुनुभन्दा ठिक एक दिनअघि रसियाले युक्रेनमा एकैसाथ २६७ ड्रोन प्रहार गरेको छ । युक्रेनी वायुसेना कमान्डका प्रवक्ता युरी इग्नातका अनुसार रसियाले यति ठुलो सङ्ख्यामा ड्रोन आक्रमण यो पहिलो पटक हो । युक्रेनी अधिकारीहरूका अनुसार खार्किभ, पोल्टावा, सुमी, किभलगायत कम्तीमा १३ वटा सहरमा ड्रोन आक्रमण भएको छ । युक्रेनी सेनाले रसियाले तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको दाबी गरेको छ ।

यस आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विज्ञप्ति जारी गर्दै ‘युद्ध जारी’ रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई यो क्षेत्रमा शान्ति स्थापनार्थ सहयोग गर्न आग्रह गर्नुभयो । जेलेन्स्कीका अनुसार गएको सातामा मात्र रसियाले युक्रेनमा एक हजार १५० ड्रोन, एक हजार चार सय वटा बम र ३५ मिसाइल प्रहार गरिसकेको छ । यो आक्रमणमा केही मानिसको ज्यान गएको छ भने धेरै भवन क्षतिग्रस्त भएका छन् । रसियाको आक्रमणको जवाफमा युक्रेनले पनि रसियामाथि हमला गरेको छ । रसियाको रक्षा मन्त्रालयका अनुसार युक्रेनले २० ड्रोनमार्फत आक्रमण गरेको तर तिनीहरूलाई सबैलाई नष्ट गरिएको छ ।

रुस–युक्रेन युद्ध जारी रहँदा यसले विश्व अर्थतन्त्रलाई नै खलबलाइदिएको छ । यो युद्धको असर संसारभरि देखिएको छ । अमेरिका र युरोपले युक्रेनलाई नसघाएको भए यो युद्ध एक दुई सातामै अन्त्य हुने थियो तर उनीहरूको सहयोगले युद्ध लम्बिएर तीन वर्ष पूरा हुँदा पनि अन्त्य भएको छैन । मुख्य सहयोगी अमेरिकाले सहयोग बन्द गर्नेवित्तिकै युक्रेन रुससँग लड्न सक्दैन । त्यसैले सहयोग रोकेर अमेरिकाले युक्रेनलाई सहभागी नगराइकन रुससँग शान्तिवार्ता गरेको हो । यो वार्तामा युद्ध अन्त्य गर्ने सहमति भएको छ । अब थप वार्ता गरी युक्रेनलाई पनि मनाएर युद्धविराम र शान्तिवार्ताद्वारा विधिवत् रूपमा युद्ध अन्त्य गर्नु आजको प्रमुख आवश्यकता हो ।

यो युद्धको प्रमुख कारण भनेकै युक्रेन छिमेकी रुससँग टाढिएर युरोपेली सङ्घ (इयु) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता लिन खोज्नु हो । रुसले पूर्वी युरोपमा नेटो विस्तार भए आफ्नो सुरक्षा र हित खतरामा पर्छ भन्दै आएको छ । उसले कुनै पनि हालतमा युक्रेनलाई इयु र नेटोको सदस्य बन्न दिँदैन । यो कुरा युरोपेली र अमेरिकी नेतालाई राम्ररी थाहा छ । थाहा हुँदाहुँदै पनि बुझ पचाएर उनीहरूले युक्रेनलाई साथ दिँदै युद्ध लम्ब्याएका हुन् । ट्रम्पकै पहलमा यो युद्ध रोकिने सङ्केत देखिएको छ ।