सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशको सङ्गठन ओपेक स्थापना गरे । यसको १० वर्षपछि अर्थात् सन् १९७० मा इराक, कुवेत र साउदी अरबसहित केही देशले तेल उद्योगलाई राष्ट्रियकरण गरी ठुला विदेशी कम्पनीलाई हटाएर पेट्रोलको मूल्य बढाए । त्यसपछि विश्वमा पेट्रोलको मूल्य घटबढ हुन थाल्यो र विश्व अर्थतन्त्र नै धेरै प्रभावित हुन थाल्यो ।
ओपेक राष्ट्रहरूले आफ्नो पेट्रोल उत्पादन नियन्त्रणमा लिएपछि विश्व बजारमा यिनीहरूको प्रभाव निकै नै बढ्न थाल्यो । किनभने यिनीहरूले विश्वको आधारभन्दा बढी पेट्रोल उत्पादन आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । फलतः यिनीहरूले विश्वको माग अनुरूप अधिकतम फाइदा उठाउन सफल भए । सन् १९७३ मा इजरायल र सिरियाबिच युद्ध भयो । जसमा संयुक्त राज्य अमेरिकाले सिरियालाई समर्थन गर्यो । त्यसपछि ओपेक राष्ट्रहरूले एकातिर अमेरिकालाई पेट्रोल निर्यात गर्न प्रतिबन्ध लगायो भने अर्कातिर विश्वभरि नै पेट्रोलको मूल्य निकै नै बढ्यो र नेपाल जस्तो अति कम विकसित राष्ट्रले धेरै नै दुःख भोग्नु पर्यो ।
विगतमा इरान र इराकबिचको युद्धमा पेट्रोलको वितरण न्यायपूर्ण हुन सकेन भने वर्तमान समयमा रुसको पेट्रोल व्यापारमा प्रतिबन्ध लागेकाले विश्वको पेट्रोल व्यापारमा नकारात्मक प्रभाव परेको छ । साधारणतः युद्धका बेला पेट्रोलको मूल्य बढ्छ । जसबाट नेपाल जस्ता अति कम विकसित देश भएको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । २० औँ शताब्दीमा युद्धको स्वरूप बदलिएकाले पेट्रोलको माग बढेको छ । जसले गर्दा विश्वभर पेट्रोलको वितरण असहज भएको छ ।
वर्तमान समयमा विश्वमा पेट्रोलियम पदार्थको खपत दिनप्रतिदिन बढिरहेको छ । हाल यहाँ प्रतिदिन १० करोड ब्यारेल तेल खपत हुन्छ । जुन ७५ वर्षअघिको तुलनामा १० गुणा बढी छ । फलतः पेट्रोलजन्य राजनीतीकरणका अभ्यास बढिरहेका छन् । वस्तुतः पेट्रोलजन्य उद्योगको प्रतिस्पर्धात्मक व्यापारलगायत ठुला शक्तिराष्ट्रले पेट्रोलका खातिर आफ्नो प्रभुत्व कायम राख्ने एक किसिमको होडबाजी विकास गर्दै आएका छन् । जसका कारण विश्वका शक्तिराष्ट्रले पेट्रोलियम पदार्थको घनचक्करमा आर्थिक नाकाबन्दीलगायत युद्ध पनि निम्त्याएको तथ्य बिर्सन सकिँदैन ।
आजसम्म गरिएको सर्वेक्षणका आधारमा नेपालमा सम्भावित पेट्रोलियम पदार्थको उत्खनन तथा प्रशोधन गर्दा लाग्ने लगानीको अनुपातमा उक्त पदार्थको उत्पादन न्यून हुने आकलन गरिएकाले आजसम्म पनि उपभोग तथा बिक्रीका लागि परिचालन गर्न सकिएको छैन । यही कारणले यहाँ आवश्यक पेट्रोलियम पदार्थको परिपूर्तिका लागि अन्य देशमाथि सदैव निर्भर हुनु परेकाले विश्वमा हुने गरेको पेट्रोलियम पदार्थको राजनीतीकरणबाट नेपाल आजसम्म पनि अलग रहन सकेको छैन । यहाँ विद्यमान उक्त अवस्था अन्त्य गर्न पेट्रोलियम पदार्थको विकल्प पहिचान गरी प्रयोग गर्न आवश्यक छ । विशेषतः यहाँ पेट्रोलियम पदार्थको चार विकल्प प्रयोग गर्न सकिन्छ ।
पहिलो, यहाँ वार्षिक झन्डै तीन सय दिन सहजै प्राप्त गर्न सकिने सूर्यको तापबाट प्रशस्त मात्रामा सौर्यऊर्जा उत्पादन गर्न सकिन्छ । जसबाट यहाँका सवारीसाधन चलाउन सकिने हुनाले आयातित महँगो पेट्रोलियम पदार्थको खपत क्रमिक रूपले घटाउन सकिन्छ र सञ्चित विदेशी मुद्रा अन्य आवश्यक कामका लागि खर्च गर्न सकिन्छ । यसबाट यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने छ ।
दोस्रो, यहाँका केही ठाउँमा वायु तीव्र गतिले बहन्छ । जसलाई वायुऊर्जाका रूपमा प्रयोग गर्न सके यहाँ विद्यमान पेट्रोलियम पदार्थको खपत न्यून गर्न सकिन्छ । यसबाहेक यहाँको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने छ । तेस्रो, यहाँका गाउँघर तथा अन्य ठाउँमा समेत जैविक मल सहजै प्राप्त गर्न सकिन्छ । जसलाई यहाँ ऊर्जाका रूपमा प्रयोग गर्न सके आयातित पेट्रोलियम पदार्थको खपत घटाउन सकिन्छ । जसको फलस्वरूप यहाँको अर्थतन्त्र सबलीकरणमा सघाउ पुग्ने छ । जैविक स्रोतमा आधारित ऊर्जाको उत्पादनलाई निरन्तरता दिन उपयुक्त जैविक स्रोतको उपलब्धता, उपयुक्त प्रविधि एवं जनशक्ति आवश्यक पर्छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्थाको सम्बन्धित ध्यान जान आवश्यक छ ।
चौथो, जलसम्पदाका लागि नेपाल विश्वको दोस्रो धनी देश मानिन्छ । यहाँ झन्डै छ हजार नदीनाला छन् । जसबाट प्रचुर मात्रामा जलऊर्जा उत्पादन गर्न सकिने भएकाले आयातित महँगो पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाहेक जलऊर्जाबाट विभिन्न किसिमका उद्योग सञ्चालन गर्न सकिने हुँदा देश औद्योगिक विकासको पथमा अग्रसर हुने छ र थप रोजगारीका अवसर प्राप्त हुने छन् । जसले भविष्यमा वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सघाउ पुग्ने छ ।
वस्तुतः जलऊर्जाको ठोस विकास गर्न सके नेपालको एक क्षेत्र मात्र नभई विभिन्न क्षेत्रको विकासमा टेवा पुग्ने छ । यति मात्र नभई यहाँ आवश्यक जलऊर्जा उत्पादन गर्न सके आयातित पेट्रोलियम पदार्थको विकल्पका रूपमा परिचालन गर्न सकिन्छ । आज विश्वमा विद्यमान पेट्रोलियमको राजनीतिबाट बच्न पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधनको प्रयोग गर्न आवश्यक छ । यसो गर्न सकेमा एकातर्फ स्वदेशमा उत्पादित जलविद्युत्को सदुपयोग गर्न सकिन्छ भने अर्कातर्फ यहाँ प्रत्येक दिन आवश्यक इन्धनका लागि भारतमाथि निर्भर रहनु पर्दैन ।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन प्रयोग गर्दा वायु प्रदूषण भई प्रत्येक व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने धेरै सम्भावना हुन्छ । यस्ता सवारीसाधन खरिद गर्दा यहाँ धेरै व्यापार घाटा हुन्छ र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । उक्त सवारीसाधनलाई आवश्यक पेट्रोल तथा डिजेलको मूल्य बढ्नेबित्तिकै यहाँका यातायात व्यवसायीले भाडा बढाउँछन् । फलतः यहाँका यात्रु मर्कामा पर्छन् ।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधन कम मूल्यमा पाइन्छन् । यस्ता सवारीसाधन प्रयोग गर्नाले यात्रुले कम भाडामा भरपर्दो सेवा पाउँछन् । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रयोग गर्दा यहाँ प्रतिदिन सरदर दुई हजार खर्च हुन्छ भने विद्युतीय सवारीसाधन प्रयोग गर्दा प्रतिदिन एक सयदेखि डेढ सय रुपियाँसम्मको चार्ज गरी दिनभरि चलाउन सकिन्छ । यी सवारीसाधन आफ्नै घरमा चार्ज गर्न सकिने हुँदा पेट्रोल पम्पसम्म धाउनु पर्दैन ।
आज विश्वमा पेट्रोलियम पदार्थको खपत निरन्तर रूपले बढिरहेको छ । प्रत्येक वर्ष यसको मूल्यको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । प्रत्येक वर्ष नेपालले सञ्चित गरेको विदेशी मुद्राको ठुलो अंश पेट्रोलियम पदार्थको खरिदमा बाहिरिन्छ । यहाँ आयात गरिने वस्तुमा उक्त पदार्थ सबैभन्दा बढी भएकाले त्यसको आयातलाई विस्थापन गर्न हाइड्रोजन ऊर्जाको उत्पादनले ठुलो सघाउ पुर्याउँछ । वस्तुतः पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ । प्रत्येक वर्ष त्यसको मूल्य चुकाउन नेपाललाई हम्मे हम्मे पर्छ । भविष्यमा यहाँ पर्याप्त मात्रामा हाइड्रोजन ऊर्जा उत्पादन गर्न सकेमा उक्त पदार्थको मूल्य उतारचढावले खासै फरक पर्दैन ।
पानीको पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भावना भएको नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन उपयुक्त मानिन्छ । विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने यस देशले आफैँ बिजुली खपत गरेर आवश्यक हाइड्रोजन उत्पादन गर्न सक्छ । परन्तु यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन आवश्यक छ । केही वर्षयता नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधन धेरै प्रचलनमा छन् । यद्यपि भविष्यमा यी साधनलाई हाइड्रोजन ऊर्जाका माध्यमबाट चलाउन सकेमा देशलाई आर्थिक दृष्टिबाट धेरै नै फाइदा हुने छ ।
नेपालमा विभिन्न सवारीसाधनको बढ्दो प्रयोगले यहाँ सञ्चित विदेशी मुद्राको ठुलो अंश पेट्रोलियम पदार्थको खरिदमा बाहिरिन्छ । यस पदार्थको आयातलाई विस्थापित गर्न हाइड्रोजन ऊर्जाको उत्पादनले ठुलो सघाउ पुर्याउँछ । हाइड्रोजन ऊर्जा ‘इलेक्ट्रोलिसिस’ प्रक्रियाका माध्यमद्वारा स्वच्छ पानीबाट उत्पादन गरिन्छ । साधारणतया १० लिटर स्वच्छ पानीबाट एक केजी हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यसका लागि ३० देखि ४० युनिट विद्युत् खपत हुन्छ । जसका लागि नेपालमा कुनै समस्या छैन ।
स्वच्छ पानीको पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भाव्यता भएको नेपालमा हाइड्रोजन उत्पादन गर्ने वातावरण उपयुक्त मानिन्छ । वास्तवमा विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने यस देशले आफूद्वारा उत्पादित बिजुली प्रयोग गरेर प्रशस्त हाइड्रोजन उत्पादन गर्न सक्छ । नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधनको प्रयोग दिनदिनै बढिरहेको छ । भविष्यमा यी साधनलाई हाइड्रोजन ऊर्जाका माध्यमद्वारा सञ्चालन गर्न सकेमा यहाँको जलसम्पदाको सदुपयोग भई अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने छ । हाइड्रोजन ऊर्जा उत्पादन गर्दा रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ । जुन नेपाल जस्तो कृषिप्रधान देशका लागि नितान्त आवश्यक छ ।
नेपालमा बर्सैनि झन्डै २१ अर्ब बराबरको रासायनिक मल आयात गरिन्छ । भविष्यमा यहाँ हाइड्रोजन ऊर्जा उत्पादन गर्न सके रासायनिक मल पनि उत्पादन गर्न सकिने भएकाले एकातर्फ विदेशी मुद्रा जोगिने छ भने अर्कातर्फ परनिर्भरता घट्ने छ । यति मात्र नभई पेट्रोलियमको राजनीतीकरणबाट पनि मुक्त हुन सकिन्छ ।