• १७ फागुन २०८१, शनिबार

‘संस्कृतिमाथिको प्रहारले समुदायलाई कमजोर बनाउँछ’

blog

मुख्यमन्त्री सतिशकुमार सिंह बर्दीबासमा आयोजित नेवा. देय देवूँ मधेश प्रदेशको तेस्रो अधिवेशनमा सहभागी हुनुहुँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, फागुन १७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सभ्यता र संस्कृतिमाथिको प्रहारले समुदायलाई कमजोर बनाउने बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले नेवा. देय देवूँ मधेश प्रदेशको बर्दीबासमा आयोजित तेस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुलुकमा गणतन्त्र स्थापनापछि सबै जातजातीले आफ्नो अधिकार, पहिचान, सांस्कृतिक सम्पदाको सम्मान र संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको हो ।

मुलुकको आर्थिक समृद्धिमा ऐतिहासिक योगदान पुर्‍याउदै आएका यहाँका नेवार समूदायले आफ्ना समृद्ध भाषा, साहित्य र सम्पदा संरक्षणको प्रयास उदाहरणीय र अनुकरणीय भए पनि यसलाई निरन्तरता दिन युवा पुस्ताबाटै सचेतना जगाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘‘मुलुकको आर्थिक समृद्धिमा नेवा समूदायको  योगदान अतुल्य छ । हामीले हाम्रो भाषा, संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्न नयाँ पुस्तालाई जागरुक गर्न सक्नुपर्छ । संस्कृतिको पुस्तान्तरणले मात्र यसलाई जीवन्त र पहिचानलाई अक्षुण राख्न सकिन्छ ।’’

नेवा. देय देवूँ मधेश प्रदेशका अध्यक्ष तिलकलाल श्रेष्ठको अध्यक्षतामा भएको प्रधेश अधिवेशनको उद्घाटन सत्रमा यसअघि नेवा. देय देवूँका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले नेवार समुदायको संस्कृतिक धरोहर र जातीय पहिचान बनेको गाईजात्रामा सार्वजनिक बिदा दिन मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले शिक्षाका लागि आफ्ना सन्ततीलाई विदेशमा पठाउने प्रवृतिले पनि भाषा, संस्कृति र सभ्यता ह्रास हुँदै गएको बताउनुभयो ।

यसअघि जातीय भेषभुषासहित नेवार समुदायले नगर परिक्रमा गर्नुका साथै कार्यक्रम स्थलमा नेवार संस्कृतिका लाखे नाच, धिमे वाजा लगाएतका कार्यक्रम प्रस्तुत गरिएको थियो । 

नेवा. देय देवूँ बर्दीबासका नगर अध्यक्ष उत्तमकुमार श्रेष्टठले १६० जना प्रधेश अधिवेशन प्रधिनिधि रहेको नेवा. देय देवूँ मधेश प्रदेशको तेस्रो अधिवेशनले वन्द सत्रमा नयाँ कार्यसमितिको निर्वाचन गर्ने जानकारी दिनुभयो ।