धनगढी समाचारदाता
धनगढी, असार २९ गते । नेपालको संरक्षित क्षेत्रमा ठुलो लगानीमा वन्यजन्तुका बच्चा हुर्काउने गरिएकोमा कैलालीको नदीमा तीन महत्वपूर्ण जलप्राणीले प्राकृतिक रूपमा बच्चा हुर्काइरहेका छन् । डल्फिन, घडियाल गोही र मगर गोहीले प्राकृतिक रूपमा बच्चा हुर्काइरहेका छन् । डल्फिन र मगर गोही विश्वमै दुर्लभ जलप्राणी मानिन्छन् । दुवै प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ । तिनै प्रजातिका बच्चा विभिन्न नदीमा हुर्किरहेका छन् ।
घडियाल र मगर गोहीले यहीँ बच्चा कोरलेका थिए भने डल्फिनले पनि सम्भवतः मोहना नदीमा बच्चा जन्माएर हुर्काउने गरेको संरक्षणकर्मीको भनाइ छ । सुरुमा आएका वयस्क डल्फिनसँग अचेल ससाना बच्चा पनि देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार कम्तीमा पनि दुई/तीन दिनका छ/सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन् । “अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्,” उहाँले भन्नुभयो । डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन् । यो जलप्राणी बच्चा हुर्काउनका लागि कैलालीको स्वच्छ नदीमा आउने गरेको बताइएको छ ।
यसै गरी दुर्लभ घडियाल गोहीले तीन वटै नदीमा बच्चा कोरलेर हुर्काइरहेका छन् । नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले ठुलो रकम खर्चेर घडियाल गोहीको बच्चा हुर्काइरहेको छ । कैलालीमा भने प्राकृतिक रूपमै बिनाकुनै लगानी घडियालको बच्चा हुर्किरहेका छन् । मोहना, पथरैया र कर्णाली तीन वटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए । कर्णालीको तुलनामा पथरैया नदीमा घडियालको बच्चा बढी सङ्ख्यामा रहेको बताइएको छ । कर्णालीमा यस वर्ष एक गुँडबाट मात्रै घडियालका बच्चा निस्केका छन् । बाँकी अरू गुँड असफल भएको ढुङ्गानाले बताउनुभयो ।
कर्णाली नदी किनारमा बालुवा कम रहेका कारण अन्डाबाट बच्चा निस्कन नसकेको हुन सक्ने उहाँको बुझाइ छ । यसै गरी रिसाहा र खतरनाक मगर गोहीका बच्चा मोहना नदीमा हुर्किरहेका छन् । विगत वर्षदेखि नै यहाँ बच्चा कोरल्ने र हुर्काउने गरेकाले जिल्लाको तल्लो तटीय क्षेत्रमा नदीनाालामा गोहीको उपस्थिति बढेको छ ।
कैलालीमा सुरक्षित प्राकृतिक वासस्थान र पर्याप्त आहारा रहेकाले विभिन्न दुर्लभ जलप्रणालीले यहाँ बच्चा हुर्काइरहेको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ आहारविहार, विचरण गर्नुका साथै आफ्नो बच्चालाई हुर्काउँदै सिकार गर्न सिकाउँछन् । कैलाली संरक्षित क्षेत्र नभए पनि यहाँ विभिन्न प्रजाति बस्दै आएका छन् ।”