• २९ असार २०८२, आइतबार

लोप हुने अवस्थामा नौमुठे गाई

blog

साँफेबगर, समाचारदाता

अछाम, असार २९ गते । अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको हो । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा पाइने नौमुठे गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठीले नाप्दा जम्मा नौ मुठी हुने भएकाले यस गाईलाई स्थानीयवासीले नौमुठे गाई भन्ने गरेको बताइन्छ । गणना गर्दा सङ्ख्यात्मक रूपमा एक हजारभन्दा कमको सङ्ख्यामा रहेको यो गाई लोपोन्मुख मानिन्छ । 

पशु सेवाविज्ञ केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार अछाम जिल्लामा अछामी नौमुठे गाईको सङ्ख्या ६६९ रहेको थियो । आव २०८१/८२ मा भने यो सङ्ख्या बढेको पाइएको छ । यो आवमा जिल्लाभरि नौमुठे गाईको सङ्ख्या ७९१ पुगेको छ । यो तथ्याङ्कमा बाच्छाबाच्छी र साँढेको पनि सङ्ख्या समावेश गरिएको छ । तथ्याङ्क अनुसार साँफेबगर नगरपालिकामा ३८ साँढे, २३४ बाच्छाबाच्छी र २८१ वटा नौमुठे गाई गरेर ५५३, चौरपाटी गाउँपालिकामा १९ साँढे, ३८ बाच्छाबाच्छी र ४९ गाई गरेर १०६ रहेको छ । 

यस्तै मेल्लेख गाउँपालिकामा १० साँढे, २१ बाच्छाबाच्छी र २१ वटा गाई गरेर ५२, पञ्चदेवल विनायक नगरपालिकामा आठ साँढे, १४ बाच्छाबाच्छी र १४ गाई गरेर ३६ रहेको छ । यस्तै तुर्मखाँद गाउँपालिकामा चार साँढे, १२ बाच्छाबाच्छी र १६ वटा गाई गरेर ३२ र 

मङ्गलसेन नगरपालिकामा दुई साँढे, पाँच बाच्छाबाच्छी र पाँच नौमुठे गाई गरेर १२ वटा गाई रहेको पशु सेवाविज्ञ केन्द्रका प्रमुख वाल्मीकिप्रसाद जोशीले जानकारी दिनुभयो । अन्य पालिकामा रहेका नौमुठे गाईको तथ्याङ्क कार्यालयसँग नरहेको जोशीले बताउनुभयो ।

यो गाई विश्वकै सबैभन्दा सानो जातमा गणना गरिएको छ । यसको आकार र तौल अरू गाईभन्दा निकै कम हुन्छ । यसको कसिएको पातलो र तिखो नभएको सिङ हुन्छ । साढेको जुरो हुन्छ भने गाईको जुरो हुँदैन । यो गाई चलाख र जुझारु स्वभावको हुन्छ । यसको रङ प्रायः कालो हुन्छ । छाला नरम हुन्छ । 

गाईको अधिकतम तौल १५० किलोग्रामसम्म हुन्छ । प्रतिदिन दुईदेखि अढाई मानासम्म दुध दिने गर्छ । पाँच वर्षको उमेरमा पहिलो पटक बच्चा जन्माउँछ । बेतान्तर १२ देखि २४ महिनाको हुन्छ । औसत दुध दिने अवधि २२५ दिनको हुने गरेको पशु सेवाविज्ञ केन्द्रका प्रमुख जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नौमुठे गाईको सङ्ख्या घट्ने क्रममा छ । संरक्षणका दृष्टिले खतरामा छ । हाल यो गाई लोप हुन नदिन संरक्षणका केही कार्यक्रम सञ्चालन गरिएका छन् ।”