काठमाडौँ, फागुन १४ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ । भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यो दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महìव छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्छन् ।
युवामाझ पनि शिवरात्रिको आफ्नै ‘चार्म’ छ । शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि सहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई ढपक्कै छोप्छ । शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्छ । बदलिँदो समयमा यसले आफ्नो मौलिकता गुमाउँदै गएको गुनासो पनि आउने गरेको छ । मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुका सेवनमा शिवरात्रि केन्द्रित देखिँदै आएको छ । यस पर्वमा हुने विकृति र विसङ्गतिबारे आवाज उठ्ने गरे पनि यी समस्याको निराकरणका लागि यथेष्ट पहल हुन सकेको छैन । यस वर्ष महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत नौ वटा विभिन्न विषयगत समिति गठन भएको पशुपति विकास कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वलाई सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्रसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभयो । “हाम्रो उद्देश्य भक्तजनलाई छिटोभन्दा छिटो दर्शन गराउने नै हो,” उहाँले भन्नुभयो ।
यस पटक अघिल्लो वर्षभन्दा साधुसन्त बढ्ने उहाँ बताउनुहुन्छ । करिब १० हजारको हाराहारीमा साधुबाबाहरू आउने उहाँको अनुमान छ । धेरै भारत र कुम्भमेलाबाट फर्किएर आएका छन् । साथै १३ वटा अखडाबाट प्रतिनिधिसहित बाबाहरूको प्रवेश भएको छ । उहाँले थप्नुभयो, “बाबाहरूको व्यवस्थापनमा कुनै कमी हुन दिन्नौँ । गुठी र कोषले हरेक वर्ष झैँ साधुसन्तलाई भोजन गराएर दक्षिणासहित बिदाइ गर्छ ।” दर्शनार्थीको सहजताका लागि भुवनेश्वर र दक्षिण गेटमा बाँसको चार वटा ब्रिज बनाएको उहाँले जानकारी दिनुभयो ।
नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थामार्फत पर्याप्त सङ्ख्यामा स्वयंसेवक परिचालित हुने र पशुपति प्रवेशका लागि चार वटा प्रवेशद्वारबाट प्रवेश, दर्शनपूजन, चन्दन ग्रहण, बहिर्गमन एवं रात्रिकालीन अर्चनाको व्यवस्था मिलाइएको सदस्यसचिव थापाले बताउनुभयो । बिहान २ बजेदेखि नै भक्तजनका लागि मन्दिर खुल्ने पनि उहाँले जानकारी दिनुभयो । यस वर्ष सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                