• १३ फागुन २०८१, मङ्गलबार

जसमतीलाई ७६ वर्षको उमेरमा नागरिकता

blog

जसमती सुनारलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

साधन घर्ती

म्याग्दी (दरबाङ), फागुन १३ गते । म्याग्दी मालिका गाउँपालिका–६ स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

 वि.सं. २००५ साल मङ्सिर महिनाको १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

श्रीमान बलबहादुर विकले पहिला नै कान्छी श्रीमती ल्याएर बेवास्ता गरेको, अन्य आफन्तको बेवास्ता, जग्गा जमिन पनि केही नभएको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष पथबहादुर रोका मगरले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सनाखत बसेर नागरिकता बनाइदिनुभएको हो । 

सदरमुकाम बेनीदेखि २४ किलोमिटर टाढाको दुरीमा रहेको दरबाङबाट वडाध्यक्ष रोकाले आफ्नै व्यक्तीगत खर्चमा जसमतीलाई जिल्ला प्रशासन कार्यालय ल्याउनुभएको हो । पहिले श्रीमानले कान्छी श्रीमती ल्याएर बेवास्तामा पर्नुभएकी ७६ वर्षीया जसमती सोही गाउँपालिकाको वडा नम्बर ४ मा विवाह गरेर जानुभएकी छोरीको परिवारसँगै बस्दै आउनुभएको छ । श्रीमानको पनि पहिलै निधन भएको वडाध्यक्ष रोका मगरले जानकारी दिनुभयो । 

वडाध्यक्ष रोका मगरले जसमतीको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सबै बेहोरा खोलेर ल्याउन आग्रह गर्नुभएको थियो । 

नागरिकता बनाउन ति महिलालाई साथमा नै लिएर सदरमुकाम बेनी आउनुभएका वडाध्यक्ष रोकाले नागरिकताको प्रमाणपत्र बनेपछि खुसी व्यक्त गर्दै भन्नुभयो, ‘‘श्रीमानले पहिले नै अर्की श्रीमती ल्याएर हेलामा पर्नुभएकी जसमती शारीरिक रूपमा अशक्त,आफन्तको बेवास्ता, जग्गा जमिन पनि केही नभएको, अब वृद्ध अवस्थामा नेपाली नागरिकता बनाइदिन पाए कम्तीमा राज्यले दिने ज्येष्ठ नागरिक भत्ता त आउँथ्यो भनेर मैले आफै व्यक्तिगत प्रयासमा खोजेर ल्याएँ । प्रमुख जिल्ला अधिकारीले पनि समस्या बुझ्नु भएपछि उहाँको नागरिकता बन्यो ।’’ वडाध्यक्ष रोका मगरका अनुसार, मङ्गलबार नै राष्ट्रिय परिचयपत्र बनाउनुभएको छ ।

मङ्गलबार नै दरबाङ स्थित वडा कार्यालय पुगेर सामाजिक सुरक्षा भत्ताका लागि उहाँको फाराम भरिदिने वडाध्यक्ष रोका मगरले बताउनुभयो । ‘‘नागरिकता बनेपछि महिनाको चार हजार रुपियाँ भत्ताले एक जनाको दुःख–सुख जीविका चल्छ’’ उहाँले थप्दै भन्नुभयो । 

नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रजिअ ढकालले भन्नुभयो, ‘‘ ढिलै भए पनि हिँसा पीडित महिलाले राज्यको सेवा सुविधा उपयोग गर्ने अवसर मिल्यो ।’’ नागरिकता प्राप्त गरेपछि भावुक बन्नुभएकी जसमतीले वडाध्यक्ष रोका र प्रजिअ ढकाललाई धन्यवाद व्यक्त गर्नुभयो ।