काठमाडौँ, फागुन १२ गते । चलचित्रका कलाकार जति ‘रिल’ जीवनमा असल श्रीमान्श्रीमतीको भूमिकामा देखिन्छन्, वास्तविक जीवनमा उनीहरूको पारिवारिक जीवन खासै सुखद रहेको देखिँदैन । झन् चल्तीका कलाकारको पारिवारिक जीवन लामो समयसम्म चलेको छैन । दर्शकको मायाले उचाइ बनाएका कलाकारलाई आदर्श मान्ने जमात यहाँ नभएको पनि होइन । कतिपयले उनीहरूकै देखासिकी पनि गर्छन् । यसरी आदर्श पात्र मान्ने कतिपय कलाकारको वैवाहिक जीवन सम्बन्धविच्छेदको मोडमा पुगेको छ । यहाँ विवाह गर्ने र जति सक्दो चाँडो सम्बन्धविच्छेद गर्ने हतारो अहिले फेसन जस्तो भएको छ ।
विसं २०८१ साल वैशाख १ गते बागलुङ घर भई अस्ट्रेलियामा बस्दै आउनुभएका विष्णु सापकोटासँग विवाह गर्नुभएकी चल्तीकी गायिका एलिना चौहानले माघ १८ मा जिल्ला अदालत काठमाडौँमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्दै सामाजिक सञ्जालमार्फत आफूहरू कानुनी रूपमै अलग भएको जानकारी दिनुभयो । पति अमित अर्यालसँगको १२ बर्से लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याउनुभएकी अभिनेतृ अरुणिमा लम्सालको दोस्रो विवाह पनि सङ्कटमा परेको बताइन्छ । संयुक्त राज्य अमेरिका बस्दै आउनुभएकी अरुणिमाले इन्स्टाग्राम र फेसबुकको टाइमलाइनबाट हालै विवाह गरेका युवराज श्रेष्ठसँगका तस्बिरसमेत हटाउनुभएको छ । गत भदौ ३ गते काठमाडौँको बत्तिसपुतलीस्थित राममन्दिरमा उहाँको विवाह भएको थियो । इन्स्टाग्राम र फेसबुकबाट श्रीमान्को फोटो हटाएपछि उहाँहरूको सम्बन्धमा चिसोपन आएको बताइन्छ ।
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबिच गत २०८० चैत ७ गते सम्बन्धविच्छेद भइसकेको छ । तीन वर्षअघि उहाँहरूको प्रेमविवाह भएको थियो । गायक राजेशपायल राईले पनि झन्डै पाँच वर्षको लिभिङ रिलेसनपछि आफूभन्दा २६ वर्ष कान्छी पत्नी सङबुङ राईसँग २०८० चैत १५ गते अदालत गएर सम्बन्धविच्छेद गर्नुभयो । ‘निष्ठुरीले छाडेर गइहाली’ भन्ने गीत गाएर दर्शक, श्रोताको स्पन्दन छुनुभएका यम बरालको जिन्दगीमा आफैँले गाएको गीत मेल खान गयो । ललितपुर कुपन्डोल निवासी आकृति राणासँग प्रेमविवाह गर्नुभएका बराल अमेरिकाबाट ग्रिनकार्ड हात पारेर दसैँको मौका छोपी परिवारसँग रमाइलो गर्न नेपाल फर्कंदा आकृतिले काठमाडौँ जिल्ला अदालतमा पारपाचुकेका लागि मुद्दा दायर गर्नुभयो । बरालको आठ वर्षको लामो वैवाहिक सम्बन्ध पनि लामो चल्न सकेन ।
सम्बन्धविच्छेदका विषयमा सबैभन्दा चर्चामा रहेको जोडीका रूपमा रेखा थापा र छविराज ओझालाई लिइन्छ । निर्माता छवि र अभिनेतृ रेखाको वैवाहिक जीवनमा अहिले पूर्णविराम लागेको छ । सम्बन्धविच्छेदको प्रमुख कारण उमेर र सोचको समानता नभएको रेखाको भनाइ थियो । रेखाले नयाँ घरजम गरिसक्नुभएको छ । छविसँगै सम्बन्धविच्छेद गर्नेमा अभिनेतृ शिल्पा पोखरेल पर्नुहुन्छ । अभिनेतृ मनीषा कोइरालाको वैवाहिक जीवन खासै टिक्न सकेन । विवाहको केही वर्ष पनि हुन नपाउँदै उहाँले पति सम्राट दाहालसँग छुट्टिने निर्णय गर्नुभएको थियो ।
पहिलो परिवार प्रेमपूर्ण हुन नसकेपछि दोस्री श्रीमती भित्र्याउनुभएका अभिनेता भुवन केसीका अहिले दुवै श्रीमती साथमा छैनन् । भुवनले सुस्मिता बम्जनसँग विवाह गर्नुअघि विजया मल्लसँग पारपाचुके गर्नुभएको थियो । भुवन र सुस्मिताबिच सन् २००१ मा सम्बन्धविच्छेद भएको थियो । सुस्मिताले अस्ट्रेलियाका व्यापारी किलन स्वामीसँग विवाह गरिसक्नुभएको छ । यीबाहेक धेरै कलाकारको पारिवारिक सम्बन्ध दिगो हुन सकेन । अभिनेतृ तथा टिभी होस्ट रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्माको सम्बन्धविच्छेद भयो । गायिका मिलन अमात्यको दाम्पत्य जीवन पनि खासै सफल भएन । उहाँले पति मेन्सन अमात्यसँग सम्बन्धविच्छेद गरिसक्नुभएको छ । अभिनेतृ प्रियङ्का कार्कीले पति रोचकसँग सम्बन्धविच्छेद गरेपछि आयुष्मान देशराजसँग विवाह गर्नुभएको हो । अमेरिकामा बस्दै आउनुभएकी अभिनेतृ पूजा चन्दले अमेरिकामै गायक राजु लामासँग विवाह गर्नुभयो । त्यसअघिका सुरज चन्दसँग सम्बन्धविच्छेद गरी उहाँ अमेरिका पुग्नुभएको थियो । अभिनेतृ गौरी मल्लको वैवाहिक जीवन पनि लामो टिक्न सकेन । प्रज्वल भण्डारीसँगको सम्बन्ध धेरै समय नसक्दा उहाँहरूबिच सम्बन्धविच्छेद हुन पुग्यो ।
नेपाली चलचित्र जगत्का यी त केही उदाहरण मात्र हुन् । प्रेम गर्ने, विवाह गर्ने फेरि सम्बन्धलाई दुई किनारा लगाउने सामान्य जस्तै भएको छ । दर्शकलाई पनि कलाकारको असली र नकक्ली जीवन छुट्याउन हम्मे हम्मे परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार समाजमा आज पनि म पुरुष हुँ । मेरो बुवाले आमालाई शासनमा राखेका थिए भन्ने मानसिकता अझै जिउँदो छ । छोरीलाई पनि तिमीहरू अधिकार सम्पन्न छौँ भन्ने मानसिकता अझै दिन सकिएको छैन । उहाँ भन्नुहुन्छ, “अहिलेको प्रेम विवाह गर्नेको बुझाइ र हिजो प्रेम गर्ने बेलाको जस्तो थियो त्यही नै हुन्छ ।” नेपालका चर्चित कलाकारको यताउताको उठबसले गर्दा अहिले धेरै सम्बन्धविच्छेदका मुद्दा आएका हुन सक्ने उहाँले बताउनुभयो । कलाकार आर्थिक रूपमा सबल हुन्छ । त्यो मान्छेको विकल्पमा अर्को मान्छे हुन सक्छ भन्ने आँट पनि हुन्छ । सम्बन्धविच्छेद नेपालमा मात्र होइन अन्यत्र पनि हुँदै आएको उहाँको भनाइ छ ।