बिजलपुरा समाचारदाता
बिजलपुरा (महोत्तरी), फागुन ११ गते । महोत्तरीको बर्दीबास नगरपालिका–९, पशुपतिनगरका शत्रुधन महतोलार्ई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अरू किसान पनि काउली काट्ने र बजारमा लैजाने चटारोमा हुनुहुन्छ तर काउलीको मूल्य घटिरहेकामा किसान चिन्तामा देखिन्छन् । “उत्पादन गरेको काउली १० रुपियाँ किलोमा पनि बिकिरहेको छैन, लगानीसमेत नउठ्ने भयो,” महतोको दुःखेसो छ । तीन महिनाअघिसम्म प्रतिकिलो एक सय रुपियाँसम्म बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि किसान चिन्तित भएको उहाँको भनाइ छ । वडामा करिब ४३० किसान परिवारले काउली उत्पादन गरेका छन् तर भाउ नपाउँदा लगानी जोखिममा परेको किसानहरूको गुनासो छ ।
सोही वडाका किसान विदोन महतो पनि बजार पठाउँदा ज्याला पनि नउठ्ने अवस्था आएको बताउनुहुन्छ । “यहाँ यो सिजनमा दैनिक तीन हजार किलोसम्म काउली उत्पादन हुने गरेको छ,” उहाँले भन्नुभयो, “तर बजारमा राम्रो मूल्य नपाउँदा लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा बेहोर्न बाध्य भइयो ।”
अहिले व्यापारीलाई प्रतिकिलो काउली आठ रुपियाँका दरले बेच्नु परेको किसानहरूको गुनासो छ । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो २५ देखि ३० रुपियाँसम्म तिर्नुपरेको छ ।