माधवप्रसाद बराल
माछापुच्छ्रे(कास्की), फागुन ४ गते । पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित नदीपुरको अस्थायी प्रहरी पोस्टमा महिला प्रहरीलाई मात्र खटाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत ७७ वटा युनिट रहेकोमा नदीपुरको पोस्टमा महिला प्रहरीलाई मात्र खटाइएको हो । प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा ९ जना प्रहरी महिला उक्त पोस्टमा कार्यरत छन् । आइतबारदेखि सबै महिला प्रहरीलाई उक्त पोस्टमा खटाएर सेवाको आरम्भ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले महिला प्रहरीको दक्षता, क्षमताको उजागरका साथै कामप्रति उत्साह जगाउन महिला प्रहरी कर्मचारी मात्र खटाएर सेवा आरम्भ गरिएको बताउनुभयो। “सहरी क्षेत्रमा महिला र बालबालिकासम्बन्धी अपराध बढिरहेको तथ्याङ्कले देखाएको छ,”उहाँले भन्नुभयो,‘ महिला प्रहरी मात्र खटिएको यो युनिटले महिला र बालबालिकासम्बन्धी अपराध उजागर गर्न पनि सहयोग पुर्याउने छ ।’
कास्कीमा भएको ९ सय ६१ दरबन्दीमा १ सय ३५ जना महिला कार्यरत रहेको उहाँले बताउनुभयो । महिलाहरू मात्र कार्यरत भएको युनिटले शान्ति, सुरक्षा, अमनचयन कायम गराउन अन्य युनिट भन्दा उत्कृष्ट कार्य गर्ने विश्वास ओलियाको छ । कास्कीमा एक जना प्रहरीले करिब एक हजार जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको ओलियोको भनाइ छ । महिला प्रहरी मात्र खटिएको युनिटको कार्य सफलतालाई मध्यनजर गरेर अगामी दिनमा महिला प्रहरीकै नेतृत्वमा महिला मात्र भएको युुनिट बनाएर काममा खटाउने योजना रहेको ओलियाले सुनाउनुभयो ।
शान्ति सुरक्षालाई थप बलियो बनाउनुका साथै लैंगिक समानतामा पनि यसले सघाउने उहाँले बताउनुभयो । यो अस्थायी प्रहरी पोस्टको जिम्मामा वडा नम्बर ३ को सीमा पर्दछ भने सोही इलाकामा गण्डकी प्रदेश सभा पनि छ ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिलाहरू मात्र कार्यरत रहेको युनिट बढी अनुशासित हुने बताउनुभयो । कानुनको पालन गरेर समाजमा शान्ति कायम गराउन नागरिक समाजको पनि दायित्व भएको उहाँको भनाइ छ । उहाँले नागरिक पनि विना बर्दीको प्रहरी भएकाले जनताको साथ बिना प्रहरी एक्लैले शान्ति सुरक्षा दिन नसक्ने बताउनुभयो ।
अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपा आलेले प्रहरी सेवामा प्रवेश गरेको २५ वर्षमा पहिलो पटक कमान्ड गर्ने जिम्मेवारी पाएको बताउँदै कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताउनुभयो । अस्थायी प्रहरी पोस्टमा प्रसनि दीपा आलेसँगै प्रहरी हबलदार सङ्गीता महतो, जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंह खटिनुभएको छ ।