• १२ असार २०८२, बिहिबार

सर्केगाड पहिरोको जोखिममा

blog

पहिरोको उच्च जोखिममा रहेको सर्केगाड बजारको बस्ती । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, असार १२ गते । सर्केगाड गाउँपालिकाको सर्केगाड बजार पहिरोको उच्च जोखिममा रहेको छ । माथि पहिरो आउने भिरालो जमिन र तल घरटहरा निर्माण गरेर बस्ती बसिरहेका कारण पहिरोको उच्च जोखिममा देखिएको हो । सर्केगाड बजारका सुना बुढाले गाउँपालिका केन्द्रसमेत रहेको बजार क्षेत्र पूरै पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । बर्सायाममा पानी पर्दा सधैँ ढुङ्गा खस्ने भएका कारण घरमा क्षति पुगेको बताउँदै उहाँले अहिलेसम्म मानवीय क्षति भएको छैन । 

पानी परेको दिन रातिको समय सुरक्षित स्थानतर्फ जानु परेको बताउँदै उहाँले कुनै दिन ठुलो क्षति हुने गरी पहिरो आउने त्रास रहेको बताउनुभयो । सर्केगाड गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कर्णजङ्ग शाहीले गोठी खोला पूर्वपट्टिको बजार पूर्ण रूपमा पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । आफू वडाध्यक्ष हुँदा त्यसरी जोखिम भएको स्थानमा बस्ती विस्तार नगर्न आग्रह गरेको तर कसैले सुनुवाइ गरेनन्, आज त्रासको जीवन बिताउन बाध्य भएको उहाँले बताउनुभयो । 

सङ्घीयताअघि सो स्थानमा कुनै घर नभएको अवस्थामा सङ्घीयतापछि सर्केगाड गाउँपालिका केन्द्र नै तोकिएपछि मानिस जग्गा खरिद गरेर घर निर्माण गरेर व्यापार व्यवसाय गरेर बस्न थालेपछि बस्ती विस्तार भएको उहाँले बताउनुभयो । 

पहिरो जाने जोखिम रहेको स्थानमा बोटबिरुवा पनि छैन, भिरोलो जमिनका साथै ढुङ्गा माटो मात्र भएका कारण पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो । अर्का स्थानीय कविता शाहीले बर्खामा पानी परेको समयमा आफ्नो घरमा नसुतेर खोलापारिको छिमेकीको घरमा गएर बास बस्ने गरेको बताउनुभयो । 

कुनै पनि दिन बाढीपहिरो आउने बढी सम्भावना रहेका कारण भिरालो जमिनमा वृक्षारोपण गर्न आवश्यक रहेको बताउनुभयो ।