• १२ असार २०८२, बिहिबार

रौतहटको जिल्ला सभा १८ असारमा

blog

जिल्ला समन्वय समिति रौतहट । तस्बिर :प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार १२ गते ।
जिल्ला समन्वय समिति रौतहटको जिल्ला सभा असार १८ गते हुने भएको छ । जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्याय राय यादवले असार १८ गते छैठौं जिल्ला सभाको मिति तोकिएको जानकारी दिनुभयो ।

जिल्ला सभा अघि असार १३ गते वार्षिक समीक्षा कार्यक्रम राखिएको छ । पालिकाहरुले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याई रहेको अवस्थामा एउटै मञ्चबाट सबै स्थानीय तहको कार्यक्रमबारे जानकारी दिने जिल्ला समन्वय अधिकारी अमित कुमार यादवले जानकारी दिनुभयो । वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा हुने विकास तथा योजनाका विषय र चालु आवमा भएका कामको बृहत् समीक्षा हुने जिल्ला समन्वय  समिति रौतहटले जनाएको छ ।

जिल्ला समन्वय अधिकारी यादवले सुशासन, विकास र समृद्धिको  अभिभारा पूरा गर्न सबै स्थानीय तहसँग समन्वय गरी कार्य अघि बढाइने बताउनुभयो ।

उहाँले साझा प्रयासले नै जिल्ला समृद्ध हुने बताउनुहुँदै रौतहटमा हुने गरेको विकास निर्माणका कार्यको अनुगमन कार्यलाई तीव्रता दिइने जानकारी दिनुभयो ।  समग्र जिल्लाको विकासका लागि नियमित अनुगमन गरि सल्लाह सुझाव दिन आवश्यक रहेकाले यस जिल्ला सभाले जिल्ला स्तरिय अनुगमन तथा समन्वय कार्यविधि ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

कानुनमा वर्षमा कम्तिमा एक चोटि वार्षिक समीक्षा तथा एक चोटि जिल्ला सभा गर्ने प्रावधान रहेता पनि जिल्ला समन्वय समिति रौतहटले आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक समीक्षा तथा जिल्ला सभा गर्न सकेको थिएन ।