विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेश दुवै सदनबाट पास हुने बताउनुभएको छ । राजविराजस्थित पार्टी कार्यालयमा प्रेस चौतारी नेपालले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले अध्यादेश देश र जनताको हितमा भएकाले दुवै सदनबाट पास हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले ल्याएको अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको केही बुँदामा सत्ता साझेदार दलहरु असन्तुष्ट देखिए पनि उहाँहरुको जायज मागलाई प्रतिस्थापन विधेयकमार्फत सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो । “अध्यादेशको तथ्यमाथि आधारित भएर हेरियो भने त्यसको विरोध गर्ने ठाउँ छैन” ज्ञवालीले भन्नुभयो, “उत्पीडित भूमिहिनहरुको पक्षमा रहेको दलहरुले अध्यादेशको विरोध गर्दैन ।” असन्तुष्ट दलहरुसँग कुरा भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
देशमा ४ लाख भन्दाबढी भूमिहिन जनताको समस्या समाधान गर्न अध्यादेश ल्याइएको उल्लेख गर्दे उहाँले अध्यादेशको विरोध गर्नेहरु सरकारको नभइ भूमिहिनको हक अधिकारको विरोध गरिरहेको बुझ्नुपर्ने बताउनुभयो ।
देशमा राजनैतिक स्थिरताका लागि बनेको एमाले काँग्रेसको सरकारले आर्थिक सुधार र जनतामा रहेको निराशा हटाउन काम गरिरहेको दावी गर्नुभयो । सहकारी क्षेत्रमा रहेको बेथितिविरुद्ध सरकारले हस्तक्षेप सुरु गरेकाले १४ हजार सहकारीपीडितको एक अरब ५७ करोर बचत सरकारले फिर्ता गराएको र अरु पनि फिर्ता हुने क्रममा रहेको उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले सुशासन कायम गर्न अनियमिततामा संलग्नउपर कारवाही अगाडि बढाएको भन्नुहुँदै काँग्रेस, एमाले, माओवादी, रास्वपा लगायतका नेता कार्यकर्ता पनि कारवाहीमा परेको बताउनुभयो ।
केही साथीहरुले रास्वपाविरुद्ध सरकारको प्रतिशोध भनेर भाष्य निर्माण गर्ने कोसिश गर्नु गलत भएको तर्क गर्नुभयो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै देशको विकास र समृद्धि अगाडि बढ्ने भएपछि सधैंभरि अस्थिरतामा खेलिरहने र त्यसैबाट विचौलियको भूमिका निर्वाह गर्दै लाभ उठाइ रहनेलाई बेचैनी भइरहेको बताउनुभयो । यसमा सबैभन्दा अग्रपङ्तिमा अध्यक्ष प्रचण्ड नै देखिनु भएको छ, उहाँले भन्नुभयो ।
उहाँले प्रचण्डप्रति कटाक्ष गर्दै आफू सरकारमा छँदा देशको अर्थतन्त्र एकदम राम्रो भइरहेको, देश विकासको बाटोमा अगाडि बढिरहेको, निराशाको प्रचार गर्न नहुने भाषण गर्ने र सरकारबाट हट्दाको भोलिपल्ट बाटै नेपाल बंगलादेश बन्नेभयो जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिदै हिडनु गलत भएको तर्क राख्नुभयो ।