कनकासुन्दरी मन्दिर जाने बाटोमा खण्डित अवस्थामा कलात्मक पत्थरको मूर्ति देख्न सकिन्छ । सिस्नो र घाँसको झाडीमा बेवारिसे अवस्थामा रहेको त्यो कलात्मक मूर्ति स्युबाघको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका–४ स्थित कनकासुन्दरी मन्दिर क्षेत्रमा इतिहासका महत्वपूर्ण प्रमाणका रूपमा रहेका सम्पदा मिल्किरहेका छन् । जानकारहरूका अनुसार यो नेपालको विरुपाक्षभन्दा पुरानो पत्थरको मूर्ति हो । मन्दिर जाने बाटोमै रहेको ऐतिहासिक ‘स्युबाघ मूर्ति’ कुन समयमा फुट्यो भन्ने स्थानीय नै अनभिज्ञ छन् ।
विशाल सिँजा साम्राज्यका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा रहेको स्युबाघ संरक्षण त भएन नै, त्यस्ता थुप्रै सम्पदा बेवारिस अवस्थामै छन् । स्युबाघ मात्रै नभई सिँजा क्षेत्रको कनकासुन्दरी मन्दिर क्षेत्र, विराट् दरबार, पाण्डपगुफादेखि विभिन्न स्थानका संरचना तथा सम्पदा ओझेलमा छन् । संरक्षणको अभावमा यत्रतत्र छरिएका छन् । चोरीको निसानामा परेका छन् । हराउँदै जाने क्रम बढ्दो छ । सो क्षेत्रमा रहेका मूर्ति, ढुङ्गेधारा तथा देवल र स्तम्भहरूको संरक्षण हुन सकेको छैन । यसले गर्दा चोरी हुने, टुटफुट र नास हुने क्रम बढिरहेको छ । कनकासुन्दरी गाउँपालिका, पाण्डपगुफाबाट लगभग चार घण्टाको पैदल यात्रामा करिब तीन हजार मिटर उचाइमा विराट् दरबार रहेको छ । सो दरबार पनि संरक्षणको अभावमा जीर्ण अवस्थामा छ । तत्कालीन विराट् राजाको बसोबास भएको मानिने सो दरबार क्षेत्र भत्किएर सानो अवशेषको रूपमा मात्रै छ तथापि त्यसै निसानाको सोही टाकुरामा स्थानीयले अर्को दरबार लगाएका छन् । टाकुरामा भएको उक्त दरबार क्षेत्रमा ढुङ्गाको सामान्य पर्खालबाहेक अन्य सबै खुला छ । यसले सुरक्षा चिन्ता बढाएको छ । सिँजा गाउँपालिका–१, थार्पीवाडाका ढुङ्गाका खम्बाहरू खुला कुलोका छेउमा रहेकाले जतिबेला पनि भाँचिने अवस्थामा पुगेका छन् । सिँजा गाउँपालिकाको जाँचगाउँमा रहेको भीमसेनको विशाल ढुङ्गाको तावा फुटेर मालिका माध्यमिक विद्यालयभित्र राखिएको छ ।
पाण्डपगुफाका पाँच पाण्डव र द्रौपदीसहितका मूर्ति द्वन्द्वकालमा चोरी भएको थियो । सो स्थानमा केही समयअघि नयाँ मूर्ति स्थापना गरिएको छ । स्थानीयका अनुसार सो गुफाका ऐतिहासिक तथा पुरातात्त्विक मूर्तिहरू हराएका छन् । सिँजा गाउँपालिका–१, थार्पीवाडाको ठिक नदीपारिको स्थानमा अहिले पनि ढुङ्गाका धारा छन् । पाण्डपगुफाको बाहिरी भागमा काठको खुला ढोका बनाइएको छ । गुफाभित्र जाने ढोकामा ताला लगाउने गरिएको छ । गुफाको बृहत् ढुङ्गाका ढोका बाहिर राखिएका छन् । पाण्डवहरू वनबासका क्रममा एक वर्ष त्यहाँ आई गुप्तबास बसेको धार्मिक विश्वास छ ।
नासिँदै सम्पदा
सिँजा साम्राज्य पतनपछि यहाँका ऐतिहासिक सामग्रीको कतैबाट संरक्षण हुन सकेन । खस संस्कृतिसँग जोडिएका मठमन्दिरभित्रका सम्पदा र कलाको संरक्षणमा खासै ध्यान पुग्न सकेन । श्यामबहादुर खड्काद्वारा लिखित पुस्तक ‘मष्टो संस्कृति र परम्परा’ को भूमिकामा प्रेम कैदी लेख्नुहुन्छ, “विसं १८४६ मा गोर्खालीहरूको कब्जामा परेपछि यो क्षेत्र शून्यमा बिलाउँदै ढुङ्गा माटोबाहेक बाँकी सभ्यता संस्कृति हराउँदै १६६ वर्षसम्म सुक्खा क्षेत्र बनेर उपेक्षित र अपमानित रह्यो ।” उहाँका अनुसार अझ दरबारिया भारदारलाई खुसी पारेर अंग्रेजहरूले इतिहास लेख्न भनी समग्र ऐतिहासिक सामग्री काठमाडौँ ल्याएर केही बेलायत लगे, बाँकी सिंहदरबार पुतली बगैँचामा जलाएका थिए । तर पनि बचेको ढुङ्गामाटोमाथि २०१२ सालमा योगी नरहरिनाथले पश्चिम नेपालमा पुगेर सिँजाको मल्ल साम्राज्यलगायत त्यस क्षेत्रका ऐतिहासिक सांस्कृतिक महत्त्वबारे विश्वभरका विद्वान्लाई जानकारी दिए । अनि प्रेम कैदीले त्यस आलेखलाई ‘पश्चिम नेपालको निभेको ज्योति प्रज्वलित गर्ने मष्टो पुराण’ शीर्षक राख्नुभएको छ ।
यति मात्र होइन; २०२६ देखि २०२८ सालतिर सत्यमोहन जोशी, बालकृष्ण पोख्रेल, विहारीकृष्ण श्रेष्ठसहितको एउटा टोली कर्णालीको खोज अनुसन्धान गर्ने क्रममा सिँजामा पुग्यो । पूर्वसभापति धनलाल हमाल सत्यमोहनको समूह आफ्नै घर हाटसिँजामा तीन महिना बसेर सिँजाको लोकसंस्कृति र भाषाका बारेमा अध्ययन गरेको बताउनुहुन्छ । टोलीले काठमाडौँ फर्किएपछि सिँजा चिनाउने केही दस्ताबेज प्रकाशन गर्यो । अहिले सत्यमोहन जोशीको ‘लोकसंस्कृतिको इतिहास भाग १’, स्थिर जङ्गबहादुरको ‘भूगोल’, विहारीकृष्ण श्रेष्ठको ‘दयाँरगाउँका ठकुरीहरूको लोकजीवन’, चूडामणि बन्धुको ‘भाषा’ र प्रदीप रिमालको ‘साहित्यकला पुस्तक’ सिँजा पहिचानको दस्ताबेज मानिन्छन् ।
इतिहासकार मोहनप्रसाद खनालबाट लिखित ‘नेपाली भाषाका हजार वर्ष’ शीर्षक किताबमा विभिन्न सामग्रीको दस्ताबेज उल्लेख गरिएको छ । यसमा ऐतिहासिक कनकपत्र, ताम्रपत्र, स्तम्भलेखका विषयमा दस्ताबेजीकरण गरिएको छ । श्री शाके १२७८ मा पृथ्वी मल्लको कनकपत्र ‘जुम्ला जुम्ला पानसय दरा’ सेरिढुस्काका मुखिया धनञ्जय रेग्मीको घरमा रहेको उल्लेख छ । हाल त्यो पत्र कस्तो अवस्थामा छ, थाहा छैन । यसै गरी शाके १३१५ को मेदनीबर्माको ताम्रपत्र, शाके १३२६ को मेदनीबर्मा र वलिराजको ताम्रपत्र र १३७२ को बस्सराजनेश्वरको ताम्रपत्र जुम्ला खलङ्गास्थित चन्दननाथ गुल्मको सङ्ग्रहालयमा रहेको उल्लेख छ । ती प्रमाणका विषयमा पुनरवलोकन गर्न भने बाँकी छ । यसका साथै चन्दननाथ नगरपालिकाकै सेरढुस्कामा ढुङ्गाका १७ खम्बा थिए । हाल सबैभन्दा ठुलो खम्बा भाँचिएर सडकमा अलपत्र अवस्थामा छ । यी स्तम्भ वा खम्बाको संरक्षणका विषयमा स्थानीय वडापालिका र नेपाली सेनाले चासो लिएको छ । चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर रावत ऐतिहासिक सत्र खम्बा संरक्षण गर्ने तयारी भइरहेको बताउनुहुन्छ । चन्दननाथ नगरपालिका–७, मिचामा रहेका देवलको हालसम्म संरक्षणको विषयमा खासै चासो लिइएको पाइँदैन ।
लेखक माधवप्रसाद चौलागाई लिखित पुस्तक ‘सपादलक्ष’ मा सम्पदा सङ्कट शीर्षकमा कर्णाली नदी प्रवाह क्षेत्रमा खस साम्राज्यकालीन दरबार, देवल, गुम्बा, धारा, नाउला, मन्दिर, मूर्ति, खम्बा, शिलालेख आदिका थुप्रै सग्ला संरचना देख्न पाइन्छ । विगत केही दशकको अन्तरालमा यस क्षेत्रमा दोहोर्याएर भ्रमण गर्ने वा इतिहास अध्ययन गर्नेहरूले यस्ता धरोहरको अतिक्रमण भइरहेको पाउँछन् । उहाँका अनुसार पुरातत्त्व विभागको तथ्याङ्क अनुसार देशभर दुई हजार ८२८ सम्पदामध्ये कर्णाली क्षेत्रमा ५३० वटा पुरातात्त्विक सम्पदा छन् ।
देरपाटामा भेटिएका असर्फी
ढुङ्गे इतिहासका संरचना, काठका संरचना हराउने, सुनका सिक्का पाइएको र संरक्षण अभावमा गुज्रिरहेको सिँजाका केही महत्त्वपूर्ण घटनासमेत छन् । रत्नाकर देवकोटाको किताब ‘बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना’ मा सुनका असर्फीको गाग्री पाइएको उल्लेख छ । सो पुस्तकका अनुसार सिँजा दरा पाण्डपगुफा गाविसको देयारपाटा गाउँको वरपरको कुनै गाउँका एउटा किसानको बारीमा स्थानीय जोखे भन्ने हलीले हलो जोत्दा त्यो हलो एक ठाउँमा अड्कियो । बर्सेनि जोतेर माटो खुकुलो भएको ठाउँमा पनि हलो किन अड्कियो भनेर हलीले सोच्यो । हलाको फाली पछाडि तानेर बारीमा सिया हाल्दै गयो । तीनचार पटक वरिपरि घुमाएर त्यसै ठाउँमा आउँदा हलाको फालीले सुनका सिक्का (असर्फी) ले भरिएको सानो हत्तरलाई पर उछिट्याइदियो । हलीले जोतिरहेका गोरुलाई रोकेर त्यस गाग्रीलाई हेर्यो । गाग्रीको मुख खोलेर हेर्दा त्यसभित्र सुनका सिक्का/असर्फी रहेछन् । त्यस हलीले गोरु जोत्न छोडेर बिचमा अलमल्ल गरेको देख्दा वरिपरिका मानिसलाई शङ्का लाग्यो । उनीहरू पनि त्यहीँ आए । सम्बन्धित जग्गाधनी, हली र छिमेकी गाउँलेबिच त्यो धन बाँड्ने कुरा भयो । धेरै समयसम्म भएको वादविवादपछि त्यस धनको भागबन्डा भयो । एक कान दुई कान हुँदै त्यो कुरा कर्णाली अञ्चलाधीश कार्यालय र जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीसम्म पुग्यो । त्यस बेलामा कर्णालीका अञ्चलाधीश जगदीश खड्का र प्रमुख जिल्ला अधिकारी रमानन्द मिश्र हुनुहुन्थ्यो ।
बेवारिसे धनमाल, श्रीसम्पत्ति, गरगहना कतै भेटिएमा सो वस्तुमाथि भेटाउने मानिसको अधिकार नभई सरकारी हुने कानुनी प्रावधान भएबमोजिम अड्डामा परेको प्रहरी प्रतिवेदन अनुसार सो कारबाही अगाडि बढ्यो । त्यस बेलासम्म सो गाग्रीभित्रका केही सिक्का सम्बन्धित हली, किसान र उक्त घटनाका प्रत्यक्षदर्शीका घरमा पुगिसकेका थिए । प्रहरी र प्रशासन त्यस स्थानमा पुगेर अनुसन्धान गर्दा जति सिक्का भेटिए, ती सबै राष्ट्रिय वाणिज्य बैङ्कको जुम्ला शाखामा सरकारी पक्षबाट जम्मा गरियो ।
सिँजा देयारपाटामा हलो जोत्दै गर्दा हली जोखे कार्की र जग्गाधनी धनलाल उपाध्यायले पाएका सुनले चर्चा पाइरहेको समयमा सिँजामै सात धार्नी सुन पाइएको अर्को घटना पनि चर्चित छ । सुन्दा अच्चम लाग्ने तर अर्को सत्य घटना तत्कालीन समयको विशाल सिँजा साम्राज्यको राजधानीको ठाडोसडा (पाखोगडा) स्थानमा सात धार्नी सुन पाइएको बताइन्छ ।
विसं १९९३ मा कनकासुन्दरी मन्दिरनजिकैको ठाडोसडामा हलो जोत्दै गर्दा सुनका ढिक्काले भरिएको बाकस भेटिएको थियो तर सुन भेटिँदा मानिसले सहजै विश्वास नगरेर एकछिन पनि छोएका थिएनन् । कोरपाटी डटकम (२०७७) मा पत्रकार नेत्रबहादुर शाहीको ‘जुम्लाको सिँजा ठाडोसणोमा सात धार्नी सुन भेटिँदा’ शीर्षक समाचारमा यो विषय उल्लेख छ । एकछिन त किसानले सुन टिपेनन्, पछि घरमा लगेर सुरक्षित राखेका थिए । कोरपाटी डटकमका अनुसार धेरै ठुलो मात्रा (सात धार्नी) को सो सुन हालको कनकासुन्दरीनजिकै ठाडासडामा स्थानीय धौलो सुनारले सो सुन पाएका हुन् । कनकासुन्दरी गाउँपालिका हाटसिँजाका ९५ वर्षीय धनलाल हमालले समेत सो घटनाको पुष्टि गर्नुभयो । उहाँका अनुसार स्थानीय धौलो सुनारले आफ्नो गह्रामा सुन पाउनुभएको थियो । सात धार्नी सुन पाइएको आफूले पनि थाहा पाएको तर पछि कता के भयो भन्ने विषयमा जानकारी भएन ।
सिञ्जा गाउँपालिकाको विष्टबाडामा रहेको ३ वटा देवल
धौलो सुनारका नाति कृष्ण सुनारका अनुसार हजुरबुवाले ठुलो मात्रामा सुन पाउनुभएको कुरा बुबाले समेत बताउने गरेका थिए तर खास त्यसलाई जोगाउन सकिएनछ । उहाँका अनुसार हजुरबुवाले सिँजा कनकासुन्दरी मन्दिरनजिक ठाडोसडोमा एक हलीको साथमा हलो जोत्न जानुभएछ । हलो जोत्ने क्रममा सुनका ढिक्काको बाकस निस्क्यो । त्यसपछि साँझतिर घरमा केही सुन ल्याउनुभएको थियो तर पछि घरमा राखेको सुन अर्को व्यक्तिले धेरै भाग चोरेर लगेको थियो । बाँकी पनि आफन्तलाई दिएर खर्चिएको कृष्ण बताउनुहुन्छ । अहिले त उही गीत मात्र बाँकी छ–
सुनपाउनेको शून्य लाग्यो साहुँवाडा धौलेको
सुन सम्झिँदै बसेका छौ इतिहास उहिलेको
त्यो समयको महामारीले साहुँवाडा कुलालका १५ घरधुरी सबैको मृत्यु भएको घटना पनि बुवाले सुनाएको कृष्णको सम्झनामा छ । पछिल्ला धेरै समयपछि पनि साहुँवाडाको जमिनवरिपरि समेत सुन पाइएको बताइन्छ । सो क्षेत्रमा तत्कालीन सिँजा राज्यको दरबारसमेत थियो भनिन्छ ।
संरक्षणको प्रयास
सिँजा सम्पदाको उत्खनन र संरक्षणमा राज्यले प्राथमिकता नदिएको स्थानीयको गुनासो छ । जुम्ला जिल्लाका पूर्वसभापति कनकासुन्दरी गाउँपालिका–४, हाटसिँजाका ९६ वर्षीय धनलाल हमालका अनुसार पुरातत्त्व विभागले सन् २००२ मा कनकासुन्दरी मन्दिरमा उत्खननसमेत गरेको थियो । तथापि संरक्षणमा राज्यले खासै प्राथमिकता नदिएकाले समय समयमा विभिन्न प्रकारका धनमाल भेटिने गरिएको तर त्यो व्यक्तिगत सम्पत्ति बन्ने गरेको छ ।
पूर्वसभापति हमालका अनुसार विसं १९९१ पुस १ गते कनकासुन्दरी मन्दिरनजिकै पाखो जग्गा जोत्दै गर्दा सात धार्नी सुन भेटिएको थियो । त्यो सुन स्थानीयसहित केही मानिसले कौडीको भाउमा बिक्री गरे । २०४३ सालमा देयारपाटाको गडुल नुहाउनीनजिकैको जग्गामा पनि जोत्दा सुन पाइएको थियो । सो सुनको ५७ सिक्का पुरातत्त्व विभागमा पुगेको हमालको दाबी छ । केही वर्षअघि कनकासुन्दरी मन्दिर क्षेत्रमा पुरातात्त्विक मूर्ति पाइएको थियो । त्यो मूर्ति संरक्षण नहुँदा प्रहरीको जिम्मा रहेको भनिएको छ । स्थानीय सिँजा खस सभ्यताका जानकार तुङ्गनाथ उपाध्यायका अनुसार सिँजाका पुराना सम्पदाको संरक्षणका लागि पूर्वाधार तयार गरी कनकासुन्दरी मन्दिर क्षेत्रलगायतका सिँजाका विभिन्न स्थानमा उत्खनन गरी सुरक्षित गरिनु पर्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धाता सिँजा आएर अध्ययन गरी सिँजाको महत्त्वबारे राज्यलाई जानकारी गराए पनि सिँजा संरक्षण र विकास हुन नसक्नु विडम्बनायुक्त रहेको उपाध्याय बताउनुहुन्छ । जुम्ला जिल्लाका पूर्वउपसभापति गौरीलाल न्यौपाने स्थानीय युवाले सिँजा सभ्यताको खोजी, संरक्षणमा लाग्नुपर्नेमा जोड दिँदै सिँजाका केही ऐतिहासिक प्रमाण आफूसँग भए पनि युद्धकालमा हराएको बताउनुहुन्छ ।
कनकासुन्दरी गाउँपालिका–४ का अध्यक्ष धनमानसिंह हमाल सिँजाको उत्थान र जनजागृतिका लागि नाट्यकलाका क्षेत्रबाट समेत पहल गरिएको बताउनुहुन्छ । स्थानीय सरकारले पनि सम्पदा संरक्षणका लागि चासो र पहल गरिरहेको दाबी उहाँको छ । कर्णाली खस सांस्कृतिक मञ्च स्थापना गरेर केही जनचेतनामूलक काम भए पनि कानुनी संरचना आवश्यक रहेको धारणा हमालको छ । सिँजा क्षेत्रमा अहिले तीन वटा गाउँपालिका छन् । हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका सानातिना कार्यव्रmमले सिँजा सभ्यता, सम्पदाको संरक्षण र विकास हुन सकेको छैन र हुन सक्ने स्थिति पनि छैन ।
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सिँजा सभ्यताको संरक्षणकै लागि धार्मिक पर्यटन बढाउन सरकारीस्तरबाट ऐतिहासिक केदारनाथ मेलाको सुरुवात गरिएको छ । खस भाषालाई लिपिबद्ध गर्न भाषा आयोगसँग समन्वय भइरहेको छ । खस सभ्यताका देवलहरू रहेका सिँजा गाउँपालिका–२ मा खस सङ्ग्रहालय स्थापना कार्य सुरु भएको छ । सिँजा गाउँपालिका–२ कै विष्टवाडामा सङ्ग्रहालय निर्माण भइरहेको छ । सो क्षेत्रमा ऐतिहासिक चार वटा देवल सम्पदा छन् तथापि बजेट अभावले कामले गति लिन सकेको छैन । यस वर्ष लोकवार्ता परिषद् नेपालले १३ औँ सङ्गोष्ठी गरेको थियो । कात्तिक ३ गते सुर्खेतबाट सुरु भएको सङ्गोष्ठी दैलेख, कालीकोट, जुम्लाको तातोपानी, सिँजा र मुगुमा पुगेर बृहत् बहस गरिएको थियो । सो गोष्ठीमा प्राडा माधव पोखरेलसहित ३० भन्दा बढी प्राध्यापक, सहप्रध्यापक र बुद्धिजीवीले सिँजाका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सिँजा विधेयकको आस
टुक्रे बजेटमा आएका साना साना योजनाले सिँजा सभ्यताको संरक्षण र विकास हुन सकेन । बरु दिनप्रतिदिन पुरातात्त्विक सम्पदा मासिन थालेपछि समग्र सिँजा सभ्यताको संरक्षण तथा विकास विधेयकको कल्पना गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विसं २०७८ असोज १० गते गैरसरकारी विधेयकका रूपमा कर्णाली प्रदेश सभामा विधेयक दर्ता गराउनुभएको थियो । त्यो कार्यकालमा कर्णाली प्रदेश सभामा विधेयक अगाडि बढ्न सकेन । २०७९ साल पुसमा सिँजा विधेयक अगाडि बढ्यो तथापि सो विधेयक अझै पारित हुन सकेको छैन ।
सिँजा संरक्षण तथा विकास विधेयकले सिँजा सभ्यताको संरक्षण तथा पुरातात्त्विक सम्पदाको खोजी, खस भाषाको प्राज्ञिक संरचना, संसारभर सोधखोज, आधुनिक विकासको लक्ष्य लिएको छ । समग्र सिँजा सभ्यता ओझेलमा परिरहेको समयमा यस विधेयकले सम्पदा, संस्कृति संरक्षणमा ढोका खोल्ने थियो । सिँजा विधेयक पारित भएमा ऐतिहासिक सिँजा सभ्यताको समग्र विकास तथा सभ्यता, भाषा, भूगोल संरक्षणमा सघाउ पुग्ने भएकाले सरकारले यसलाई प्राथमिकता दिनुपर्ने धारणा पहल समितिका संयोजक नरेश भण्डारीको छ । सिँजा विधेयक पारित भएमा हरेक नेपाली एक पटक आफ्ना पुर्खा खोजी गर्न सिँजा पुग्ने धारणा उहाँको छ । पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिँजा सभ्यता संरक्षणका लागि केही अध्ययन गरिएको र फेरि पनि अध्ययन गरिने जानकारी दिनुभयो । उहाँले मन्दिरमा सन् २००२ मा उत्खननसमेत गरिएको बताउँदै हालको कनकासुन्दरी मन्दिर निर्माण कार्यमा पुरातत्त्व विभागबाट काम भइरहेको बताउनुभयो । उहाँका अनुसार विभागले पुरातात्त्विक संरचनाका तथ्याङ्कसमेत सङ्कलन गरेको छ । विभागले अब सिँजाकेन्द्रित कार्यक्रम राख्ने प्रयास गरिरहेको छ । झन्डै १२ औँ शताब्दीतिर तिब्बती मूलका राजा नागराजले सिँजामा शासन गरेयता सुरुमा मल्ल, क्राचल्ल हुँदै विभिन्न राजाले शासन गरिरहेका समयमा सिँजा एक शक्तिशाली राज्यका रूपमा स्थापित थियो । यति मात्र नभई सिँजा नेपाली भाषाको उद्गम स्थल पनि हो तर लामो कालखण्डमा सिँजा सभ्यता संरक्षण तथा यहाँका पुरातात्त्विक संरचनाहरूको संरक्षणमा ठोस काम हुन सकेको छैन ।