• ३ फागुन २०८१, शनिबार

भरतपुर उत्कृष्ट पालिका घोषित

blog

चितवन समाचारदाता

चितवन, फागनु ३ गते । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म प्रथम भएको छ ।

महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले आगामी आव २०८२/८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गरिने कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान वृद्धि हुने छ ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकमध्ये पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे–नगरेको, राजस्वको विभाजन गरे–नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।

समय सीमाभित्र बजेट ल्याए–नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए–नदिएको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ । नतिजा अनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६.७ प्रतिशत, काठमाडौँ महानगरले ५४.३ प्रतिशत, पोखरा महानगरले ५१.५ प्रतिशत र वीरगन्ज महानगरले ४३.१ प्रतिशत अङ्क प्राप्त गरेका हुन् । 

चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ७६.२ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७०.१ प्रतिशत, माडी नगरपालिकाले ६९.१ प्रतिशत, खैरहनी नगरपालिकाले ६६.८ प्रतिशत, कालिका नगरपालिकाले ६४.३ प्रतिशत र राप्तीले ४३.३ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका ७५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्स्याेटलगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको बताउनुभयो । उहाँले महानगरलाई उत्कृष्ट साबित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिनुभयो । 

सात पालिका रहेको कार्यसम्पादनमा राप्ती नगरपालिका भने ‘फेल’ भएको छ । राप्तीले जम्मा ४३.३ अङ्क पाएको छ । ५० अङ्क पनि कटाउन नसकेर राप्ती ‘फेल’ भएको हो । कार्यसम्पादन मूल्याङ्कनमा कमजोर भएको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले नियमित रूपमा काम गर्नै नपाएका कारण नजिता राम्रो आउन नसकेको बताउनुभयो ।