• ३ फागुन २०८१, शनिबार

पाइलटको मनोविज्ञान बुझ्ने ‘पाइलट प्रेम’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३ गते । पाइलट वेद उप्रेतीको उपन्यास ‘पाइलट प्रेम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तकको लोकार्पण गर्दै पुस्तकमार्फत पाठकले उड्डयन क्षेत्रका बारेमा प्राविधिकसहित पाइलटको मनोविज्ञानलाई नजिकबाट बुझ्ने अवसर पाउने बताउनुभयो ।

उहाँले अन्य साहित्यकारले लेख्नु र पाइलट स्वयम्ले उड्डयन क्षेत्रका बारेमा लेख्नुमा धेरै अन्तर पर्ने विचार व्यक्त गर्दै बहुआयामिक पाइलट उप्रेतीले यस क्षेत्रका वास्तविकतालाई उपन्यास कृतिबाट सार्वजनिक गरेर पाइलट बन्न चाहने र यस क्षेत्रलाई बुझ्न चाहने पाठकका लागि निकै सराहनीय काम गर्नुभएको बताउनुभयो ।

बुलबुल पब्लिकेसनद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा पत्रकार कुन्द दीक्षितले उड्डयन क्षेत्रका अनुभवी पाइलट उप्रेतीले उडानका अवसरमा पुगेका पर्यटकीय क्षेत्रहरूको फोटोग्राफी गरेर, उड्डयन सङ्ग्रहालय बनाएर समाजलाई गुण लगाउनुभएको बताउनुभयो । लेखक उप्रेतीले नेपाल, भारत, बङ्गलादेश, इन्डोनेसियासम्म हवाई क्षेत्रमा गरिएको कामको अनुभव र यस क्षेत्रमा लुकेका विषयलाई  उजागर गर्ने कोसिस गरेको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा काम गर्दा गर्नुपर्ने साहस, सिकाइ, आँट, मनोरञ्जन, सङ्घर्ष, पाइलटलगायत उड्डयनसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरूले गर्नुपर्ने त्याग, समर्पणको पनि उजागर गर्ने प्रयास गरेको बताउनुभयो । पब्लिकेसनका प्रमुख अच्युत घिमिरेले बजारमा नयाँ, पुराना धेरै लेखकका उपन्यास रहेको तर उड्डयनसँग सम्बन्धित र अनुभवी पाइलटले नै लेखेको यो नै पहिलो उपन्यास भएको दाबी गर्नुभयो । सञ्चारकर्मी हेम सुवेदीले उपन्यासको समीक्षा गर्दै एक जना व्यक्तिले पाइलट बन्ने सपना बुनेदेखि त्यो सपना साकार हुँदा र उडानमा भोग्ने हरेक अनुभवलाई लेखक उप्रेतीको पाइलट प्रेम कृतिले छर्लङ्ङ पारेको बताउनुभयो ।