• २८ फागुन २०८१, बुधबार

भेरी अस्पतालको फार्मेसीलाई व्यवस्थित गरिएपछि औषधी बिक्री दोब्बर बढ्यो

blog

व्यवस्थित गरिएपछिको भेरी अस्पतालको फार्मेसी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २ गते। नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसीलाई गत केही महिनादेखि व्यवस्थित गर्दै विभिन्न प्रकारका सुधारसमेत गरिएपछि हाल आएर औषधी बिक्री बढेकोले आम्दानी दोब्बर भएको छ। 

अस्पतालको फार्मेसीमा पर्याप्त मात्रामा औषधी नराख्दा बाहिरका निजी मेडिकलले महंगोमा औषधी बिक्री गर्ने गरेका थिए। तर, अहिले अस्पतालको फार्मेसीमा अधिकांश औषधी अन्यत्र भन्दा सस्तोमा बिरामीले सहज रुपमा पाउन थालेपछि बिक्री बढेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो। 

फार्मेसीमा बिरामीको चाप बढेपछि अस्पतालको आम्दानी दोब्बर भएको जनाउँदै मेडिकल सुपरिटेण्डेन्ट डा.सुवेदीले यसअघि फार्मेसीले मासिक ७० देखी ८० लाख रुपियाँसम्मको औषधी बिक्री गर्दै आएकोमा हाल आएर मासिक एक करोड ५० लाख रुपियाँको औषधी बिक्री गरिरहेको बताउनुभयो।  

अस्पतालका अनुसार फार्मेसीको आम्दानी गत मंसिरमा एक करोड ६० लाख र पुस महिनामा एक करोड ४२ लाख भएको छ। अस्पतालले पहिलेको तुलनामा फार्मेसीमा धेरै प्रकारका औषधीको व्यवस्था गरेको जनाएको छ। अस्पतालले फार्मेसीमा कार्यरत केही कर्मचारीको जिम्मेवारी पनि फेरबदल गरेको छ। फार्मेसीमा कार्यरत कर्मचारीको मिलेमतोकै कारण भित्र पर्याप्त मात्रामा औषधी नपाउने र निजी मेडिकलको मनपरी चल्ने गरेको गुनासो सेवाग्राहीबाट आउने गरेको थियो। 

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले धेरै समयको प्रयासपछि फार्मेसीलाई व्यवस्थित गर्न सकिएको जनाउँदै फार्मेसी व्यवस्थित हुँदा अस्पतालको आम्दानी दोब्बर भएको बताउनुभयो।

अस्पतालका अनुसार फार्मेसीमा औषधी लिन जानेलाई लाइन लाग्नु नपर्ने तथा बेन्चमा बसेर पालो अनुसार औषधी खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ।