• ३ फागुन २०८१, शनिबार

विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु

blog

विद्युतीय अभिलेख प्रणालीको उपकरण गुल्मी अस्पताललाई हस्तान्तरण गर्दै । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, फागुन २ गते । गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको उपकरण विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले एक कार्यक्रमबिच गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेसहित अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गर्नुभयो ।  

विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटनाले यो प्रणालीले नागरिकलाई सहज हुने बताउँदै उच्चतम प्रयोग गरेर सेवा लिन नागरिकलाई आग्रह गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठन लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरिमै नवौं अस्पताल रहेको उल्लेख गरिएको छ । 

 विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा यो प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ । टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधीलगायत विवरण ईएमआर प्रणालीमार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिनुभयो ।   

ईएमआर प्रणालीको सुरु गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनेगरी र जनताले सरकारको महसुस गर्नेगरी काम गरिरहेको दाबी गर्नुभयो । 

यस्तै, मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका गाडीमा जिपीएस जडान गर्ने, शुल्कसहितको नागरिक वडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरको नाम देखिने गरी प्राइभेट अस्पतालको बोर्डमा नाम राख्ने काम बन्द गर्ने लगायतका कामहरु सुरु गरेको र यसको प्रभावकारिता सकारात्मक देखिएको बताउनुभयो ।