• २८ फागुन २०८१, बुधबार

राष्ट्रिय बालनाटक महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २ गते । १६ औँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन बिहीबारदेखि सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत रुसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभलगायतले कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

चलचित्रसँगै नाट्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्ने बोर्ड अध्यक्ष डिसीले बताउनुभयो । उहाँले बालबालिकालाई अगाडि बढ्न र आफ्नो लक्ष्य पहिचान गर्न ढिला नगर्नसमेत आग्रह गर्नुभयो । शैली थिएटरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले बालबालिकाको हारलाई जितमा परिणत गर्न सक्ने गरी अगाडि बढाउन बाल लघुचलचित्र प्रदर्शन गरिएको बताउनुभयो । उहाँले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताउनुभयो । 

रुसी सदनका निर्देशक आन्तोनले रङ्गमञ्च र यसको सम्मिश्रणले बालसाहित्यसहित नाट्य क्षेत्रमा फरकपन भित्रिने बताउनुभयो । उहाँले नेपाल र रुसको सांस्कृतिक विकास र प्रवर्धनका लागि रुसी सदन सधैँ अगाडि रहेको बताउनुभयो । कार्यक्रममा बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान–२०८१ स्व. जनकप्रसाद हुमागाईंलाई प्रदान गरिएको थियो । एक हप्तासम्म चल्ने महोत्सवमा आयोजक संस्थासहित १६ वटा नाटक, कार्यशाला र अन्तर्क्रिया  हुने जनाइएको छ । महोत्सव फागुन ७ सम्म चल्ने छ ।