सन्तोष दहित
दाङ, फागनु १ गते । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबारदेखि दाङको घोराही प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
घोराहीको सालघारी बास्केटबल कोर्ड खेलमैदानमा सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पाँच वटा समूहले भाग लिएका छन् । प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले राष्ट्रलाई विश्वसामु चिनाउन खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
‘खेलाडीहरू राष्ट्रका गहना हुन्, हामीले लुम्बिनी प्रदेशको खेल क्षेत्रको विकासका लागि खेलमैदान तथा खेलाडीहरूको क्षमता विकासमा ध्यान दिनुपर्नेछ,’ मन्त्री चौधरी भन्नुभयो,
मानिसको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको भूमिका अतुलनीय रहेका बताउदै मन्त्री चौधरीले गाउँ गाउँमा खेलको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
खेलले मानिसलाई अनुशासित बनाउन सहयोग पुर्याउने धारणा व्यक्त गर्दै चौधरीले विद्यालय स्तरमा पनि खेलका कार्यक्रमहरू बढाउनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले खेल क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम तथा योजनाहरू ल्याएको समेत जानकारी दिनुभयो ।
यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरण गौतमले परिषद्ले खेलाडीहरू उत्पादनका लागि विभिन्न कामहरू गरिरहेको जानकारी दिनुभयो । उहाँले वर्षभरि नै कुनै न कुनै स्थानमा कुनै न कुनै प्रकारका खेलहरू भइरहने बताउनुभयो ।
प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोकाले खेल क्षेत्रको विकासका लागि अझै पनि पर्याप्त बजेट नभएकाले बजेट वृद्धिमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।