कमल खत्री
धम्बोझी, माघ २९ गते । कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । ग्रीनपीसले पेनाल्टी सुटआउटमा आदर्श मावि राँझालाई ५–४ गोलले हराउँदै जित हासिल गरेको हो ।
नेपालगन्ज रंगशालामा भएको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ग्रीनपीसका विराज रोकायले २५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर आदर्शका खगेन्द्र थापाले ४८औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा ग्रीनपीसका विशाल थापा मगर, विराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारी र झलक सिंहले गोल गर्नु भएको थियो । आदर्शका आर्यन भुजेल, आकाश सुनार, उज्जवल खत्री र खगेन्द्र थापाले गोल गर्नु भयो । खेलमा ग्रीनपीस माविका विराज रोकाय प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई कोहलपुर सिटी एकेडेमीका निर्देशक प्रशान्त रिजाल र युवा व्यवसायी प्रकाश गौतमले प्लेयर अफ दि म्याचको ट्रफी प्रदान गर्नुभएको थियो ।
यसैगरी मङ्लबारको दोस्रो खेलमा धम्बोझी मावि नेपालगन्जले पेनाल्टी सुटआउटमा आदर्श मावि नेपालगन्जलाई ५–३ ले पराजित गदैं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । धम्बोझीका कमल विकले २०औं र समिर मगरले ५३औं मिनेटमा गोल गर्नु भयो । आदर्श मावि नेपालगन्जका निश्चल थापा मगरले ६१औं र जेनिष बोहोराले ६३औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा कमब्याक गराउनु भएको थियो ।
पेनाल्टी सुटआउटमा धम्बोझीका समिर मगर, प्रिन्स जिएम, सन्देश मगर, तुफान शाही, दिनेश रोकायले गोल गर्नु भयो । आदर्शका निश्चल थापा मगर, राहुल श्रेष्ठ र जेनिस बोहोराले गोल गर्नु भएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धम्बोझी समिर मगर प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई नेक्सस इनर्जी प्रालीका निर्देशक एवम् अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका महासचिव कुमार सिंह ठकुरी र नेपाल पत्रकार महासंघ बाँकेको उपाध्यक्ष करुणा शाहले पुरस्कृत गर्नु भयो ।
मंगलबारको तेस्रो खेलमा पेनाल्टी सुटआउटमा नेपालगन्ज मोडेल एकेडेमीलाई ३–१ ले पराजित गर्दै युनाइटेड एजुकेशन स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । युनाइटेडका निक्सान सुनारले १५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो । नेपालगन्ज मोडेल एकेडेमीका अरुण खत्रीले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरी गर्नु भएको थियो ।
पेनाल्टी सुटआउटमा युनाइटेडका अवशेष रेग्मी, उत्सव सुनार र अनिष रानाले गोल गर्नु भयो । नेपालगन्ज मोडेल एकेडेमीका विकास कुमार कटुवालले मात्र गोल गर्नु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडका गोलकिपर तथा कप्तान अनिष राना प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले पुरस्कृत गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार छात्रा तर्फको पहिलो क्वाटरफाइनलमा मोर्डन पब्लिक स्कुल र मनकामना मावि स्कुलले प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वाटरफाइनलमा धम्बोझी र युनाटेड एजुकेशनले प्रतिस्पर्धा गर्नेछ । यसैगरी बुधबार देखि छात्रा तर्फको पनि खेल सुरु हुने भएको छ ।
छात्रा तर्फको पहिलो खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र धम्बोझी माविले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा युनाइटेड एजुकेशन र मनकामनाले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।