• २९ असार २०८२, आइतबार

विदेशी मुद्रासहित गरगहना भारतीयलाई फिर्ता

blog

धनगढी समाचारदाता

धनगढी, असार २९ गते । कैलाली प्रहरीले लाखौँको गरगहना र विभिन्न देशका मुद्रा भारतीय नागरिकलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयले भारतको बेङ्गलुरुस्थित कर्नाटक सहर बस्ने एस. रमेशबाबुलाई गरगहना र मुद्रा बिहीबार फिर्ता गरेको हो । ती गरगहना र विभिन्न देशका मुद्रा त्यहाँ काम गर्ने नेपाली कामदारले रमेशको घरबाट चोरेर ल्याएका थिए । 

फिर्ता गरिएको गरगहनामा सुनको चुरा नौ थान, सुन ४६४ ग्राम, सुनको सानाठुला टुक्रा २३ थान, २१६ ग्रामको सुनको गहना, चार सय ग्रामको चाँदीका गहना रहेका छन् । प्रहरीले गहनाको साथै भारतीय रुपियाँ ४४ हजार, नेपाली रुपियाँ १२ लाख ९२ हजार र विभिन्न देशका मुद्रा १५ हजार ४६५ पनि बरामद गरेको थियो । 

कालीकोटको नरहरीनाथ गाउँपालिका–२ बस्ने नेपाली कामदार उदय विष्टलगायतले गत मे २८ मा रमेशको घरबाट गरगहना र पैसा चोरी फरार भएको उजुरी लिएर भारतीय प्रहरी जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको थियो । त्यसपछि घटना अनुसन्धान गर्दै जाँदा ४६ वर्षीय उदय र सोही ठाउँका ४५ वर्षीय भैरे विष्टलाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ गरेर सोधपुछ गर्दा उनीहरूले आफ्नो भागमा परेको चोरीको गहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई बेचेको स्विकारेका थिए । प्रहरीले सुनारलाई पक्राउ गरेर उनको साथबाट गरगहनालगायत अन्य सामान बरामद गरेको छ । 

नगद पैसा पनि सुनारकै घरबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो । उहाँले बरामद सामान र मुद्रा जनप्रतिनिधिको रोहबरमा बिहीबार रमेशलाई बुझाइएको जानकारी दिनुभयो । पक्राउ परेकालाई भने हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।