विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २९ गते । “असार–साउन महिनामा सडकमा धुलो उड्नुलाई किसानका लागि राम्रो मानिदैन, त्यसले ‘रौदी’ अर्थात् खडेरीको सङ्केत गर्छ’’ रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खंगको यो भनाइले मधेशमा धान रोपाइँको अवस्था र स्थितिलाई चित्रण गरेको छ ।
“सडकमा हिलो र खेतमा कादो हुनुपर्ने महिनामा यसरी धुलो उड्नु भनेकै अकल पर्नु हो’’ उहाँले सुनाउनुभयो । खंगको भनाइ भन्दा फरक छैन अहिले मधेश क्षेत्रको अवस्था ।
यहाँका किसानका लागि मुख्यबाली नै धानबाली हो । तर विगत एक महिनादेखि वर्षा नहुँदा सप्तरीमा अहिलेसम्म १६ प्रतिशत र मधेश प्रदेशमा मात्र २५ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्कले देखाउँछ ।
नहर, बोर्डिङ जस्ता वैकल्पिक सिँचाइको माध्यमले थोरै धान रोपाइँ भए पनि जमिनमा पानीको लेयर कम हुँदै जाँदा बोर्डिङले कम पानी दिन थालेपछि रोपाइँ गर्न र रोपी सकिएका धानबाली जोगाउन पनि किसानलाई सकस भएको छ ।
सिँचाइ नपुगेको खेतमा बेर्ना पनि सुक्न थालेको छ भने, धान रोपिएका खेतको जमिन फाट्न थालेको छ । जोतेको खेतमा त धूलो समेत उडन थालेको हो । लगातारको सुख्खा मौसमका कारण ट्युवेलहरु पनि सुक्न थालेको स्थानीयहरु बताउँछन् ।
सप्तरीमा कुल कृषियोग्य जग्गा ८१ हजार हेक्टर जग्गा रहेकोमा ६८ हजार हेक्टर जग्गामा खेती हुँदै आएको थियो । जसमध्ये २३ हजार ८ सय अर्थात् ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ पुगेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
मधेश क्षेत्रमा खडेरी
मधेश क्षेत्रमा प्रत्येक २० देखि २५ वर्षको अन्तरालमा खडेरी हुँदै आएको बताउनुहुन्छ राजविराज–७ का ७५ वर्षीय सेवानिरवृत्त प्रधानाध्यापक नरसिंहलाल कर्ण । उहाँले यसअघि २००७ साल, २०२९ साल, २०४९ सालमा खडेरी भएको जानकारी दिनुभयो ।
२०४९ सालमा खडेरीकै कारणा आफ्नो १० कठ्ठा खेतमा चार किलो धान उब्जिएको स्मरण गर्नुहुँदै उहाँले अहिले विगतको भन्दा अवस्था केही फरक रहेको बताउनुभयो ।
“उहिले खेती गर्न वर्षा बाहेक अर्को विकल्प नै थिएन, अहिले नहर, बोर्डिङ जस्ता वैकल्पिक सिँचाइको व्यवस्था छ र थोरै भए पनि किसानलाई विगतको भन्दा अलि सहज छ’’ कर्णले भन्नुभयो ।
यस्तै रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खंगले पनि विगतको खडेरीका बेलाको विक्राल अवस्था आफूले भोगेको सुनाउनुभयो । उहाँले त्यतिबेला मधेश क्षेत्रका हामी जस्ता किसान मात्र धानबाली उब्जाएर त्यसैलाई बेची सबै आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेकोमा अहिले त्यसमा केही परिवर्तन आएको बताउनुभयो ।
“विगतको खडेरीकालभन्दा अहिले अवस्था थोरै फरक भए पनि पानी नपर्दा खेती गर्नमा अहिले पनि कठिनाई छ, सबैतिर सिँचाइ पुगेको छैन र पानीको लेयर कम हुँदा बोर्डिङले पनि कम पानी दिन थालेको र कतिपय खेतमा पानी नै दिन छाडेका कारण वैकल्पिक सिँँचाइबाट खेती गर्न सम्भव छैन’’ खंगले भन्नुभयो ।
खडेरी र मिथिला संस्कृति
मधेश र मिथिला क्षेत्रमा बेला बेलामा खडेरी हुँदै आएको छ । त्रेता युगमा खडेरी (अकाल) परेको बेला राजा जनकले हलो जोत्न लागेपछि धर्तीबाट सीताको जन्म भएको र वर्षा पनि भएको पौराणिक मान्यता रहि आएको छ ।
यस्तै मिथिला संस्कृतिमा ‘रौदी’ अर्थात खडेरी लागेको बेला महिलाहरुले रातिको समयमा ईन्द्र भगवानलाई रिझाउन तन्त्रमन्त्रसहित गीत गाउँदै ‘जटजटीन’ खेल्ने परम्परा रहि आएको मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षी बताउनुहुन्छ ।
उहाँले ‘जटजटिन’ कृषिकर्ममा महिलाको सक्रियता देखाउने, आफ्नो सुखदुःख साटासाट गर्ने र जलका देउता भगवान ईन्द्रप्रति आस्था प्रकट गर्ने माध्यम भएको बताउनुभयो ।
“मधेश–मिथिला क्षेत्रमा खेती गर्न महिलाको पनि उत्तिकै सक्रियता हुन्छ । वर्षा भएन भने रोपाइँ रोकिँदा महिलाहरु निस्क्रिय बस्ने हुनाले आफूलाई कृषि कर्ममा सक्रिय बनाउन ‘जटजटिन’ खेल्ने परम्परा छ’’ प्रेमर्षीले भन्नुभयो ।
उहाँले मिथिलाका महिला ‘जटजटिन’ खेलेपछि वर्षा हुने जनविश्वास रहेको बताउनुहुँदै रातो मछिन्द्रनाथको रथयात्रा पनि वर्षा हुने उद्देश्यले निकल्ने परम्परा रहेको बताउनुभयो ।
मिथिलामा ‘जटजटिन’ र काठमाडौँमा रातो मछिन्द्रनाथको रथयात्रा निकाल्दा पानी पर्ने गरेको उदाहरण पनि उहाँले सुनाउनुभयो ।